उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले सीता जयन्ती, 2082 को अवसरमा दिनुभएको शुभकामना सन्देश

 

सीता जयन्ती, २०८२ को शुभकामना

सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

माता सीता हिन्दू धर्म र रामायणको प्रमुख पात्रमध्येकी एक हुन । उनलाई आदर्श नारीको प्रतीक मानिन्छ । उनको जीवनलाई त्याग, धैर्य, पवित्रता, समर्पण र साहसको एक अनुपम उदाहरणको रुपमा पनि चित्रण गरेको पाइन्छ । सीताको जन्मलाई दैवीय र चमत्कारिक घटनाको रुपमा लिइन्छ, जसले उनको पवित्रता र आध्यात्मिक महत्वलाई दर्शाउँदछ । यो जयन्तीले रामायणको कथालाई स्मरण गराउँदै धर्म, सत्य र नैतिकताको मार्गमा सदैव अडिग रहनु पर्दछ भन्ने सन्देश दिन्छ । नेपाली संस्कृतिमा नारीको सम्मान, मातृशक्ति र पारिवारिक मूल्यहरुलाई यसले प्रोत्साहन गर्दछ । सीताको जीवनले नारीको साहस, स्वाभिमान र कर्तव्यनिष्ठतालाई उजागर गर्दै समाजमा नारीको भूमिका र महत्वलाई पुनः स्थापित गर्न यो जयन्तीले सबैलाई प्रेरित गर्न सकोस् । समाजमा लैङ्गिक समानता, पारिवारिक सद्भाव र सामाजिक न्यायका लागि अभिप्रेरित गर्ने यो जयन्तीले व्यक्तिलाई आत्मिक शुद्धता, धैर्य र प्रेमको मार्गमा अघि बढ्न सधैं अभिप्रेरित गर्ने विश्वास लिएको छु ।

सीताको जीवनबाट प्राप्त सन्देशहरुलाई आत्मसात गर्दै मानिसलाई कठिन परिस्थितिमा पनि सकारात्मक र धर्मनिष्ठ रहन यो जयन्तीले पुनः स्मरण गराउँदछ । यस अवसरमा माता सीताको पूजा, व्रत र प्रार्थना गर्नाले आध्यात्मिक उन्नति र मनोकामना पूर्ति हुने विश्वास छ ।  यो जयन्ती एउटा धार्मिक पर्व मात्र नभई सामाजिक, सांस्कृतिक र नैतिक मूल्यहरुको संरक्षण र प्रवर्धन गर्ने अवसर पनि हो । नारीको साहस, स्वाभिमान र आत्मनिर्भरताको सन्देश दिने यो जयन्तीले सीताले रावणको चेतावनी र सामाजिक शङ्काहरुको सामना आफ्नो साहसका साथ कसरी गरिन् भन्ने तथ्यलाई अंगिकार गर्दै आधुनिक समाजमा नारी सशक्तीकरणको लागि प्रेरणा पनि प्रदान गर्दछ ।

सीता जयन्ती पारिवारिक र सामाजिक सद्भाव कायम राख्ने सन्देशबाट ओतप्रोत छ । सीताको जीवनले पति–पत्नीको प्रेम, पारिवारिक एकता र कर्तव्यप्रतिको समर्पणलाई जोड दिन्छ । परिवार र समाजमा आपसी समझदारी र सहयोगको भावना अभिवृद्धि गर्नमा पनि यो जयन्तीले मद्दत पुग्ने विश्वास लिएको छु । सीताको त्याग र धैर्यले व्यक्तिलाई पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वप्रति सचेत गराउन सघाउँदछ। यो जयन्तीले हामीलाई नैतिक र आध्यात्मिक शिक्षाको महत्व बुझ्न अभिप्रेरित पनि गर्दछ । 

 

सीताको चरित्रले सत्य, धर्म र नैतिकताको पाठ सिकाउँदै उनको जीवनको कठिन परिस्थितिमा पनि धैर्य र विश्वास कायम राख्न प्रेरित गर्दछ । यो जयन्तीले युवा पुस्तालाई रामायणका आदर्शहरु र नैतिक मूल्यहरुको स्मरण गराउन सहयोग पनि गर्दछ । सांस्कृतिक संरक्षण र वातावरणीय सन्देश समेत बोकेको यो जयन्तीले  नेपाली संस्कृति र परम्परालाई जीवन्त बनाई राख्न सहयोग पुग्दछ । पृथ्वीको छोरीका रुपमा सीताले प्रकृतिप्रति गहिरो सम्बन्धलाई दर्शाउँछिन् । यसले वातावरण संरक्षण र प्रकृतिप्रतिको सम्मानको सन्देश दिन्छ । सीताको जीवनलाई आधुनिक सन्दर्भमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र सामाजिक न्यायको दृष्टिकोणबाट हेर्दा उनको स्वाभिमान र आत्मनिर्णय आजको समाजका लागि उत्तिकै प्रासङ्गिक छ । यो जयन्तीलाई सामाजिक कुरीति र लैङ्गिक भेद्भावविरुद्ध सचेतना फैलाउने अवसरका रुप लिन सक्नुपर्दछ ।

यो जयन्तीलाई माता सीताको पवित्र जीवन र मातृशक्तिको महिमालाई स्मरण गर्ने अवसरका रुपमा लिँदै नारी सशक्तिकरण, पारिवारिक सद्भाव, नैतिक शिक्षा र सांस्कृतिक संरक्षणका लागि महत्वपूर्ण कडीका रुपमा उपयोग गर्न सक्नुपर्दछ । मातृशक्तिको रुपमा सीताले सृजन, संरक्षण, साहस र स्वाभिमानका लागि दिएको सन्देशहरुलाई आत्मसात गर्न र लैङ्गिक समानता र सामाजिक न्यायको लागि क्रियाशील हुने अवसरका रुपमा लिन सके मात्र यो जयन्ती मनाउनुको सार्थकता पुष्टि हुनसक्छ ।

अन्त्यमा, सीता जयन्तीको यो पावन अवसरमा माता सीताको आदर्शबाट प्रेरित भई हामी सबै सत्य, धर्म र प्रेमको मार्गमा अघि बढौं। यो जयन्तीलाई परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिँदै नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि यो जयन्तीले सबैलाई उत्प्रेरित गर्न सकोस् । सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा दृढ संकल्पका साथ अघि बढने हौसला प्राप्त होस् भन्ने विश्वासका साथ पुनः सीता जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

धन्यवाद ।

२०८२ वैशाख २३ गते मङ्गलबार ।

ने.सं. ११४५ वछलाथ्व, नवमी ।

 

Download / View

ताजा जानकारी

१७ बैशाख
२०८२

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्