उपराष्ट्रपतिको कार्यालय

Modified Date : 2016-09-04

नेपालको संविधानको धारा ६७ ले नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था गरेको छ । राष्ट्रपतिको अनुस्पतिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था गरेको छ । उपराष्ट्रपतिको कार्यहरुलाई व्यवस्थित रुपमा सहयोग पुर्‍याउन तथा सहजीकरण गर्नका लागि उपराष्ट्रपतिको कार्यालय रहने संवैधानिक व्यवस्था छ । देशको स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र अखण्डतालाई जोगाइ राख्‍न यस मर्यादित संस्थाको भूमिका आगामी दिनहरुमा अझ प्रभावकारी रहने कुरा निश्चित छ । राष्ट्र र राष्ट्रियताप्रति नागरिकहरुको आदरभाव र राष्ट्रिय एकतामा वृद्धि गर्न सम्माननीय उपराष्ट्रपतिज्यूलार्इ राष्ट्रवासी, नागरिक समाज र विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने धार्मिक, सांस्कृतिक कार्यक्रमहरुमा प्रमुख अतिथि भइदिन निमन्त्रणा आउने गरेको छ । त्यस्तै विभिन्न देशका राष्ट्रिय दिवसमा राजदूतावासहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सम्माननीय उपराष्ट्रपतिज्यूलार्इ प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने गरेका छन् । उपरोक्त कार्यक्रमहरूमा उपराष्ट्रपतिज्यूबाट आतिथ्यता ग्रहण गर्ने प्रचलन रहेको छ । 

राष्ट्रको प्रतिष्ठाको रूपमा रहेका उपराष्ट्रपतिको मान, मर्यादा र गरिमालाई लोकतान्त्रिक परिपाटीमा बचाइराख्‍न नीतिगत, व्यवस्थापकीय र कानुनी संरचनाहरु निर्माण गरि  उपराष्ट्रपतिज्यूको दैनिक कार्यलाई छिटो, छरितो एवं व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न कार्यालयमा स्वच्छ वातावरण सृजना गर्ने, कर्मचारीहरुमा जिम्मेवारीबोधको विकास भएको अनुभूति गराउने, यस संस्थाप्रति जनताको आदर र सम्मान तथा विश्वास बढाउँदै लग्ने आदि कार्य यस कार्यालयको प्रमूख कार्यमा पर्दछ ।