उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

'चौथो ललितपुर साकोस समिट २०७८' उद्घाटन समारोहमा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

ललितपुर जिल्ला बचत तथा ऋण सहारी संघ लिमिटेडद्वारा मिति २०७८/०८/०८ गते गोदावरीमा आयोजित ‘चौथो ललितपुर साकोस समिट–२०७८’ उद्घाटन समारोहमा 
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त 
सम्बोधन भाषण
यो महत्वपूर्ण कार्यक्रमका अध्यक्ष ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्षज्यू,
माननीय उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषालज्यू,
माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठज्यू, 
माननीय संघीय सांसदज्यूहरु,
विभिन्न राजनीतिक पार्टीका नेताज्यूहरु,
अतिथिज्यूहरु,
आयोजक संस्थाका पदाधिकारी तथा सदस्य मित्रहरु,
सहभागी मित्रहरु, पत्रकार मित्रहरु,
यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार !
१. नेपालकै रमणीय नगर गोदावरीमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले आयोजना गरेको ‘चौथो ललितपुर साकोस समिट–२०७८’को उद्घाटन समारोहमा उपस्थित हुन र सहकारी अभियान्ताहरुसँग भेटघाट गर्न पाउँदा म ज्यादै हर्षित छु । सर्वप्रथमतः म तीन दिनसम्म सञ्चालन हुने यो समिटको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । 
भद्र महिला तथा सज्जन वृन्द
२. नेपाली जनताको झण्डै सात दशक समय राजनीतिक परिवर्तनका लागि बित्यो । जनताले राणाशासन विरुद्ध संघर्ष गरे । प्रजातन्त्र प्राप्त गरे । जनता पञ्चायती व्यवस्था विरुद्ध लडे । निर्दलीय व्यवस्था विरुद्ध लडे । बहुदलीय व्यवस्था प्राप्त गरे । एकात्ममक निरंकुश राजतन्त्र विरुद्ध लडे । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे । पटकपटकका राजनीतिक परितर्वनका लागि जनआन्दोलन भयो । जनयुद्ध भयो । ऐतिहासिक जनआन्दोलन भयो । मधेसी, आदिवासी जनजातिका आन्दोलन भए । 
३. सबै खाले क्रान्ति तथा आन्दोलनबाट नेपालमा गणतन्त्र आयो । संघीयता आयो । धर्मनिरपेक्षता आयो । सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लागू भयो । यी जनताका उपलब्धीलाई हाम्रो नयाँ संविधानले संस्थागत गरेको छ । नयाँ संविधानमार्फत हामीले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरेका छौँ । समाजवादप्रति प्रतिबद्ध भएर शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य नै रहेको छ । समाजवादप्रतिको प्रतिबद्धता होस् र समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य होस् –हामी प्रस्थान गर्ने समाजवादमै हो ।
४. यसका लागि हामीले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागीता रहने गरी तीन खम्बे अर्थनीति लिएका छौँ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै हामीले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हो । 
भद्र महिला तथा सज्जन वृन्द
५. हाम्रा यी आकांक्षाहरु पूरा गर्ने तीनवटा मध्ये एउटा खम्बा सहकारी हो । यो मैले भनेको होइन –यो त नेपाली जनताको लामो संघर्षपछि बनेको सार्वभौम संविधानसभाद्वारा जारी नयाँ संविधानले भनेको हो । यहाँ उपस्थित सहकारी अभियान्ता साथीहरु अब तपाईंहरुले महसुस गर्नुप¥यो की –हामी देशको अर्थतन्त्र विकासका एउटा मेरुदण्ड होऔँ । हाम्रो देशमा विभिन्न प्रकृतिको सहकारीहरु छन् । यसमध्येको एउटा बचत तथा ऋण सहकारी (साकोस) हो । बचत तथा ऋण सहकारीहरु सदस्यहरुको आफ्नै बैंकको चाहनाका प्रतिरुप हुन् । यी सहकारीहरु समुदायका बैंकका रुपमा चिनिन्छन् । आफ्नै पहुँच र आफूहरुबाट निर्मित, नियन्त्रित र सञ्चालित हुने भएकाले बचत तथा ऋण सहकारीहरु सदस्यका दुःख सुखका साथी पनि हुन् । 
 
६. सहकारीले देशको अर्थतन्त्र विकासका लागि धेरै ठूलो भूमिका निर्वाह गर्दै आएका छन् । स–साना पूँजीहरुलाई एकीकृत गर्ने र लगानी गर्ने विशेषता भएको सहकारीबाट लाखौं नेपाली लाभाम्वित भएका पनि छन् । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न, समाजवादप्रतिको प्रतिबद्धता पूरा गर्न र समृद्ध राष्ट्र निर्माण गर्न सहकारी क्षेत्रको विकास गर्नुको विकल्प छैन । सहकारीप्रति जनताको विश्वास बढ्दो छ । यो विश्वासलाई टिकाइराख्न र सहकारीमार्फत जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउन राज्यले सहकारीलाई गर्दै आएको प्रोत्साहन स्रहानीय छ । यसलाई अझै बढाउन आवश्यक छ ।
भद्र महिला तथा सज्जन वृन्द
७. लाखौँ नेपालीको बचत र कारोबार रहेको बचत तथा ऋण सहकारीप्रति बढ्दो आकर्षण हुँदाहुँदै पनि यसप्रति जनताका गुनासाहरु पनि छन् । केही बचत तथा ऋण सहकारी संस्थाले गर्ने गलत कार्यले सबै बचत तथा ऋण सहकारीले आक्षेप खेप्नुपर्ने परिस्थिति उत्पन्न हुनु पक्कै पनि सुखद पक्ष होइन । बचत तथा ऋण सहकारीमा भित्रिरहेका विकृति र विसंगतिलाई नियमन र नियन्त्रणमा ढिलाइ गर्नु हुँदैन । राज्यको अर्थनीतिको एउटा खम्बा सहकारीलाई हामीले सही दिशामा अगाडि बढाउन सकेनौँ भने हाम्रो आकांक्षाहरु पूरा गर्न कठिन हुनसक्दछ ।
८. सहकारीमा भित्रिरहेका विकृति विसंगति नियन्त्रण गर्न सबैभन्दा पहिले सहकारी सञ्चालकहरु आफू मालिक हुँ भन्ने सोंचबाट मुक्त हुनुपर्दछ । किनकी सहकारी व्यापार होइन । राज्यका नियामक निकायहरुले पनि सहकारीहरुमा नियमित अनुगमन र गलत गर्नेलाई कारबाही गर्नुपर्दछ । राम्रो कार्य गर्नेलाई पुरस्कार र गलत गर्नेलाई सजाय दिनैपर्दछ । बचत तथा ऋण सहकारी सञ्चालक मित्रहरुको एउटा आवाज कर्जा सूचना केन्द्र स्थापनाको माग गरिरहनुभएको छ । विभागीय मन्त्री र सहकारी विभागका रजिष्टार यहाँ हुनुभएको अवसरमा म यो माग सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । सहकारी व्यवस्थापनमा देखिएको समस्याको समाधान र चुनौतीलाई व्यवस्थि त गर्न समेत ध्यानाकर्षण गराउन चाहन्छु ।
भद्र महिला तथा सज्जन वृन्द
९. ललितपुर जिल्ला आफैमा ऐतिहासिक जिल्ला हो । यो ऐतिहासिक जिल्लाभित्र सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुले स्रहानीय काम गरिरहेका छन् भन्नेमा म विश्वस्त छु । यस जिल्लाभित्र सञ्चालित बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले यहाँका सहकारी संस्था र सदस्यहरुको उन्नती र प्रगतिका लागि गरिरहेको कार्यको म प्रशंसा गर्दछु । 
१०. यस संघद्वारा आयोजित चौथो ललितपुर साकोस–समिट २०७८ मा राष्ट्रिय अर्थतन्त्र विकासमा सहकारीको योगदान, सहकारीका समस्या र समाधान लगायतका बारेमा गहन छलफल हुने र यसबाट निस्कने निष्कर्ष नेपाल सरकार, सम्बन्धित निकाय र सिंगो सहकारी अभियान्ताहरुका लागि सकारात्मक सन्देश हुने मैले विश्वास लिएको छु । यहाँहरु तीन दिनको बसाईंमा राष्ट्र र जनतालाई ध्यानमा राखेर गहन छलफल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । म यस अवसरमा सहकारीका माध्यामबाट राष्ट्रिय अर्थतन्त्रको विकास, रोजगारी सृजना लगायतमा सहकारी अभियान्ताले खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान व्यक्त गर्दछु ।
११. अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रम आमन्त्रण गरेर सहकारी अभियान्ताहरुसँग भलाकुसरी गर्ने अवसर दिएकोमा आयोजक संस्था ललितपुर बचत तथा ऋण सहकारी संघ लिमिटेड, यसका पदाधिकारी तथा सदस्यहरुमा धन्यवाद व्यक्त गर्दछु । सबै सहकारी र सहकारीमा आबद्ध सदस्यहरुको उत्तरोत्तर प्रगति होस्, मेरो हार्दिक शुभकामना छ ।
धन्यवाद ।
 

 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्