विश्व श्रमिक दिवस (१ मे), २०२५ को शुभकामना
१३६ औं विश्व श्रमिक दिवस (१ मे), २०२५ को महत्वपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाई दिँदै उहाँहरुको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दछु ।
समाज र राष्ट्रको विकास–निर्माण तथा प्रगती–उन्नयनमा श्रमजीवीहरुको श्रम, मेहनत, समर्पण र संघर्ष अमूल्य छ। उहाँहरुको अधिकारको रक्षा र जीवनस्तर सुधार गर्दै उचित पारिश्रमिक प्रदान गर्ने अवस्था सिर्जना गर्न सबैजना आ–आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहन जरुरी छ । यो दिवस श्रमजीवीहरुको लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ संकल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । उहाँहरुको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ । श्रमजीवीहरुको अधिकार, सम्मान र योगदानलाई मान्यता दिने प्रतीकका रुपमा समेत मनाइने यो दिवसले श्रम अधिकारको सुनिश्चितताका लागि थप क्रियाशील हुन सबैलाई उत्प्रेरित गर्न सकोस् ।
नेपालको सन्दर्भमा, मुलुकको विकास र समृद्धिमा श्रमिकहरुको योगदान अतुलनीय छ । खासगरी कृषि, उद्योग, विकास–निर्माण, पर्यटन, घरेलु क्षेत्र र अन्तर्राष्ट्रिय श्रम बजारलगायतका क्षेत्रमा श्रमिकहरुको भूमिका उल्लेखनीय छ । मुलुकको आर्थिक विकास र उन्नयनमा उहाँहरुको परिश्रम र समर्पण उत्तिकै महत्वपूर्ण छ । नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट ठूलो परिमाणमा विदेशी मुद्रा आपूर्ति हुनु सकारात्मक भएपनि श्रमजीवीहरुका लागि आफ्नै माटो–पानीमा रही श्रम र रोजगार गरी न्यायोचित अर्थोपार्जनको वातावरण मिलाउन जरुरी छ ।
नेपालको संविधानमै श्रमिकवर्गको अधिकार सुनिश्चित गरेको छ । सबै नागरिकलाई श्रम गर्ने अधिकार, न्यायोचित पारिश्रमिक, काम गर्ने सुरक्षित वातावरण र सम्मानजनक जीवनको प्रत्याभूति नेपालको संविधानले गरेको छ । संविधानले श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था, बालश्रम निषेध गर्दै बालबालिकाको अधिकारको सुनिश्चिततासहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली श्रमिकहरुको हकहित संरक्षण र उहाँहरुको क्षमता विकासका लागि संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई उत्तरदायी बनाएको छ । श्रमिकबारेको संवैधानिक व्यवस्थालाई सबैले अक्षरशः पालना गर्दै श्रकिमहरुको जीवनस्तर सुधार्न र अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ ।
श्रमिकका लागि न्यूनतम ज्याला सुनिश्चित गर्ने, समयमै पारिश्रमिक उपलब्ध गराउने तथा उहाँहरुका लागि पेन्सन, बीमा र अन्य सामाजिक सुरक्षा लाभहरु व्यवस्थित गर्न जरुरी छ । श्रमिकमैत्री कानूनको कार्यान्वयन, सुरक्षित कार्यस्थलको प्रबन्ध, सीप विकास कार्यक्रमहरु सञ्चालन, सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापन, मुलुकमै पनि रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीति तथा कार्यक्रमहरु लागु गर्न सबैको ध्यानाकृष्ट हुन उत्तिकै आवश्यक छ ।
अन्त्यमा, यो दिवसले बालश्रमको निषेध गर्न, महिला श्रमिकहरुलाई सुरक्षा प्रदान गर्न र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस् । सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी समतामूलक समाज निर्माणको दिशामा काम गर्दै नेपाललाई आर्थिकरुपमा बलियो, समृद्ध र सामाजिकरुपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने नै छ भन्ने विश्वासका साथ विश्व श्रमिक दिवसको अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल ।
२०८२ वैशाख १८ गते बिहीबार ।
नेपाल संवत् ११४५ वछलाथ्व, प्रतिपदा ।
Download / View