उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले नव वर्ष, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष,२०८२ को शुभकामना
 
नव वर्ष, २०८२ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
 
नेपालको विविधतायुक्त बसोबास क्षेत्र अनुसार सबैले आ–आफ्नै मौलिक संस्कार, संस्कृति र रीतिरिवाजहरुमा रम्दै नव वर्ष मनाउने परम्परा रही आएको छ । यसले मुलुकको मौलिक विशेषता ‘विविधतामा एकता’ लाई सवल र सुदृढ बनाउनमा सहयोग पुग्दछ । केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, परस्पर मैत्रीभावको संचार, आपसी वैरभाव त्यागेर भ्रातृत्वभाव र स्वस्थकर जीवनशैलीका लागि नव संकल्प लिने अवसरका रुपमा सबैले यसलाई लिन सक्नुपर्दछ । नयाँ वर्ष नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक एवं नैतिक मूल्यहरुलाई थप सुदृढ बनाउने अवसर पनि हो ।
 
विक्रम सम्वत्को नयाँ वर्ष शुभारम्भलाई तराई–मधेशतीर ‘सतुवाइन’, ‘जुडशितल’, र ‘सिरुवा पावनी’, काठमाडौं उपत्यकामा बुँगद्यः न्हंवः, ‘विश्वध्वजपातन’ (विस्काः जात्रा) र ‘खायु सँल्हु’ तथा समग्र मुलुकभर ‘नव वर्ष’ आदिका रुपमा मनाउनुले नेपालको सांस्कृतिक विविधताको पृष्ठपोषण गर्दछ । एउटै तिथि र पवित्र पर्व/त्योहार एवं परम्परागत विभिन्न उत्सवहरुभित्र रहेका हाम्रा सांस्कृतिक, सामाजिक, ऐतिहासिक लगायतका विविध आयाम र मौलिक पहिचानहरुको महत्वलाई पुष्टि गर्दछ । सांस्कृतिक विविधता तथा धार्मिक सहिष्णुता नेपालको मौलिक पहिचान हुन् । यस पहिचानलाई थप बलियो बनाउँदै देश र समाजमा एकता, सद्भाव, मेलमिलाप, भाइचारा, सहिष्णुता र सामाजिक समरसता कायम गर्न सबैलाई प्रेरणा प्राप्त होस् । यस अवसरमा हामीले नेपालको आर्थिक उन्नयन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा द्रूत प्रगतिका लागि एकजूट भई अघि बढ्ने प्रयासमा जुट्ने दृढ संकल्पित र प्रतिबद्ध हुन जरुरी छ । नैतिकता, ईमानदारी र परिश्रमका साथ देशको समृद्धि र विकासमा अग्रसर हुन सम्पूर्ण सबैलाई नव वर्षले थप हौसला प्रदान गरोस् ।  
 
नेपालको संविधान उल्लेखित जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य, समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि प्रतिबद्धता र दृढता व्यक्त गर्ने अवसरका रुपमा नयाँ वर्षलाई लिनुपर्दछ । मुलुकमा वर्षौदेखि अक्षुण्ण रहेका विविधता र एकतालाई संबोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प र प्रण लिने अवसरका रुपमा उपयोग गर्नुपर्दछ । 
 
जलवायु परिवर्तन, प्राकृतिक स्रोतहरुको उपयोग र वातावरण संरक्षण जस्ता विषयमा पनि नव वर्षले सबैको विशेष ध्यानाकर्षण गराउँन सकोस् । हाम्रो प्राकृतिक सुन्दरता र विविधतालाई सुरक्षित र संरक्षित गर्ने जिम्मेवारीलाई स्मरण गर्ने यो महत्वपूर्ण अवसर पनि हो । सम्पूर्ण नेपालीको जीवनमा नयाँ आशा, उमङ्ग र संकल्पहरुको सांस्कृतिक प्रतीकका रुपमा समेत रहेको नव वर्षको उत्सवलाई हामीले अघिल्ला वर्षका अनुभवहरुको विश्लेषण गर्दै आफ्ना कमजोरीहरु सुधारका साथ भविष्यका लागि ठोस योजना बनाउन सक्नुपर्दछ । 
 
नव वर्षको महत्व व्यक्तिगत स्तरमा मात्रै सीमित नभई यसको सामाजिक, सांस्कृतिक र आर्थिक महत्व उत्तिकै छ । जीवनमा नयाँ प्रेरणा प्रदान गर्दै आफ्ना वरपर सकारात्मकताको भाव फैलाउने अवसरका रुपमा आत्मसात गर्न आवश्यक छ । यसो त, धार्मिक र सांस्कृतिक रुपमा नव वर्षको महत्व फरक–फरक भएपनि सबैको सारतत्व एकजुटता, मैत्रीभाव, खुशी साटासाट गर्नु नै हो । नव वर्षको स्वागत अत्यन्तै हर्षोल्लास र परम्परागत रुपमा गरिनुले हामीलाई आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित गर्दै पिंढीदर पिंढी हाम्रा रैथाने संस्कृति र परम्पराको रुपान्तरणमा पनि सघाउँदछ । यस अवसरमा लिइने संकल्पले जीवनमा अनुशासन र स्थिरता कायम राख्नमा पनि सहयोग पुग्ने विश्वास लिएको छु । हरेक व्यक्तिले आफन्तजन, परिवारजन, शुभचिन्तक, र ईष्टमित्रको राम्रो स्वास्थ्य, दीर्घायु र सुखद् भविष्यको कामना गर्दै नव वर्षलाई उत्सवका रुपमा मनाइनुले परिवार र समुदायगत रुपमा अपनत्वभावलाई जीवन्त राख्दै एकीकृत समाजलाई अक्षुण्ण राख्न टेवा पुग्दछ ।  
 
अन्त्यमा, मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमिकमजोरीलाई संशोधन गर्दै नयाँ कानूनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न पनि सम्बन्धित निकायलाई प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले उत्प्रेरित गर्न सकोस् भन्ने कामनाका साथ पुनः नव वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  
 
२०८२ वैशाख १ गते सोमबार ।
नेपाल संवत् ११४५ चौलागा, प्रतिपदा ।
 
Download / View

ताजा जानकारी

१७ बैशाख
२०८२

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्