उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

'श्रीभदभागवत सप्ताह ज्ञान महायज्ञ एवम् शैक्षिक महोत्सव २०७८' सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

श्री चण्डिका देवी माध्यमिक विद्यालय, चन्द्रागिरीद्वारा मिति २०७८/०८/१३ गते आयोजित 'श्रीभदभागवत सप्ताह ज्ञान महायज्ञ एवम् शैक्षिक महोत्सव २०७८'
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त
 
सम्बोधन भाषण
यो कार्यक्रमका अध्यक्षज्यू,
विश्व हिन्दु महासंघ नेपालका सभापतिज्यू र पदाधिकारीज्यूहरु,
यस नगरपालिकाका प्रमुखज्यू,
जनप्रतिनिधिज्यूहरु,
यस विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु,
विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकज्यूहरु,
कार्यक्रममा उपस्थित आमा बुवा, दीदि–बहिनी तथा दाजुभाईहरु
सञ्चारकर्मी मित्रहरु,
यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार !
१. छ दशक लामो इतिहास बोकेको श्री चण्डीका देवी माध्यमिक विद्यालयलद्वारा आयोजित 'श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् शैक्षिक महोत्सव–२०७८' मा उपस्थित भइ विद्यालयको शैक्षिक सुधारको यहाँहरुको अभियानमा समर्थन जनाउन पाउँदा खुशी लागेको छ । सर्वप्रथमत म यस विद्यालयको शैक्षिक उन्नतीका लागि यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यालय व्यवस्थापन समिति लगायत सबैलाई धन्यवाद दिन चाहन्छु । र, यो शैक्षिक महोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।
२. हाम्रो मुलुकको शैक्षिक इतिहासमा सरकारभन्दा पहिले समुदायस्तरबाट नै शिक्षाको चेतना फैलाउनुको साथै शैक्षिक जागरणको अभियान सुरु भएको पाईन्छ । यस क्षेत्रमा यहीं सामुदायिक विद्यालयले शैक्षिक जागरण सुरु गरेको तथ्य हामीमाझ छ नै । विद्वान अरस्तुले एउटा प्रसँगमा भन्नुभएको थियो, ‘शिक्षाको जरा तर्रो हुन्छ, तर यसको फल सधै मिठो हुन्छ ।' चन्द्रागिरी नगरपालिकाको यस क्षेत्रमा कठिनतापूर्वक शिक्षाको जरा गाडेर आज मिठो फल उत्पादन गरिरहेको श्री चण्डीका देवी माध्यमिक विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा पुर्‍याएको योगदानको म खुलेर प्रशंसा गर्दछु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु
३. नेपालको शैक्षिक इतिहास सात दशकभन्दा लामो रहे तापनि देशको शैक्षिक विकासले अझै अपेक्षित गति लिन भने सकेको छैन । यो सुखद प्रसँग पक्कै होइन । अझ सामुदायिक विद्यालयको पठन पाठन खस्कदै जानु झन् सुखद पक्ष हुँदै होइन । म यस अवसरमा सामुदायिक विद्यालयको पठनपाठनमा उल्लेख्य सुधार लिन सबै पक्षको ध्यानाकर्षण गराउन चाहान्छु । मलाई विश्वास छ, यस विद्यालयले प्रदान गरिरहेको गुणस्तरीय शिक्षालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउनुहुनेछ । यो शैक्षिक महोत्सवले यो विद्यालयको शैक्षिक गुणस्तरलाई उस्कास्ने मैले विश्वास लिएको छु । 
४. सामुदायिक विद्यालयको शिक्षामा अपेक्षित सुधार नआइरहँदा नीजि विद्यालयहरु फस्टाउँदै गएका छन् । आज हुनेखानेका बालबालिकाका लागि नीजि विद्यालय, महंगो शिक्षा र हुँदा खाने गरिब बालबालिकाका लागि सामुदायिक विद्यालय जस्तो भइरहेको छ । यसैले समाजमा एक खालको दरार उत्पन्न भइरहेको छ । हाम्रो शिक्षाका कारणले समाजमा वर्ग विभाजन भइरहेको छ । यो दरार हेर्दा यसले दीर्घकालमा पार्ने असर निकै नराम्रो हुनेछ भन्ने कुरामा सबै पक्षले आजैदेखि विशेष ध्यान दिन जरुरी छ । हाम्रो शिक्षाका कारण वर्ग विभाजन हुनु ज्यादै दुःखद पक्ष हो । 
५. शिक्षामा आइरहेको दरारलाई कम गर्दै सबै नेपाली बालबालिका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयहरुको गुणस्तरलाई एउटा आन्दोलनको रुपमा आमूल सुधार गर्नुपर्दछ । यसका लागि सरकार र सरोकारवाला पक्षहरु दिलो ज्यानले गम्भीरतापूर्वक लाग्न जरुरी छ । शिक्षा क्षेत्र जस्तो महत्वपूर्ण क्षेत्रमा यो विभेद हुनु ज्यादै दुःखद कुरा हो । म यस अवसरमा सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु । मलाई विश्वास छ, शिक्षा क्षेत्रमा चल्ने सुधारको अभियानको प्रभाव विद्यालयहरुमा पर्नेछ । र, सबै विद्यार्थीहरुका लागि सामुदायिक विद्यालय ठूलो शैक्षिक मन्दिर बन्नेछ । 
 
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु
६. संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ । जनताका मौलिक हक जस्तो यस्तो अति अत्यावश्यक क्षेत्रमा व्यापार मौलाउनु ज्यादै दुःखद कुरा हो । 
७. अब शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नतिर सबैको ध्यान केन्द्रित हुनुपर्दछ । शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भइरहेको नीजि क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गर्दै सेवामुलक बनाउनुपर्दछ । त्यसका साथै उच्च शिक्षालाई सहज गुणस्तरीय र पहुँच योग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजानुपर्दछ । 
८. हामी सबैलाई थाहा छ, संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । विद्यालयय शिक्षा क्षेत्रको व्यवस्थापन र अनुगमन सम्पूर्ण स्थानीय तहको जिम्मेवारीमा छ । सामुदायिक विद्यालयहरुको सुधारका लागि यो सुन्दर अवसर हो । म यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न सबै पक्षको विशेष ध्यानाकर्षण गराउन चाहान्छु । 
९. पछिल्ला दिनहरुमा सामूदायिक विद्यालयको उल्लेख्य शैक्षिक सुधार भएको खबरहरु पनि आइरहेका छन् । ग्रामिण भेगका तुलनामा राजधानी र शहर भेगका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता राम्रो छ । कतिपय स्थानमा त नीजि विद्यालयमा पढाइरहेका आफ्ना बालबालिकालाई अभिभावकलाई सामुदायिक विद्यालयमा पढाउन थालेका छन् । विशेष गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको साझा प्रयास हुने हो भने विद्यालयको गुणस्तरी सुधारमा ढिला हुँदैन । 
१०. यस विद्यालयले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाका लागि म विद्यालय व्यवस्थापन समिति शिक्षक र अभिभावकहरुलाई धन्यवाद दिन चाहन्छु । विगतका राम्रा पक्षहरुलाई उजागर गर्दै व्यवस्थापकीय क्षमता, शैक्षिक नेतृत्व र बालमैत्री विद्यालय वातावरण शिक्षण पद्धतीलाई उजागर गर्ने दिशामा यस विद्यालयले सफलता हाँसिल गरोस्, यो शैक्षिक महोत्सवको अवसरमा यहाँहरु सबैमा पुनः शुभकामना व्यक्त गर्दछु । साथै मलाई यस कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा आयोजक विद्यालय व्यवस्थापन परिवारलाई हृदयदेखि धन्यवाद दिंदै विदा चाहान्छु । 
धन्यवाद ! नमस्कार ।
 

 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्