उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

'ग्लोबल युथ लिडरसीप समिट' को उद्घाटन कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

ग्लोबल युथ पार्लियामेन्टद्वारा मिति २०७८ मंसिर ३ गते काठमाडौंमा आयोजित ‘ग्लोबल युथ लिडसीप समिट’ को उद्घाटन कार्यक्रममा
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त
 
 
सम्बोधन भाषण
यस कार्यक्रमका अध्यक्षज्यू,
महामहिम राजदूतज्यूहरु,
आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरु,
विभिन्न मुलुकबाट प्रतिनिधिको रुपमा सहभागी युवा नेतृत्व साथीहरु,
भद्र महिला तथा सज्जन वृन्द,
यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार ।
१. ग्लोबल युथ पार्लियामेन्टद्वारा आयोजित ‘ग्लोबल युथ लिडरसीप समिट’को उद्घाटन समारोहको अवसरमा विभिन्न मुलुकबाट आउनुभएका युवा नेतृत्व र नेपाली युवा नेतृत्वहरुमाझ उपस्थित हुन पाउँदा मलाई ज्यादै खुशी लागेको छ । सर्वप्रथमतः म ‘हामी भावी पुस्ताका नेता हौँ’ भन्ने नाराका साथ सुरु भएको यो सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।
२. यो सम्मेलनमा सहभागी हुन ४२ मुलुकका युवा उद्यमी र सामाजिक अभियान्ताहरु यहाँ आइपुग्नुभएको मैले जानकारी पाएको छु । पाहुनाका रुपमा आउनुभएका युवा नेतृत्वहरुलाई गौतम बुद्ध र सगरमाथाको देश नेपालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । हामी यहाँहरुको नेपाल बसाइँ सुखद होस् भन्ने कामना गर्दछौँ । 
भद्र महिला तथा सज्जन वृन्द
३. युवा शब्दको अर्थ आफैमा वृहत् छ । नेपाली शब्द कोषअनुसार जवानीले नछाडेको र बुढ्यौलीले नछोएको व्यक्तिलाई युवा भनिन्छ । कतिवर्षको उमेर समूहकालाई युवा भन्ने त आ–आफ्नो देशको युवा सम्बन्धी नीतिअनुसार हुन्छ । नेपालको राष्ट्रिय युवा नीति अनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरु युवाको परिभाषाभित्र पर्दछन् । त्योभन्दा माथिल्लो उमेरकालाई पनि हामी युवा नै मान्दछौँ । परिभाषा जे सुकै होस् । यहाँ मैले जोड दिन खोजेको कुरा के हो भने मानव जातिलाई नयाँ आशा दिलाउने, नयाँ उत्साह पैदा गर्ने, नयाँ नयाँ खोज र आविस्कार गर्ने तथा इतिहासका हरेक परिवर्तनको नेतृत्व गर्ने युवा नै हुन् ।
४. युवाहरुको जोश, सुझबुझ र नेतृत्वबाट मात्रै इतिहासका हरेक परिवर्तन सम्भव भएका छन् । कम्युनिस्ट घोषणा पत्र लेख्दा कार्ल माक्स ३० वर्षका थिए । विश्व विजयको यात्रा सुरु गर्दा सिकन्दर मात्र २१ वर्षका थिए । नेपालको सन्दर्भमा जहाँनियाँ राणा शासन ढाल्दा होस् वा निर्दलीय पञ्चायती व्यवस्था ढाल्दा होस् । वा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेसी आन्दोलन, आदिवासी जनजातिका आन्दोलनमा किन नहोस्, युवाहरुले नै अग्रपंक्तिमा रहेर नेतृत्व गरे । २००७ सालको क्रान्ति सम्पन्न गर्दा बीपी कोइराला ३६ वर्षको हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई ३५ वर्षमा सभामुख हुनुभयो । नेपालमा जनयुद्ध सुरु गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४० वर्ष आसपास हुनुहुन्थ्यो । यहाँहरुलाई मेरै कुरा सुनाउँ –जनयुद्धमा सैन्य कमाण्डर हुँदा म ३० वर्षको थिएँ । 
५. विश्वका अन्य देशका युवाहरु अझै अगाडि हुन सक्छन् । यहाँ उपस्थित विभिन्न देशबाट प्रतिनिधित्व गर्ने युवाहरुले पनि आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएको छ । त्यहीं योगदानकै कारण आज धेरै जना साथीहरु विभिन्न अवार्डबाट सम्मानित हुनुभएको छ । म सम्मानित सबै साथीहरुलाई बधाई पनि दिन चाहन्छु । सिंगो मानव जातिको कल्याणका लागि, सभ्य तथा आदर्श समाज निर्माणका लागि यहाँहरुले आगामी दिनमा अझै उत्कृष्ट योगदान दिनुहुनेछ भन्ने विश्वास समेत लिएको छु । 
भद्र महिला तथा सज्जन वृन्द
६. भोलीको विश्व कस्तो हुनेछ ? मानव जातिका आगामी दिनहरु कस्ता हुनेछन् ? देशको विकास कसरी हुनेछ ? यी तमाम विषयका बारेमा सोंच्नुपर्ने र मानव जातिमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी युवाहरुकै काँधमा छ । जलवायु परिवर्तनको असरलाई कसरी न्यूनीकरण गर्ने ? विश्वका विभिन्न भागमा भइरहेका द्वन्द्वको व्यवस्थापन कसरी गर्ने ? भोकमरी र गरिबीले आक्रान्त मानिसहरुका लागि के गर्ने ? विज्ञान र प्रविधिको विकासलाई कसरी नयाँ उचाईमा उठाउने ? यी तमाम विषय युवाहरुकै काँधमा छ । यी सबै क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक छ । मलाई विश्वास छ –भावी पुस्ताका लागि नेतृत्व गर्छौँ भन्ने नाराका साथ सुरु यो छलफलमा यहाँहरुले यी विषयमा गहन छलफल गर्नुहुनेनैछ । र, यहाँहरुले निकाल्नुहुने निष्कर्षले विश्वभरका युवाहरुलाई नयाँ सन्देश प्रवाह गर्देछ ।
७. विश्वका युवाहरुले विविध समस्याहरु भोग्दै आएका पनि छन् । वल्र्ड इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार विश्वमा २ सय मिलियन युवा बेरोजगार छन् । श्रम शक्तिको रुपमा तयार युवाहरुले रोजगारी नपाउनु ज्यादै दुःखद कुरा हो । विशेष गरी अतिकमविकसित र विकासोन्मुख राष्ट्रका युवाहरु बेरोजगारीको समस्याबाट गुज्रिरहेका छन् । दिगा वकासका लक्ष्यमध्य १७ वटा क्षेत्रमध्ये धेरै सवाल युवासँग प्रत्यक्ष जोडिएका छन् । युवाको विकास र युवाका समस्या समाधान नगरी यी लक्ष्य हासिल गर्न कठिन हुनेछ । म यहाँ उपस्थित युवा साथीहरुलाई आह्वान गर्दछु –युवाका साझा समस्याहरुलाई साझा ढंगले समाधान गरौँ । समस्या र चुनौतीहरुको पहिचान र समाधानका लागि सहकार्य बढाऔँ । 
भद्र महिला तथा सज्जन वृन्द
८. यहाँहरु त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा अवतरण हुनुअघि पक्कै पनि हिमाल देख्नुभयो होला । पहाड र समथर भूभाग पनि देख्नुभयो होला । हो –नेपाल भौगोलिक विविधतायुक्त बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक धर्मनिरपेक्ष मुलुक हो । प्राकृतिक रुपमा सुन्दर देश नेपालका जनताले सात दशक भन्दा लामो समय राजनीतिक संघर्षमा बिताए । यो लामो समंघर्षपछि नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता परिवर्तनहरु हासिल गरेका छन् । जनताका उपलब्धीहरुलाई २०७२ मा जारी नयाँ संविधानले संस्थागत गरेको छ । 
९. अब नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहितको प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण हो । हामी यसै अभियानमा अगाडि बढिरहेका छौँ । नेपालको प्राकृतिक सौन्दर्यता हामी पर्यटकहरुलाई देखाउन चाहन्छौँ । विभिन्न धर्मावलम्बीका आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्न खोजिरहेका छौँ । देशभित्रका नदि नालाबाट विद्युत उत्पादन गरेर निर्यात गर्न खोजिरहेका छौँ । कृषिलगायतका क्षेत्रमा आत्मनिर्भर र औद्योगिक विकासमार्फत युवाहरुका लागि रोजगारी सृजना गर्न खोजिरहेका छौँ । पर्यटन, कृषि, जलविद्युत, पूर्वाधार निर्माण र औद्योगिक विकासको माध्यामबाट नेपाललाई छोटो समयमै समृद्ध राष्ट्र बनाउने हाम्रो अभियानमा यहाँहरु सबैको समर्थन हुने विश्वास लिएका छौँ । 
१०. निश्चय नै समृद्ध नेपाल निर्माणको अभियानमा नेपाली युवाहरु नै अग्रपंक्तिमा रहनुपर्नेछ । यो अभियानमा युवा सहभागीताका लागि नेपालले राष्ट्रिय युवा नीति बनाएको छ । सबै क्षेत्रमा युवा सहभागीता हाम्रो प्राथमिकता रहेको छ । 
११. अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्दछु । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई समय मिलाएर नेपालको विभिन्न भागमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यता नियाल्न आग्रह गर्दछु । 
धन्यवाद ।
 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्