सञ्चारिका समूहद्वारा मिति २०७८/१२/११ गते काठमाडौंमा आयोजित ‘सञ्चारिका समूहको २५ औं वार्षिक साधारणसभा तथा आठौं महाधिवेशन र पुरस्कार वितरण’ समारोहमा
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त
सम्बोधन भाषण
सञ्चारिका समूहको २५ औं साधारणसभा तथा आठौं महाधिवेशनको यो उद्घाटन समारोहको अध्यक्षज्यू,
माननीय राष्ट्रिय महिला आयोगका अध्यक्षज्यू,
नेपाल पत्रकार महासंघका अध्यक्षज्यू,
पत्रकारिता क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्षज्यूहरु,
सञ्चार तथा पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरु,
पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरु,
आयोजक संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरु,
पत्रकार तथा सञ्चारकर्मी मित्रहरु, भद्र महिला तथा सज्जन वृन्द,
यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार ।
१. नेपाली महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूहको ‘२५ औं साधारणसभा तथा आठौं महाधिवेशन र पुरस्कार वितरण’ समारोहमा उपस्थित भइ देशभरबाट आउनुभएका तपाईं महिला पत्रकार साथीहरुसँग भेटघाट गर्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ । सर्वप्रथमतः म सञ्चारिका समूहको २५ औं साधारणसभा तथा आठौं महाधिवेशनको अवसरमा समूहका पदाधिकारी तथा सदस्यहरु र यसमा आबद्ध सम्पूर्ण नेपाली महिला पत्रकार मित्रहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
२. विगतको समीक्षा गर्दै आगामी नीति तथा कार्यक्रम तय गर्न र नयाँ नेतृत्व चयनका लागि यहाँहरु यो महाधिवेशनमा उपस्थित हुनुहुन्छ । म नेपाली पत्रकारिता क्षेत्रमा महिला पत्रकारको गर्विलो उपस्थिति हुने र समग्र नेपाली महिलाहरुको सोंचमा परिवर्तन ल्याउन सक्ने गरी नीति तय गर्ने र जुझारु नेतृत्व निर्वाचित हुने अपेक्षासहित महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछु । यो गरिमामय कार्यक्रममा सञ्चारिका समानता र उमा सिं पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकारहरुलाई बधाई दिन चाहन्छु । मलाई विश्वास छ, यो सम्मानले यहाँहरुलाई अझै निर्भिक र सक्रियताका साथ पत्रकारितामा लाग्न हौसला मिल्ने छ ।
भद्र महिला तथा सज्जन वृन्द
३. नेपालको परिवर्तनकारी आन्दोलनमा सञ्चारकर्मी र सञ्चार माध्यामले खेलेका भूमिका अविस्मरणीय तथा प्रशंसनीय छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता नेपाली जनताका राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा सञ्चार जगतको ऐतिहासिक भूमिका छ । संविधान निर्माण र कार्यान्वयन, विनाशकारी भूकम्प, नाकाबन्दी र विश्वव्यापी महामारी कोरोना भाइरस तीव्र फैलिरहँदा नेपाली पत्रकारहरुले शाहासका साथ गरेको सूचना प्रवाह हामी सबैको लागि गौरवको विषय हो । हरेक संकटमा नेपाली सञ्चारकर्मी र समग्र सञ्चार जगतले निर्वाह गरेको भूमिकाको म मुक्तकण्ठले प्रशंसा गर्दछु ।
४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको र राष्ट्रको मूलभूत आधार हो । हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता लगायतका विषयमा सञ्चार जगतले ध्यान दिनुपर्नेमा संविधानले प्रष्ट पारेकै छ । पत्रकारहरु आफैले आफ्ना लागि आचारसंहिता पनि बनाउनुभएको छ । यी सबैलाई ध्यान दिंदै पूर्ण प्रेस स्वतन्त्रताको संविधान प्रदत्त अधिकारको प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि सञ्चार जगतले महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।
५. भनिन्छ, आमसञ्चार माध्याम समाज तथा राष्ट्रकै ऐना हुन् । आवाज विहिनको आवाज हुन् । सूचना, मनोरञ्जन र ज्ञान प्रदान गर्ने सशक्त माध्यम हुन् । पत्रकारिता क्षेत्र चुनौतीपूर्ण र जोखिमपूर्ण त छ नै । यो उत्तिकै समवेदनशील तर सम्मानित पेशा पनि हो । जनताका कुरा राज्यसम्म पु¥याउने र राज्यले त्यसबारेमा चाल्ने कदमलाई पुनः जनतासम्म पु¥याएर पुलको भूमिका खेल्ने पनि यस क्षेत्रले गरिरहेको छ । जनताका अधिकार, समानता, स्वतन्त्रताको रक्षासँगै भ्रष्टाचार न्यूनीकरण, विभेदको अन्त्य र राज्यलाई निरन्तर खबरदारी गर्ने पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष पनि हो । त्यसैले हामी पत्रकारितालाई चौथो अंग पनि मान्छौँ ।
६. तर, पछिल्ला दिनमा पत्रकारिताप्रति जनगुनासाहरु पनि थपिएका छन् । सूचना र प्रविधिको युगका कारण नागरिकमा चेतनाको अभिवृद्धि भएको छ । सामाजिक सञ्जालको प्रयोग उच्च छ । हाम्रो पत्रकारिता क्षेत्रमा के भइरहेको छ ? नागरिक तुरुन्तै सामाजिक सञ्जालबाट जवाफ दिन सक्ने अवस्थामा पुगिसकेका छन् । हाम्रो पत्रकारिताले कतै विस्वसनीयता गुमाउन थालेको त होइन ? कतै आफ्नो कर्तव्य, जिम्मेवारी, जवाफदेहिताको सिद्धान्तबाट डगमगाउन थालेको त होइन ? आशाको सञ्चार गर्ने भन्दा पनि निराशामात्रै बाँड्न उद्दत त छैन ? सकारात्मक सोंचको प्रवाह गर्नुभन्दा नकारात्मक सोंचको प्रवाह त भइरहेको छैन, कतै अराजकता मौलाइरहेको त छैन ? अवश्य पनि यी र यस्ता प्रश्नहरु जबरजस्त उठिरहेका छन् । जुन हाम्रो लागि सकारात्मक संकेत होइन । म विश्वस्त छु, यहाँ उपस्थित पत्रकारिताका विद्वान मित्रहरुले गहिरो मनन गर्नुभएको छ होला । र, यसको समाधान के हो भन्ने कुरामा पनि पक्कै यहाँहरु गम्भीर हुनुहुन्छ भन्ने लाग्छ ।
भद्र महिला तथा सज्जन वृन्द
७. राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय एकताको प्रवर्धन, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, विकृति, विसंगति, अन्धविश्वास, कुसंस्कृतिको अन्त्यमा नेपाली पत्रकारहरुको योगदान हुनुपर्दछ भन्ने मलाई लाग्दछ । सभ्य समाजको निर्माण र देशको समृद्धि पत्रकारहरुको आजको प्राथमिकता हुनुपर्दछ । रचनात्मक, सृजनात्मक आलोचनात्मक चेतको विकास गर्न जरुरी देखिन्छ ।
८. तर, महिला पत्रकारका लागि दोहोरो जिम्मेवारी छ । एकातिर पत्रकारिताको सिद्धान्तमा रहेर पत्रकारिता गर्नुपर्नेछ भने अर्कोतर्फ महिलामाथि भइरहेको उत्पीडन, थिचोमिचो र हिंसाविरुद्ध आवाज उठाउनुपर्ने छ । अर्कोतिर घर व्यवहार पनि सम्हाल्नुछ । पत्रकारिताकै माध्यमबाट महिलामाथिको विभेद, उत्पीडन, हिंसालाई बाहिर ल्याउनु पनि छ ।
९. यसकार्यमा नेपाली महिला पत्रकारहरुले उल्लेख्य योगदान पु¥याएको मैले पाएको छु । पितृसत्तात्मक समाजमा परिवारबाट बाहिर निस्केर निर्भिकताका साथ पत्रकारिताका माध्यमबाट महिलामाथिको विभेद, उत्पीडनको न्यूनीकरण तथा समाज रुपान्तरणमा महिला पत्रकारहरुले खेल्नुभएको भूमिकाप्रति म यस अवसरमा सम्मान व्यक्त गर्दछु । निश्चय नै आज पनि दूरदराजको महिलाहरुका कथा फेरिएका छैनन् । दूरदराजका महिला विभिन्न प्रकारका हिंसाबाट पीडित छन्, अन्याय सहेर बसिरहेका छन्, मेरो आग्रह छ –यहाँहरुको कलम सहरमा मात्रै होइन गाउँसम्म पुगोस् । गाउँका महिलाका कथा शासन सत्तामा बसेकाहरुसम्म पुगोस् । र, ती महिलाहरुले समानता र न्याय प्राप्त गर्न सकुन् ।
१०. पत्रकारहरुले कार्यक्षेत्रमा खटिदा विविध समस्याहरु भोग्नुपरिरहेको छ । त्यसमा पनि महिला पत्रकारले बढी समस्या भोग्नुपरिरहेको छ । घर, कार्यालय व्यवस्थापनमा महिला पत्रकारले लैङ्गिक विभेदका कारण सिर्जित चुनौतीहरु भोग्नुपरिरहेको छ । समाचार संकलन, सम्पादनका क्रममा विभेद भोगिरहेका छन् । समाचार कक्षामा माथिल्लो तहमा महिला पत्रकारको उपस्थिति नहुँदा महिला पत्रकारहरुले भौतिक र पेशागत सुरक्षा नभएको महसुस गर्नुका साथै ती समाचार कक्षको अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् ।
११. यी तमाम चुनौती र समस्याका बाबजुद आज नेपाली पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुको उपस्थिति दिनप्रतिदिन बढिरहेको छ । नेपाली पत्रकारितामा २५ प्रतिशत महिला पत्रकारहरुको सहभागीता छ । यो हाम्रो लागि खुशीको कुरा हो । राजनीतिक परिवर्तनपछि महिलाको चेतनामा आएको विकास, सञ्चारिका समूहजस्ता संस्थाहरुको अभियान, तालिम तथा प्रोत्साहन र समानुपातिक समावेशी शासन व्यवस्थाको सकारात्मक प्रभावबाट पत्रकारितामा महिला सहभागीता बढेको मान्न सकिन्छ । म यस अवसरमा सञ्चारिका समूहले आफ्नो २५ वर्षे यात्रामा गरेको अथक मेहनत र यसबाट प्राप्त उपलब्धीका लागि समूहकी संस्थापक, पूर्व पदाधिकारीहरु, वर्तमान पदाधिकारी र आबद्ध सम्पूर्ण महिला पत्रकार मित्रहरुमा बधाई ज्ञापन गर्दछु ।
भद्र महिला तथा सज्जन वृन्द
१२. पत्रकारितामा महिला सहभागीता अझै वृद्धि हुनुपर्दछ । विगतको तुलनामा अहिले हरेक सञ्चार गृहले महिलाको विषयलाई प्राथमिकताका साथ बाहिर ल्याइरहेका छन् । यो सबै समाचार कक्षहरुमा महिलाहरुको प्रतिनिधित्व भएर सम्भव भएको हो । नेपाली महिलाको बारेमा लेखिनुपर्ने, समाचार बन्नुपर्ने धेरै विषयहरु विद्यमान छन् । ती विषय बाहिर ल्याउन महिला पत्रकारले जति सक्छ अरु पत्रकारबाट नहुन सक्छ । ‘खुकुरीको पीर अचानोलाई थाहा हुन्छ’ भने जस्तै महिलाको पीडा, भोगाइ महिला पत्रकारहरुलाई नै बढी थाहा हुन्छ ।
१३. पत्रकारितामा महिला सहभागीता वृद्धिका लागि सरकार, नेपाल पत्रकार महासंघ र सञ्चारिका समूहजस्ता संस्थाहरुले भूमिका निर्वाह गर्नुपर्दछ । सरकारी सञ्चार गृहले संविधानबमोजिम समावेशी नीति अवलम्बन गर्दा त्यहाँ महिला पत्रकारहरुको सहभागीता वृद्धि हुँदै गएको पनि छ । नीजि सञ्चारगृहले पनि समाचार कक्षहरुलाई समावेशी बनाउनै लैजाने नीति लिनुपर्दछ । अहिले क्षमतावान महिला पत्रकारहरु हुनुहुन्छ, उहाँहरुलाई समाचार कक्षको माथिल्लो तहमा अवसर दिइनुपर्दछ । यसबाट एकातिर पत्रकारितामा महिलाको आकर्षण बढ्छ भने पत्रकारितामा भइरहेका महिलाहरुले पनि आफूलाई सुरक्षित महसुस गर्न सक्छन् । अर्कोतर्फ महिलाको मूद्दाहरु मूलप्रवाहीकरण हुन्छन् । यसतर्फ सबैको ध्यानाकर्षण गराउँदछु ।
भद्र महिला तथा सज्जन वृन्द
१४. समानुपातिक समावेशी व्यवस्थाले राज्यका सबै अंग र संघ संस्थामा महिला प्रतिनिधित्व वृद्धि भएको छ । पत्रकारहरुकै साझा संस्था नेपाल पत्रकार महासंघमा महिला पत्रकारहरुको सहभागीता वृद्धि भएको छ । पत्रकारका अन्य संघ संस्थाहरुमा महिला पत्रकारहरुको उपस्थिति राम्रो छ । तर, यतिले पुग्दैन । पत्रकार महासंघ र पत्रकारका अन्य संघ संस्थाको केन्द्रीय समितिमा महिला पत्रकारको सहभागीता कम्तीमा ३३ प्रतिशत पुग्ने व्यवस्था गरेर लागू गर्न जरुरी छ । म यसतर्फ यहाँ उपस्थित महानुभावहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
१५. समावेशीता सबै क्षेत्रमा लागू हुनुपर्दछ । हामीले समावेशीताको कुरा गर्दै गर्दा आन्तरिक समावेशीतालाई कहिल्यै विर्सनु हुँदैन । मलाई विश्वास छ –सञ्चारिका समूहले आन्तरिक समावेशीतालाई ध्यान दिनेछ । र, यसलाई नेपाली महिला पत्रकारहरुको साँच्चीकै साझा संस्थाको रुपमा थप विकास र परस्कृत गर्नेछ ।
१६. अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित र सिंगो सञ्चारिका समूहरलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । यहाँहरुको महाधिवेशन भव्यरुपमा सफल होस्, सञ्चारिका समूह र नेपाली महिला पत्रकारहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै आउँदै गरेको नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना पनि व्यक्त गर्दछु ।
धन्यवाद ।