उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले २६२४औं महावीर जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२६२४औं महावीर जयन्तीको शुभकामना

जैन धर्मका २४औं तीर्थंकर भगवान महावीरको २६२४औं जन्मजयन्ती (जन्म कल्याणक दिवस) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मानव जीवनका लागि अपरिहार्य 'पञ्चशील' सिद्धान्तका प्रतिपादक महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको संदेश दिन्छ । यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरुलाई बलियो बनाउने अवसर प्रदान गर्दछ । उहाँले देखाएको सत्मार्गमा हिड्न हामीलाई अभिप्रेरित गर्दै सिंगो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा पनि सहयोग गर्दछ । 

भगवान महावीरले आफ्नो जीवनमा अवलम्वन गर्नुभएको सिद्धान्तहरु मानवताका लागि प्रेरणाका स्रोत हुन् । उहाँले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य जस्तो उच्च आदर्शलाई प्रतिपादन गर्नुभयो, जुन धार्मिक दृष्टिले मात्र महत्वपूर्ण छैन, सामाजिक र सांस्कृतिक रुपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।

यो दिवस हामीलाई आफ्नो जीवनमा यी मूल्यहरुलाई आत्मसात गर्ने अवसर पनि हो । अहिंसा हामीलाई हिंसाबाट टाढा रही सबै प्राणीहरुप्रति करणा, दया, स्नेह र प्रेमको भाव राख्न सिकाउँदछ । सत्यको पालन हामीलाई ईमान्दारी र नैतिकताको मार्गमा हिड्न प्रोत्साहित गर्दछ । महावीरको अपरिग्रहको सन्देशले हामीलाई लोभ–लालच र भौतिकवादबाट माथि उठेर सन्तोष र सदा जीवन उच्च विचारका साथ जिउँन अभिप्रेरित गर्दछ । त्यस्तै, अनेकान्तवादले हामीलाई विभिन्न दृष्टिकोणहरुलाई सम्मान गर्न र सहिष्णुता अंगिकार गर्न सिकाउँदछ, जुन आजको समाजमा सामाजिक सद्भावका लागि अत्यन्तै आवश्यक छ । 

महावीर जयन्तीको यो उत्सव धार्मिक अनुष्ठानहरुमा मात्रै सीमित छैन, यो एउटा सांस्कृतिक उत्सव पनि हो, जसले हामीलाई हाम्रो समृद्ध परम्पराहरु र विरासतसंग जोड्दछ। यस अवसरमा जैन मन्दिरहरुमा हुने पूजा–अर्चना, शोभायात्रा, भक्ति संगीत र सामूहिक प्रार्थनाहरुले हामीलाई एकता र भाइचाराको संदेश दिन्छ । यो अवसरले हामीलाई आफूभित्र आत्मचिन्तन गर्न, आफ्ना कर्महरुको शुद्धिकरण गर्न र देश÷समाजमा शान्ति एवं समृद्धिका लागि योगदान दिने प्रेरणा पनि प्रदान गर्दछ । महावीरको जयन्तीलाई हामीले प्रण र अठोट लिने अवसरका रुपमा लिन सक्नुपर्दछ ।

 

महावीरले आफ्नो जीवनकालमा अहिंसा र आध्यात्मिक स्वतन्त्रताको प्रचार गर्नुभयो । आफू स्वयं सत्य बोल्ने र अरुलाई पनि सत्य बोल्नका लागि उत्प्रेरित गर्ने अवसरका रुपमा पनि यो जयन्तीलाई लिनुपर्दछ । उहाँले क्रोधलाई शान्तिको मार्गबाट, दुष्टलाई साधुता र असत्यलाई सत्यबाट जीत्नका लागि दिनुभएको सन्देशको सान्दर्भिकता वर्तमान परिवेशमा पनि उत्तिकै महत्वपूर्ण छन् ।

महावीरले सम्पूर्ण विश्वलाई ‘बाँच र बाँच्न देऊ’ को सन्देश पनि दिनुभयो । उहाँले सेवा सिक्नु परे श्रवणकुमारबाट, मर्यादा सिक्नु परे रामबाट, अहिंसा सिक्नु परे बुद्धबाट, मित्रता सिक्नु परे भगवान कृष्णबाट, लक्ष्य सिक्नु परे अर्जुनबाट,  दान सिक्नु परे कर्णबाट र तपस्या सिक्नु परे महावीरबाट सिक्नुपर्ने ज्ञान उदाहरणसहित बडो सरल र सटिक रुपमा दिनुभयो । यी सबै सिंगो मानवका लागि जीवनको मूल सूत्रहरु हुन् । हामी सबैले यसलाई ग्रहण गर्दै जीवन पथमा यसको कार्यान्वयनका लागि अग्रसर हुन सक्नुपर्दछ ।

अन्त्यमा, सबै मिलेर महावीरले देखाउनु भएको मार्गमा हिड्दै आफ्नो जीवनमा उहाँका मानवतावादी उपदेशहरुलाई अपनाउँदै एउट सुखी, शान्तिपूर्ण र समृद्ध देश/समाजको स्थापनामा योगदान गरौं । यस अवसरमा सबैमा असीम खुशीहरु, सुस्वास्थ्य र आध्यात्मिक उन्नति प्रदान गरोस् , महावीर जयन्तीको पुनः अनन्त शुभकामना छ ।

 

धन्यवाद !

२०८१ चैत २८ गते बिहीबार ।

ने.सं.११४५ चौलाथ्व, त्रयोदशी ।

 

Download / View

ताजा जानकारी

१७ बैशाख
२०८२

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्