उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

'इस्लामिक सांस्कृतिक केन्द्र' उद्घाटन कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

इस्लामी संघ नेपालद्वारा मिति २०७८/१२/१० गते आयोजित 'इस्लामिक सांस्कृतिक केन्द्र'

उद्घाटन कार्यक्रममा 

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त 

 

सम्बोधन भाषण

यस समारोहका अध्यक्षज्यू,

माननीय महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीज्यू,

माननीय सांसदज्यूहरु,

महामहिम राजदूतज्यूहरु,

दातृ  निकायका पदाधिकारी तथा प्रतिनिधिज्यूहरु,

आयोजक समितिका पदाधिकारी तथा सदस्यहरु, 

पत्रकार मित्रहरु,

उपस्थित भद्र महिला तथा सज्जन वृन्द ।

१. इस्लामी संघ नेपालद्वारा स्थापित 'इस्लामिक सांस्कृतिक केन्द्र'को उद्घाटन समारोहमा उपस्थित भइ यस केन्द्रको उद्घाटन र यहाँ उपस्थित दिग्गज व्यक्तित्वहरुसँग भेटघाट गर्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ । मुस्लिम समुदायको धार्मिक, सामाजिक र सांस्कृतिक विकास एवम् प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ इस्लामिक सांस्कृतिक केन्द्र स्थापना गर्नुभएकोमा इस्लामी संघ नेपाल, संघका पदाधिकारी, संघमा आबद्ध सदस्यहरु र सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक बधाई ज्ञापन गर्दछ । 

२. नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलूक हो । यी विविधतायुक्त विशेषता नेपाल र नेपालीको साझा पहिचान हुन् । सभ्यता र संस्कृतिमा हामी विश्वमै समृद्ध छौँ । धेरै धर्म, भाषा, संस्कृति र सभ्यताहरुको संगम स्थल भएकोले हाम्रो देश अनेकतामा एकताको नमूना हो । नेपालका हरेक समुदायको आफ्नो मौलिक, धर्म, संस्कृति छ । सबै समुदायले आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षण र विकासका लागि समुदायस्तरबाट प्रयास गरिरहेका छन् । यो अत्यन्त स्रहानीय कार्य हो । किनकी जसले समुदायस्तरबाट नै आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणका लागि प्रयास गर्छ, त्यो समुदायले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्न सक्दछ । 

भद्र महिला तथा सज्जन वृन्द

३. नेपालमा मुस्लिम समुदाय देशको विभिन्न भागमा छरिएर बसोबास गर्दै आएको छ । विभिन्न समुदायका जस्तै मुस्लिम समुदायको आफ्नै पहिचान छ । राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रता नेपाली मुस्लिम समुदायको विशेषता नै हो । मुस्लिम समुदायले समुदायस्तरबाटै आफ्नो धार्मिक, सामाजिक, सांस्कृतिक विकास, शैक्षिक उत्थानका कार्य गर्दै आएको छ । मुस्लिम समुदायले गर्दै आएको यी महत्वपूर्ण कार्यको म यस अवसरमा मुक्तकण्ठले प्रशंसा गर्दछु । 

४. यसै शिलशिलामा इस्लामी संघ नेपालको तर्फबाट यो केन्द्र निर्माण भएको छ । यसबाट देशमा शैक्षिक प्रगति, आपसी सद्भाव, विभिन्न धार्मिक समुदायबीच घनिष्ठता र धार्मिक सहिष्णुताको विकास हुने विश्वास लिएको छु । केन्द्रको पुस्तकालयबाट विद्यार्थीहरु लाभान्वित हुँदा शिक्षा र ज्ञानको विस्तार हुने, महिलाहरुको लागि आरक्षित प्रार्थना स्थलले उनीहरूमा आध्यात्मिकताको विकास एवम् धार्मिक सांस्कृतिक मूल्य मान्यताको रक्षा गर्ने र अन्तरधार्मिक सभा सम्मेलनद्वारा विभिन्न धार्मिक समुदायबीच समझदारी र सुमधुर सम्बन्ध स्थापित भइ नेपाली राष्ट्रिय एकता सबल र सुदृढ विश्वास लिएको छु । खाडी मुलुकबाट आउने पर्यटकहरूलाई यस केन्द्रमार्फत उनीहरूकै भाषामा नेपालको परिचयात्मक जानकारी र यहाँका सुन्दर पर्यटकीय स्थलहरूको विवरण उपलब्ध हुने हुँदा यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने विश्वाससमेत लिएको छु ।

भद्र महिला तथा सज्जन वृन्द

५. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धी हुन् । यी उपलब्धी प्राप्तिका लागि भएका विभिन्न कालखण्डका क्रान्ति तथा आन्दोलनमा मुस्लिम समुदायको उच्च योगदान रहेको छ । नेपालको राजनीतिक परिवर्तनमा मुस्लिम समुदायले पु¥याएको योगदानप्रति म सम्मान व्यक्त गर्दछु ।  

६. नेपाली जनताको संघर्षबाट प्राप्त समानुपातिक समावेशी व्यवस्थाले आज नेपालका सबै उत्पीडित समुदायको राज्यका विभिन्न अंगहरुमा पहुँच र प्रतिनिधित्वि वृद्धि भएको छ । यहाँहरुले पनि महसुस गर्नुभएकै होला २०६३ सालपछि यो १५ वर्षको अवधिमा राज्यका विभिन्न निकायमा मुस्लिम समुदायको प्रतिनिधित्व वृद्धि भएको छ । यो नेपालका उत्पीडित समुदायका लागि खुशी र गौरवको कुरा हो । म यस अवसरमा राजनीतिक व्यवस्था परितर्वनका लागि विगतमा भएको सहभागीता र प्राप्त उपलब्धीप्रति गौरव गर्न आम मुस्लिम समुदायलाई अपील गर्दछु । 

७. नेपालका मुस्लिम समुदाय उत्पीडित समुदाय हो । यो समुदाय राजनीतिक, आर्थिक, सामाजिक अधिकारको क्षेत्रमा पछि छ । हाम्रो संविधानले भने मुस्लिम समुदायको हक हितका लागि व्यवस्था गरेको छ । मुस्लिम समुदायको हकहितको संरक्षण र सर्वाङ्गीण विकासको लागि मुस्लिम आयोगको व्यवस्था गरेको छ । मुस्लिम समुदायको प्रमुख धार्मिक स्थल साउदी अरबको मक्का मदिना स्थित तीर्थस्थलमा वार्षिक हज यात्राको सहजीकरणका लागि निम्ति हज कमिटीको व्यवस्था छ । मुस्लिम समुदायको हक अधिकारको संरक्षण र उत्थानका लागि गठित सरकारी निकायहरुले आफ्नो कामलाई भने प्रभावकारी बनाउन आवश्यक छ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

भद्र महिला तथा सज्जन वृन्द

८. देशमा राजनीतिक स्थायित्व कायम भइसकेको छ । अब देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहनुपर्दछ । देश समृद्ध बन्न नेपालका हरेक समुदायको आर्थिक सामाजिक जीवनस्तरमा उल्लेख्य परिवर्तन आउनुपर्दछ । देशको विकास र समृद्धिमा हामी नागरिकको पनि योगदानको खाँचो छ । म राजनीतिक परिवर्तनमा जस्तै देशको समृद्धिको यात्रामा पनि मुस्लिम समुदायको उल्लेख्य योगदान हुनेछ । किनकी मुस्लिम समुदाय देशलाई अन्तरमनले माया र यसको उन्नति र प्रगतिको कामना गर्छ । सरकारी अनुदानको मुख नताकी आफ्नै आर्थिक स्रोतद्वारा समुदायद्वारा स्थापित मदरसाहरुले शिक्षा क्षेत्रमा अमूल्य योगदान दिइरहेका छन् । 

९. नेपालको विकास र उन्नतीमा सामाजिक संघ संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । इस्लामी संघ नेपालले मुस्लिम समुदायको बहुआयामिक विकासका साथै आम नेपाली जनताको पनि निरन्तर मानवीय सेवा र सहयोग गर्दै आएको छ । प्राकृतिक प्रकोपका बेला यो संस्थाले आम नेपालीको राहत र उद्धारमा उल्लेखनीय सेवा गरेको गौरवपूर्ण इतिहास छ । यसको साथै यसले शिक्षाको विस्तार, युवा तथा महिला सशक्तीकरण र सामाजिक सद्भावको विकासमा अहम भुमिका निर्वाह गर्दै आएको छ । म इस्लामी संघ नेपालको यी कार्यको खुलेर प्रशंसा गर्दछु ।

१०. अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छु । र, यहाँहरु सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 

धन्यवाद !

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्