उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

'स्वर्ण महोत्सव वर्ष सुभारम्भ तथा हस्तकला वर्षको समापन' समारोहमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

नेपाल हस्तकला महासंघद्वारा मिति २०७८/०८/२८ गते आयोजित ‘स्वर्ण महोत्सव वर्ष सुभारम्भ तथा हस्तकला वर्षको समापन’ समारोहमा
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त
सम्बोधन भाषण
यो कार्यक्रमका अध्यक्ष तथा नेपाल हस्तकला महासंघका अध्यक्षज्यू,
माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीज्यू,
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू,
नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका अध्यक्षज्यूहरु,
नेपाल हस्तकला महासंघका पूर्व अध्यक्षज्यूहरु,
व्यवसायी मित्रहरु, पत्रकार साथीहरु,
उपस्थित भद्र महिला तथा सज्जन वृन्द ।
यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार तथा अभिवादन ।
१. गौरवमय ४९ वर्ष पूरा गरी ५० औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल हस्तकला महासंघद्वारा आयोजित ‘स्वर्ण महोत्सव वर्ष सुभारम्भ तथा हस्तकला वर्ष समापन’ समारोहमा उपस्थित भइ उद्योगी, व्यवसायी तथा हस्तकला व्यवसायीहरुसँग भलाकुसारी गर्न पाउँदा ज्यादै खुशी लागेको छ । सर्वप्रथमतः म नेपाल हस्तकला महासंघ स्वर्ण वर्षमा प्रवेश गरेकोमा महासंघका अध्यक्ष, पदाधिकारी, सदस्य तथा यस क्षेत्रमा आबद्ध सबै उद्योग व्यवसायी, कलाकार र श्रमिकहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु ।  
२. आज विविध वार्षिक कार्यक्रमका साथ हस्तकला महासंघको स्वर्ण महोत्सव वर्ष सुभारम्भ भएको छ । म महासंघको स्वर्ण महोत्सव वर्षबाट नेपाली हस्तकलाको विकास र प्रवद्र्धनमा उच्च योगदान पुग्ने अपेक्षासहित महोत्सव वर्षमा आयोजना हुने सबै प्रकारको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु । महासंघको ४९ औं वार्षिकोत्सवको अवसरमा प्रारम्भ भएको हस्तकला वर्ष आजै समापन हुँदैछ । यस वर्ष प्राप्त उपलब्धीहरुका लागि हार्दिक बधाई सहित हस्तकलाको विकास र राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानका लागि महासंघलाई धन्यवाद दिन चाहन्छु ।
भद्र महिला तथा सज्जन वृन्द
३. हस्तकला नेपालको मौलिकपनको चिनारी हो । नेपाली कलाकारहरुको सीप र कला हो । हस्तकला राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । हस्तकला हाम्रो देशको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र हो । हस्तकला लाखौं लाख नेपालीको रोजगारीको क्षेत्र हो । विशेष गरी महिलाहरुलाई उद्यमी र आर्थिक रुपमा सबल बनाउने क्षेत्र हो । लाभ भएको क्षेत्र हो । गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेको क्षेत्र हो । यी सबै कारण हस्तकला राज्यको उच्च प्राथमिकताको क्षेत्र हो । जनताको प्राथमिकताको क्षेत्र हो । 
४. हस्तकलाका वस्तुहरुले हाम्रो देशको विविधतायुक्त कला संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको छ । विश्वमा नेपालको पहिचानलाई हस्तकलाका वस्तुहरुले उचो पार्ने काम गरेको छ । संयुक्त राज्य अमेरिका, युरोपियन मुलूकहरु, जर्मनी, बेलायत, नेदरल्याण्ड्स्, जापान, कोरिया जस्ता विकसित मुलूकहरु तथा चीन र भारत जस्ता विशाल अर्थतन्त्र भएका छिमेकी मुलूकहरुमा नेपाली हस्तकलाको निर्यात हुनु हामी नेपालीका लागि गौरवको कुरा हो । आजको आधुनिक युगमा पनि विश्व बजारमा हातबाट निर्मित वस्तुको महत्व र माग बढ्नु नेपाल र नेपाली हस्तकला क्षेत्रको लागि सुखद कुरा हो ।
५. हस्तकलाका वस्तु निर्यातबाट नेपालको मौलिक पहिचान विश्वसामु स्थापित भइरहेको छ । आयात र निर्यातबीचको दुरी दिनप्रतिदिन फराकिलो भई व्यापार घाटा चुलिदै गएको वर्तमान अवस्थामा हस्तकला क्षेत्रले निर्यात वृद्धि गरिरहेको छ । मुलूकको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण स्थान ओगटेको हस्तकलाले आज निर्यातमूलक उद्योगको रुपमा आफ्नो विशिष्ट स्थान बनाएको छ । गत आर्थिक वर्षमा मात्रै ६ अर्ब मूल्य बराबरको ८२ किसिमका हस्तकला वस्तु ८० देशमा निर्यात भएको तथ्याङ्क छ । यसबाट मुलूकको राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । 
भद्र महिला तथा सज्जन वृन्द
६. आफ्नो पाँच दशकको यात्रामा नेपाल हस्तकला महासंघले हस्तकलाको विकास, प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो योगदान दिएको छ । मैले अघि पनि भने हस्तकला वस्तुका माध्यमबाट नेपाललाई विश्वले चिनिरहेको छ । सगरमाथा र गौतम बुद्धको देश भनेर चिन्ने विश्व समुदायले नेपाललाई हस्तकलाको देश भनेर चिन्न थालेको छ भन्दा सायदै अन्यथा होला । हस्तकला महासंघले यस क्षेत्रमा आबद्ध व्यवसायी, कलाकार तथा श्रमिकहरुको हक अधिकारका लागि पनि महत्वपूर्ण कार्य गर्दै आइरहेको छ । 
७. म यस अवसरमा हस्तकला महासंघको जग हाल्नुहुने, हस्तकलाको विकास मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने र विश्व सामु नेपालको चिनारी देखाउनुहुने महासंघका संस्थापक अध्यक्ष श्री सागर शम्सेर जबरा राणाज्यू, संस्थापक सदस्य श्री मोतिलाल शिल्पकारज्यूलगायत सबै संस्थापकज्यूहरुमा सम्मान व्यक्त गर्दछु । महासंघलाई यहाँसम्म ल्याउनुहुने सबै पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरुमा सम्मान व्यक्त गर्दछु । साथै आज सम्मानित हुनुभएकोमा महासंघका संस्थापक अध्यक्ष सागर शम्ेर जबराज्यू, संस्थापक मातिलाल शिल्पकारज्यू र विभिन्न विधामा सम्मानित सबै मित्रहरुमा बधाई ज्ञापन गर्दछु । 
भद्र महिला तथा सज्जन वृन्द
८. नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई कम गर्नैपर्छ । निर्यातको तुलानामा आयात धेरै भएसम्म समृद्धि हासिल गर्न सक्दैनौँ । आर्थिक समृद्धिका लागि आन्तरिक उत्पादनमा उल्लेख्य वृद्धि गर्नुको विकल्प छैन । हामीले थुप्रै वस्तु निर्यात गर्न सक्छौँ । अपेक्षाकृत नभए पनि सन्तोषजनक रुपमा निर्यात विभिन्न बस्तुको निर्यात भइरहेको छ । पछिल्लो समय हामीले विद्युत् निर्यात सुरु गरेका छौँ । विभिन्न वस्तुमध्ये हस्तकलाको वस्तु नै विश्व बजारमा धेरै माग भइरहेको वस्तु हो । हामीले यस क्षेत्रबाट अझै गुणस्तरीय उत्पादन र निर्यात प्रवद्र्धनमा जोड दिनुपर्दछ । मलाई विश्वास छ, हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गर्नुहुनेछ । 
९. हस्तकला क्षेत्रका विविध समस्या अवश्य छन् । दक्ष कालिगडको अभाव हुन थालेको छ । कालिगडहरु विदेशिदा नयाँ पुस्ताले हस्तकलाको सीप सिक्नबाट बञ्चित हुनु परिरहेको छ । हस्तकलाका सीप पुस्तान्तरणमा समस्या उत्पन्न भएको छ । यी समस्या हस्तकला क्षेत्रका व्यवसायी, कलाकारको मात्रै होइन, राज्यको पनि हो । यो समस्यालाई राज्यले गम्भीर भएर ध्यान दिनुपर्दछ । म सबै तहका सरकारको यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँदछु ।
१०. हस्तकला महासंघ र सम्बद्ध व्यवसायी मित्रहरुले हस्तकलाको विकासको लागि विविध माग राख्दै आउनुभएको छ । यहाँहरुको माग बमोजिम धेरै कुराहरु राज्यको तर्फबाट संबोधन भएका पनि छन् । सार्क हस्तकला वकास केन्द्रका लागि भवन निर्माण भइसकेको छ । उक्त केन्द्र सञ्चालन कार्यविधिको मस्यौदा महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरिसकेको मैले जानकारी पाएको छु । उक्त कार्यविधि छिटो भन्दा छिटो स्वीकृतिका लागि म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । साथै हस्तकला ग्राम स्थापनाका लागि महासंघले दुई दशकदेखि थालेको पहलमा नेपाल सरकारको सार्थक सहयोग हुने र यसले छिट्टै मुर्त रुप पाउने अपेक्षा लिएको छु । 
११. अन्तमा, मलाई यस कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा नेपाल हस्तकला महासंघलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु । हस्तकला महासंघको स्वर्ण महोत्सव वर्षको पुनः शुभकामना ।
धन्यवाद ।
 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्