उपराष्ट्रपतिको कार्यालय

Modified Date : 2016-09-04

नन्दबहादुर पुन 'पासाङ'

उपराष्ट्रपति

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल

 

नामः                नन्दबहादुर पुन 'पासाङ'

जन्मः               २०२२ कात्तिक ७ गते

जन्मस्थानः       राङ्सी–९, रोल्पा

आमाः              स्व. मनसरा पुन

बुवाः               रामसुर पुन

श्रीमतीः          हस्तमाली पुन

छोराबुहारीः   जितेन्द्र पुन/जुनमाया घर्ती र दीपेश पुन/सविना आले

नातिः             न्युटन पुन

जन्म र परिवार

नन्दकिशोर पुन 'पासाङ' ले परिचित उहाँको वास्तविक नाम नन्दबहादुर पुन हो । 'पासाङ' जनयुद्धले जन्माएको नाम हो । जनयुद्ध तयारी र सुरुवात चरणमा 'लिफङ' बाट परिचित उहाँ पछि 'पासाङ' बन्नुभएको हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनुभएको उहाँ पाँच भाइमध्ये माइलो हुनुहुन्छ । उहाँका तीन दिदिबहिनी हुनुहुन्छ । किसान परिवारका रामसुरलाई छोराहरू पढाउन निकै समस्या थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोरालाई अध्ययन गराउनुभयो । प्युठान अड्डाबाट मुद्दा जितेर खोसिएका सम्पत्ति फिर्ता लिनुभयो । पाँचै भाइ छोरालाई रामसुरले त्यतिबेला आईएभन्दा माथिको अध्ययन गराउनुभयो । ८३ वर्षीय रामसुर कृषिकर्ममा सक्रिय हुनुहुन्छ ।

पासाङको जेठा दाजु वीरबहादुर पुन इन्जिनियर, साइँला भाइ भीमप्रकाश पुन उच्च माध्यमिक विद्यालय प्राचार्य, काइँला भाइ दीपक पुन शिक्षण पेसा छाडेर खेतीकिसानी गर्नुहुन्छ । कान्छा भाइ कमल पुन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रहँदा जनयुद्धक्रममा २०५९ मा राज्यपक्षबाट मारिनुभयो । हस्तमाली पुनले जनयुद्धमा स्थानीय पार्टी कमिटीमा रहेर काम गर्नुभयो । उहाँको जेठो छोरा जितेन्द्र र कान्छो छोरा दीपेशसमेत पढाइ छाडेर जनयुद्धमा सहभागी हुनुभयो ।

शिक्षा–दीक्षा

पासाङ आठ वर्षको हुँदा स्कुल भर्ना हुनुभयो । प्राथमिक विद्यालय, जाखरबाट तीन कक्षा उत्तीर्णपछि तत्कालीन निम्नमाध्यमिक विद्यालय राङ्सीमा भर्ना हुनुभयो । त्यहीँबाट २०३७ सालमा सात कक्षा उत्तीर्ण गर्नुभयो । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । तर, विद्यार्थी सङ्गठनमा आबद्ध भएर सक्रिय राजनीति गरेको आरोपमा विद्यालय प्रशासनबाट उहाँलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी गर्यो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनी दिएपछि २०३९ सालमा नौ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहीँबाट २०४२ मा एसएलसी उत्तीर्ण गर्नुभयो । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर उच्चशिक्षा हासिल गर्नुभयो । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । औपचारिक शिक्षाबाहेक उहाँले सैन्यविज्ञान, राजनीति दर्शन अध्ययन गर्नुभएको छ ।

विवाह

उहाँले नौ कक्षामा पढ्दै गर्दा २०३९ मा जङ्कोट–१, माडिचौरनिवासी हस्तमाली पुनसँग प्रेमविवाह गर्नुभयो ।

प्रारम्भिक विद्यार्थी राजनीति

२०३७ सालमा राङ्सीमा कक्षा सातमा पढ्दा उहाँ अनेरास्ववियू छैटौँको इकाइ अध्यक्ष हुनुभयो । त्यहीँबाट दोस्रो जिल्ला सम्मेलन प्रतिनिधि भएर जानुभयो । प्रहरीले अवरोध गरेपछि दिनभरि ओडारमा लुकेर फर्कनुभयो । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गरेको थियो । महराको सरल स्वभाव र अध्यापन शैलीले उहाँलाई आकर्षित गर्यो । सङ्गठन बनाउन र कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्न महराले प्रेरित गर्नुभयो ।

२०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । उहाँ लिबाङमा आठ कक्षामा पढ्दै गर्दा रोल्पा जिल्ला प्रतिनिधि भएर जानुभयो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष हुनुभयो । सम्मेलनमा जनगायक खुसीराम पाख्रिनले गाउनुभएको गीत अहिले पनि उहाँलाई सम्झना छ । जनगायक पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली–ओह्राली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ गीत पासाङले बिर्सनुभएको छैन । सम्मेलनबाट फर्केपछि प्रशासनले वारेन्ट गर्यो । त्यसपछि आठ कक्षा उत्तीर्ण गरी थप अध्ययनका लागि पासाङ सोही वर्ष थबाङ पुग्नुभयो । त्यहाँ पनि प्रहरीले समातेर तीन रात हिरासतमा राख्यो । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उहाँ मशाल समूहको अध्यक्ष हुनुभयो ।

शिक्षण र खेलकूद

एसलसी उत्तीर्णपछि पासाङले पार्टी कामको साथसाथै शिक्षण पेसा अँगाल्नुभयो । २०४३ देखि नौ वर्षसम्म आफूले पढेको निमावि राङ्सीमा अध्यापन गर्नुभयो । उहाँ जाँदा निमावि मावि बनिसकेको थियो । अहिले उमावि बनेको छ । उहाँले पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादी नेतृ तारा घर्तीलगायतलाई पढाउनुभयो । पूर्णकालीन भइसक्दा पनि अध्यापन जारी राख्नुभयो । उहाँ स्थायी शिक्षक हुनुहुन्थ्यो ।

उहाँलाई खेलकुदमा धेरै रुचि थियो । विभिन्न खेलमा रुचि भए पनि भलिबल प्राथमिकतामा पर्छ । लिबाङमा मावि तहमा पढ्दै गर्दा उहाँ नेपालगन्जमा क्षेत्रीयस्तरको भलिबल प्रतियोगितामा सहभागी हुनुभएको थियो । राष्ट्रिय खेलकुदका लागि मध्यपश्चिमबाट भलिबलमा छनोट भए पनि स्वास्थ्यमा समस्या देखिएपछि उहाँले सो अवसर गुमाउनुभयो । उहाँले विद्यालयमा खेलकुद शिक्षकको भूमिकासमेत निर्वाह गर्नुभयो ।

वर्गसङ्घर्ष

पासाङमा बाल्यकालदेखि नै लडाकु स्वभाव थियो । जनयुद्धको आधार तयार पार्न तत्कालीन मशालले सुरु गरेको ‘वर्गसङ्घर्ष’ मा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । जुन सङ्घर्ष जनयुद्धको आधार बन्यो । लठ्ठीले दर्जनौँ विपक्षीलाई एकसाथ प्रहार गर्न सक्ने उहाँको कलाको हिजोआज पनि रोल्पामा तारिफ गरिन्छ, जुन कला उहाँको बुवाले सिकाउनुभएको हो । माओवादी पार्टी नबन्दै तत्कालीन एकताकेन्द्र मशालले २०४८ पछि वाईसीएललाई लडाकु दस्ता बनाएर वर्गसङ्घर्ष चलायो । त्यसबखत पासाङ वाईसीएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । २०४८ को निर्वाचनमा रोल्पाबाट जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन उहाँ गाउँगाउँमा सांस्कृतिक कार्यक्रम गर्दै हिँड्नुभयो ।

टाउकाको मूल्य र पाखुरामा गोली

राज्यविरुद्धमा लागेको आरोपमा प्रशासनले उहाँको टाउकाको मूल्य ३५ हजार रुपैयाँ जनयुद्धअगाडि नै तोक्यो । त्यतिमात्रै होइन, ‘जहाँ भेट्यो त्यहीँ मार्न’ भनेर प्रशासनले प्रहरी परिचालन गर्यो । नेकपा (माओवादी) माओवादी नबन्दैको पार्टीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले बढी निगरानी गर्यो । २०५१ को स्थानीय निर्वाचनमा समातेर १५ दिन हिरासतमा राख्यो । २०५१ मै मध्यावधि निर्वाचनताका राज्यले उहाँलाई मार्ने योजना बनायो । २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेला (इरिबाङको चप्का) मा प्रहरीले पक्राउ गर्न खोज्यो । लठ्ठी चलाउन सिपालु पासाङले प्रहरीलाई लठ्ठीले ढालेर भाग्दै गर्दा गोली चल्यो । उहाँको पाखुरामा गोली लाग्यो । तर, बाँच्न सफल हुनुभयो । मेला भर्न पुग्नुभएका लोकबहादुर घर्ती र मनबहादुर पुन प्रहरीबाट मारिए ।

सो घटनापछि उहाँ पूर्ण रूपमा भूमिगत हुनुभयो । प्रहरीबाट बच्नका लागि उहाँले जनयुद्धअघि नै आफ्नो घरभित्रबाट २५ मिटरको सुरुङ खन्नुभयो । जनयुद्ध सुरु भएको महिना दिनपछि उहाँको आमाको निधन भयो । आमाको अन्तिम पुण्यतिथिमा उहाँ घर पुग्न सक्ने शङ्कामा प्रहरीले छापा मार्यो । प्रहरीले सुरुङबारे थाहा पाएपछि त्यहाँ पासाङलाई नभेटे पनि उहाँको काइँला भाइ दीपक पुनलाई गोली हानी घाइते बनाएर पक्राउ गर्यो । दीपक झन्डै पाँच वर्ष जेल बस्नुभयो ।

पार्टी राजनीति

पासाङ २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बन्नुभयो । उहाँलाई वासुदेव भन्ने नेताले पार्टी सदस्यता दिनुभएको थियो । उहाँले शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गर्नुभयो । २०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गर्नुभयो ।

एकताकेन्द्र बनेलगत्तै रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सेक्रेटरी रहनुभएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य हुनुहुन्थ्यो । जनयुद्ध तयारी गर्दा वाईसीएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पासाङ २०५२ फागुन १ मा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर हुनुभयो ।

पासाङ २०५४ मा पार्टीको क्षेत्रीय व्युरो सदस्य हुनुभयो । २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्युरो सदस्य हुनुभयो । २०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिनुभएको उहाँ २०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनुभयो । लगत्तै जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको निर्वाचनमा उहाँ स्थायी समिति सदस्यमा निर्वाचित हुनुभयो ।

सैन्ययात्रा

२०५२ मा जनयुद्ध थालनी भएको घोषणा गर्न गरिएको चारमध्ये होलेरी आक्रमणमा पासाङ सहकमान्डर हुनुहुन्थ्यो । रोल्पामा तीन लडाकु दल थिए । सबैलाई मिलाएर माओवादीले स्वयम्सेवक दल बनायो । त्यही दलले होलेरीमा आक्रमण गर्यो । माओवादीले फौजी संरचना विकास गर्दै जाँदा उहाँ सबै संरचनाको कमान्डर बन्दै जानुभयो ।

माओवादीले २०५३ मा विभिन्न दललाई स्क्वायडमा रूपान्तरण गर्यो । उहाँले नै तीन स्क्वायड कमान्ड गर्नुभयो । २०५५ मा टास्कफोर्स बनायो । त्यसको कमान्डर पनि उहाँ नै हुनुहुन्थ्यो । २०५६ मा प्लाटुनलाई समेटेर कम्पनी बन्यो, त्यसको कमान्डरसमेत उहाँ नै हुनुभयो । सरकारसँगको पहिलो वार्ता असफल हुन लागेपछि २०५८ कात्तिकमा माओवादीले रोल्पाको कुरेलीमा सैन्यभेला गरेर औपचारिक रूपमा जनमुक्ति सेना गठन गर्यो । भेलाले बटालियनस्तरको संरचना बनायो । बटालियन कमान्डर पासाङ रहनुभयो । २०५९ मा माओवादीले बनाएको जनमुक्ति सेनाको ब्रिगेड कमान्डर पनि उहाँ नै हुनुभयो । त्यसपछि बनेको दुई डिभिजनमा उहाँ पश्चिम डिभिजनको कमान्डर हुनुभयो । पूर्वी डिभिजन कमान्डर वर्षमान पुन ‘अनन्त’ हुनुभयो । माओवादीले लगत्तै तीन डिजिभन बनायो । पासाङ मध्य, अनन्त पूर्व र जनार्दन शर्मा ‘प्रभाकर’ पश्चिम डिभिजन कमान्डर हुनुभयो । २०६२ मा भएको बहुचर्चित चुनबाङ बैठकपछि माओवादीले सात डिभिजन बनायो । अध्यक्ष प्रचण्ड सुप्रिम कमान्डर तथा अनन्त, पासाङ, प्रभाकर र चन्द्रप्रकाश खनाल ‘बलदेव’ डेपुटी कमान्डर हुनुभयो । शान्तिप्रक्रियापछि प्रचण्डले सुप्रिम कमान्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख पासाङ हुनुभयो । माओवादीले सैन्य संरचना बनाएको सुरुदेखि अन्तिमसम्म उहाँ प्रमुख कमान्डर रहनुभयो ।

प्रमख सैन्य कारबाही

आफ्नो नेतृत्वमा आक्रमण गर्दा सबै योजना पासाङ आफँै बनाउनुहुन्थ्यो । परिपक्व तयारी र हिम्मतसाथ लडाइँको नेतृत्व गर्ने उहाँको कुशल नेतृत्वशैलीको धेरैले प्रशंसा गर्छन् । उहाँको नेतृत्वमा भएको कुनै पनि लडाइँ माओवादीले हारेन । २०५२ फागुन १ गते होलेरी आक्रमणमा सहकमान्डरबाट सुरु लडाइँपछि उहाँ प्रमुख कमान्डर भएर लड्नुभयो । पश्चिम नेपालमा माओवादीले गरेको ठुल्ठूला लडाइँ उहाँकै नेतृत्व, रक्की र योजनामा भएका थिए, जुन लडाइँ माओवादीले जितेको थियो । प्रहरीमाथि भएको रोल्पाको होलेरी दोस्रो, जेलबाङ, घर्तीगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् ।

पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी उहाँकै नेतृत्वमा कब्जा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पासाङ नै कमान्डर हुनुहुन्थ्यो ।

शान्तिप्रक्रिया

शान्तिप्रक्रिया टुङ्ग्याउन पासाङको संयमताले धेरै काम गरेको थियो । दलहरूले जतिसुकै सहमति वा सम्झौता गरे पनि उहाँले नचाहेको भए शान्तिप्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्तिप्रक्रिया जारी रहँदा उहाँले तत्कालीन जनमुक्ति सेनालाई संयमसाथ जिम्मेवार बनाएर राख्नुभयो । सातै डिभिजनका कमान्डरले उहाँलाई साथ दिए ।

शान्तिप्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको जीएमसीसीको भाइस कमान्डर रहेर काम गर्नेक्रममा उहाँले जर्मनी, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्डलगायतका मुलुक पुगेर नेपालको शान्तिप्रक्रियाबारे ‘क्लास’ दिनुभयो ।

विदेश जान अस्वीकार

पासाङ राष्ट्रियताप्रति त्यत्तिकै संवेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । २०६९ जेठ १७ मा उहाँको दुवै मिर्गौला काम नलाग्ने भयो । उहाँ मृत्युनजिक हुनुहुन्थ्यो । सरकार र पार्टीले विदेश लगेर उपचार गर्न थालेको प्रयास उहाँले अस्वीकार गर्नुभयो ।

उहाँ नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेश गएर उपचार नगर्ने भनी अस्पतालको सघन उपचार कक्षबाटै घोषणा गर्नुभयो । त्यतिबेला चिकित्सकले पासाङको अवस्था ‘क्रिटिकल’ भएको र दुवै मिर्गौलाले ८० प्रतिशत काम गर्न छाडेको बताएका थिए । मिर्गाैला नाटकीय रूपमा ‘रिकभर’ हुनु उहाँमा भएको बलियो आत्मबलले हो भनेर चिकिसत्कले भन्ने गरेका छन् । नेपालका अस्पताल र चिकित्सकप्रति आफ्नो पूर्ण विश्वास रहेको पासाङले बताउँदै आउनुभएको छ ।

दक्ष प्राविधिक

पासाङ सैनिक कमान्डर तथा राजनीतिज्ञमात्र नभएर दक्ष प्राविधिक पनि हुनुहुन्छ । जनयुद्ध सुरु भएको वर्ष दिनपछि उहाँ आफैँले बार बोर बन्दुक बनाउनुभयो । त्यसपछि प्राविधिक विभागप्रमुखको जिम्मेवारी लिएर थ्रीनट थ्री राइफल, कटुवा पेस्तोल, टु इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाउनुभयो । जनसेनाले जनसैन्य प्रतिष्ठान बनायो । अलग्गै प्राविधिक विभाग बनायो । विभागले हतियार आविष्कार गर्दै गयो ।

पुस्तक र साहित्य

जनयुद्धमा माओवादीले बनाएको सैन्य संरचनाका लागि आवश्यक सैन्य पाठ्यक्रम पासाङले नै बनाउनुभएको हो । उहाँले माओको 'बेसिक ट्याक्टिस', क्लसविथको 'अन वार', सन्जुको 'आर्ट अफ वार' लगायतका सैन्यविज्ञानका पुस्तक अध्ययन गर्नुभयो । आफ्नो अनुभव र पुस्तक अध्ययनका आधारमा उहाँले 'आधारभूत सैन्य शिक्षा' पाठ्यक्रम तयार पार्नुभयो । त्यो पाठ्यक्रम भाग १ देखि ५ सम्म छ । त्यही पाठ्यक्रमका आधारमा माओवादीले युद्ध लडेको थियो ।

उहाँको साहित्यमा पनि विशेष रुचि छ । थुपै्र फुटकर गीत तथा कविता लेख्नुभएको उहाँका केही गीत सङ्गीतबद्ध हुन बाँकी छन् । वर्गसङ्घर्षको चरणमा उहाँले लेख्नुभएको 'जनताहरू जाग्दै छन् जाग्दै छन्' गीत चर्चित थियो । युद्ध उत्कर्षमा पुग्दै गर्दा उहाँले लेखेको 'हामी राता मान्छे', 'हुरीका सन्तान हौँ हामी' गीत चर्चित थिए । शान्तिप्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक 'इतिहासको रक्तिम पाइला' नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित छन् ।

मृत्यु नजिक

पासाङ जनयुद्धअगाडि, जनयुद्ध र जनयुद्धपछाडि दर्जनाँैपटक मृत्युको मुखबाट फर्कनुभएको छ । जनयुद्ध सुरु हुनुअघि २०५१ मै प्रशासनले उहाँको टाउकाको मूल्य तोकेको थियो । २०५१ मङ्सिर ९ गते उहाँको घरनजिकै लागेको स्थानीय मेलामा प्रहरीले प्रहार गरेको गोली उहाँको पाखुरामा लागेको थियो । उहाँ भागेर बाँच्न सफल हुनुभयो । २०५६ चैत २१ मा उहाँकै नेतृत्वमा लडाकु दलले रुकुमको तकसेरामा रहेको इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा प्रहरीको जवाफी फायरको गोली उहाँको आँखाछेउबाट गएको थियो । तसर्थ, उहाँको एउटा आँखा 'क्लियर' छैन ।

तत्कालीन जनमुक्ति सेनाले रोल्पाको गाममा रहेको तत्कालीन शाही सेनाको व्यारेकमाथि २०६९ वैशाख २४ मा आक्रमण गर्यो । कमान्डर पासाङ सहयोगीसहित व्यारेकतर्फ बढ्दै गर्दा प्लाटुन कमान्डर धर्मेन्द्रले उहाँलाई रोकेर आफू अगाडि बढ्नुभयो । सेनाको गोली लागेर धर्मेन्द्रले सहादत पाउनुभयो । धर्मेन्द्रले रोकेर अगाडि नबढ्नुभएको भए गोली पासाङलाई लाग्थ्यो ।

शान्तिप्रक्रियापछि समेत एकपटक गम्भीर बिरामी पर्दा बलियो आत्मबलका कारण उहाँले मृत्युलाई जित्नुभयो । २०६९ जेठ १७ मा उहाँको दुवै मिर्गाैला काम नलाग्ने अवस्थामा पुगेका थिए । तर, उहाँको बलियो आत्मबल र चिकित्सकको अथक मिहिनेतले दुवै मिर्गाैला पहिलेको अवस्थामा फर्किए ।

आफ्नै मृत्युको खबर

जनयुद्धक्रममा पासाङले धेरैपटक आफ्नो मृत्युको खबर आफैँले सुन्नुभएको थियो । मुत्युका केही खबर आफैले खण्डन गर्नुभएको थियो । २०५९ वैशाख १९ मा रोल्पाको लिस्नेमा रहेको आर्मी क्याम्पमा तत्कालीन जनमुक्ति सेनाले आक्रमण गर्दा रेडियो नेपालले 'लिस्ने जङ्गलमा लुकेर बसेका आतङ्ककारीमाथि सुरक्षाफौजले घेराबन्दी गरी आक्रमण गर्दा सात सय माओवादी मारिएका छन् । माओवादी आतङ्ककारीले हालसम्मकै ठूलो क्षति बेहोरेका हुन् । सुरक्षाफौज चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने शङ्का गरिएको छ' भन्ने समाचार प्रसारण गरेको थियो ।

कुनै सुविधाको पद नलिनुभएका

माओवादी शान्तिप्रक्रियामा आएको झन्डै १० वर्ष पुग्न लाग्दा पनि पासाङले कुनै पनि सुविधाको पद लिनुभएको थिएन । उहाँका धेरै सहपाठी कोही मन्त्री, कोही सांसद त कसैले राजनीतिक नियुक्ति खाइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उहाँले काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिनुभए पनि पराजित हुनुभयो ।

भूकम्पपछि उद्धारमा सक्रिय

२०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि आफू पराजित भएको क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा उहाँ सक्रिय हुनुभयो । आफू डेरा बसेको कपनबमे घर चर्किएपछि उहाँ उपराष्ट्रपति निर्वाचित हुनुअघिसम्म अस्थायी टहरामै बस्नुभएको थियो । उहाँ उपराष्ट्रपतिमा निर्वाचितपछि अस्थायी टहरोबाट उपराष्ट्रपतिको सरकारी निवासमा सर्नुभयो ।

उपराष्ट्रपतिमा निर्वाचित

नयाँ संविधान जारीपछि २०७२ कात्तिक १४ मा व्यवस्थापिका संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा उहाँ मुलुकको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित हुनुभयो । तत्कालीन सत्तारूढ गठबन्धन (एकीकृत नेकपा माओवादी), नेकपा एमाले, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत १५ दलको संयुक्त उम्मेदवार उहाँले कुल ५४७ मध्ये ३२५ मत प्राप्त गरेर उपराष्ट्रपतिमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभयो । उहाँले २०७२ कात्तिक १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष, देश, जनता र सहिदका नाममा पद तथा गोपनीयताको शपथ लिनुभयो । सोही दिन कान्तिपथमा रहेको उपराष्ट्रपति कार्यालय बहादुरभवन पुगेर पदभार ग्रहण गर्नुभयो ।