उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८' समारोहमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

नेपाल प्रज्ञा प्रतिस्ठानद्वारा अन्तर्राष्ट्रिय मातृभाष दिवस–२०७८ को अवसरमा मिति २०७८/११/०९ गते आयोजित 'मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७८' समारोहमा
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त
सम्बोधन भाषण
मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७८ समारोहका अध्यक्ष अध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीज्यू, 
विशिष्ट अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यू,
अतिथिज्यूहरु,
प्राज्ञपरिषद्का सदस्यज्यूहरु, प्राज्ञसभाका सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरु,
उपस्थित सम्पूर्ण विद्वान्–विदुषी, कवि, लेखक, कलाकारज्यूहरू, 
पत्रकार मित्रहरू, यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार !
१. अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ को अवसरमा नेपाल प्रज्ञा प्रस्ठिानद्वारा आयोजित 'मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७८' को समुद्घाटन समारोहमा उपस्थित हुन र विद्वान्–विदुषी, कवि, लेखक, कलाकारज्यूहरूसँग भेटघाट गर्न पाउँदा ज्यादै हर्षित छु । आज विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैछ । यस दिवसको अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । साथै, यस अवसरमा आयोजित ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’को भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।
भद्र महिला तथा सज्जन वृन्द,
२. भाषाको महत्व कति छ भन्ने कुरामा त यहाँहरु नै विज्ञ हुनुहुन्छ । हरेक राष्ट्रको मौलिक पहिचान हुन्छ । हरेक समुदायको मौलिक पहिचान हुन्छ । त्यो पहिचान –भाषा र संस्कृतिमा निहित हुन्छ । भाषा यति शक्तिशाली छ की, जसले कुनै पनि राष्ट्र र भाषिक समुदायको सम्पदाहरूको संरक्षण र विकास गर्दछ । हजारौँ वर्षदेखिका मूर्त र अमूर्त सम्पदाहरूको ऐतिहासिक अभिलेखन भाषाकै माध्यमबाट हुँदै आएको छ । र प्रत्येक नयाँ पुस्तामा  हस्तान्तरण हुन्छ । 
३. हरेक राष्ट्रको समृद्धिको सूचकहरु अवश्य हुन्छन् । भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा व्यापक सुधार, आर्थिक उन्नती, वस्तुमा आत्मनिर्भरता आदिलाई समृद्धिका केहीं सूचक मान्न सकिएला । तर, जब त्यो देशभित्र भाषिक विविधता, सांस्कृतिक विविधता हुँदैन । त्यसको संरक्षण र विकास हुँदैन । त्यहाँ अवश्य पनि अपुरो हुन्छ । म त भन्छु –आजको विश्वमा जोसँग धेरै भाषा छ, मौलिक संस्कृति छ, ऊ नै धनी हो । हामी गर्वका साथ भन्न सक्छौँ –भाषा, संस्कृतिमा संसार कै धनीमा पर्छौँ । यसै महोत्सवलाई हेर्दा हुन्छ –जहाँ ४२ वटा भाषाका कविता वाचन हुन गइरहेको छ । यो हाम्रो गौरवमात्रै होइन विश्वसामु नेपालको चिनारी र मूल पहिचान पनि हो ।
भद्र महिला तथा सज्जन वृन्द
४. हामी भाषामा समृद्ध छौँ, हाम्रो देशभित्र बोलिने मातृभाषाहरु हाम्रो राष्ट्रका चिनारी हुन् भनेर गौरव गरिरहँदा मातृभाषाहरु लोप हुँदै गइरहेका तथ्यलाई भने विर्सनु हुँदैन । मैले अघिल्लो वर्षको यसै कार्यक्रममा पनि भनेको थिएँ की विभिन्न जाति, जनजाति समुदायमा मातृभाषा बोल्नेको संख्यामा कमी आइरहेको छ । दशकअघि मातृभाषामा संवाद हुने परिवारमा आज मातृभाषामा संवाद हुन छाडेको । अभिभावकले मातृभाषामामात्रै नभइ नेपाली भाषामा पनि बालबालिकासँग संवाद गर्न छाडेर अंग्रेजी भाषालाई माध्यम भाषा बनाउन थालेका छन् । एउटा जबरजस्त भाष्य के निर्माण हुँदै गएको छ भने अंग्रेजी भाषामा बोल्दा र पढ्दा मात्रै बालबालिकाको शिक्षा राम्रो हुन्छ । ज्ञान प्राप्त गर्छन् ।
५. तर, यी तमाम कार्यले अन्ततः हाम्रो मातृभाषा लोप हुनेछन् । कुनै दिन नेपाली भाषामै संकट उत्पन्न हुनेछ । जब हाम्रो मातृभाषा लोप हुन्छ, हाम्रो राष्ट्रको मूल भाषा लोप हुन्छ । हाम्रो मौलिक संस्कृति लोप हुन्छ, हाम्रो पहिचान नै संकटमा पर्ने निश्चित छ । हाम्रो राष्ट्रको गौरवका लागि । विश्वमा हाम्रो चिनारीका लागि । हाम्रा भावि सन्ततीका लागि । हामीले हाम्रो मातृभाषाहरुको संरक्षण गर्नै पर्दछ । 
६. मातृभाषा संरक्षणको प्रमुख दायित्व राज्यकै हो । हाम्रो संविधानले नै मातृभाषा संरक्षणको व्यवस्था गरेको छ । भर्खरै राष्ट्रिय जनगणना सकिएर प्रारम्भिक तथ्याङ्क आएको छ । विस्तृत् तथ्याङ्क आइसकेपछि हाम्रो देशभित्र बोलिने भाषाको तथ्याङ्क आउला । त्यसको आधारमा राज्यले नीति पनि बनाउँला । तर, भातृभाषाको संरक्षणको लागि प्रभावकारी र अनिवार्य गर्नुपर्ने काम भनेको विद्यालयहरुमा मातृभाषामा पठनपाठनको व्यवस्था गर्नु हो । स्थानीय सरकारहरुले यसमा प्रभावकारी भूमिका खेल्नुपर्दछ । कतिपय स्थानीय सरकारहरुले सो क्षेत्रमा बोलिने मातृभाषामा पाठ्यक्रम बनाएर लागू गरेका पनि छन् । 
७. मातृभाषा संरक्षणको अर्को सशक्त माध्यम साहित्यिक सिर्जना नै हो । हामीले नेपाल प्रज्ञा प्रतिस्ठानले हरेक वर्ष गर्ने मातृभाषा कविता महोत्सवलाई हेर्दा पनि हुन्छ यसबाट मातृभाषाको संरक्षण भइरहेको छ । यहाँ ४२ वटा भाषामा ४६ जना कविले आफ्नो कविता प्रस्तुत् गर्दै हुनुहुन्छ । मातृभाषि कविज्यूहरुलाई लाग्न सक्छ –म आफ्नो भाषामा सामान्य एउटा कविता वाचन गर्दैछु । तपाईंहरुका कविताले कुनै न कुनै सन्देश अवश्य बोकेका होलान् । त्यत्तिमात्रै होइन, मातृभाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछन् । म मातृभाषा संरक्षणमा खेलेको यो महत्वपूर्ण भूमिकाका लागि नेपाल प्रज्ञा प्रतिस्ठानप्रति धन्यवाद व्यक्त गर्दछु र कविज्यूहरुलाई पनि । मेरो आग्रह छ प्रज्ञा प्रतिस्ठान लगायतका प्राज्ञिक प्रतिस्ठानले साहित्यका अन्य विधामा पनि यस्तै कार्यक्रम गरेर मातृभाषा संरक्षणमा अझै योगदान पु¥याउन् ।
८. भाषा संरक्षणका लागि तेस्रो कुरा हामीले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनैपर्छ । यसबाट एकातिर सम्बन्धित भाषिक समुदायलाई सरकारी सेवा लिन सहज हुन्छ । अहिले कतिपय स्थानीय सरकारहरुले यसको राम्रो अभ्यास पनि गरिरहेका छन् । भाषा आयोगले केहीं समय अगाडि कुन÷कुन प्रदेशमा कुन-कुन मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने भनेर सिफारिस गरिसकेको छ । यद्यपी त्यसमा कतिपय भाषिक समुदायको गुनासो पनि सुनिएका छन् । ती गुनासालाई पनि सकेसम्म सम्बोधन गर्दै त्यसरी भएको सिफारिस कार्यान्वयनमा ढिलाई नगर्न म सम्बन्धित सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु । 
९. भाषाकै कुरा गर्दा हामीले प्रविधिको उच्चतम प्रयोगबाट पनि यसको प्रयोग र संरक्षण गर्न सक्छौँ । अहिले प्रविधिको माध्यमबाट नेपाली भाषालाई अन्य कुनै पनि भाषामा रुपान्तरण गर्न सक्छौँ । अन्य भाषालाई नेपालीमा रुपान्तरण गर्न सक्छौँ । यसरी नै हाम्रो देशमा बोलिने सबै खाले भाषाहरुलाई नेपाली, अंग्रेजी र अन्य भाषामा रुपान्तरण गर्ने कार्य किन गर्न सक्दैनौँ । हामी यो अवश्य सक्छौँ । मेरो आग्रह छ यसमा ढिलाई नगरौँ । यसको पहल राज्यले नै गर्नुपर्दछ । यसबाट भाषाको संरक्षण हुनुको साथै अन्य भाषिक समुदायसँग संवादमा पनि सहजता आउँछ । नेपाल आउने पर्यटकहरुलाई पनि संवादका लागि सहज हुन्छ ।
भद्र महिला तथा सज्जन वृन्द
१०. सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । सार्वभौम संविधानसभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । संविधान बमोजिम आगामी वर्ष प्रदेश र संघको निर्वाचन हुनेछ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय सरकारहरुले के कति काम गरे ? प्रदेश सरकारले के कति काम गरे ? यो समिक्षाको विषय जरुर हो । एउटा सत्य कुरा के हो भने अब हाम्रो संघीय शासन व्यवस्था संस्थागत भएको छ । अब हुने निर्वाचनहरुले यसलाई अझै बलियो बनाउने छन् । 
११. स्थानीय तहको निर्वाचनमा राष्ट्रिय सहमति नै देखिन्छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न हुने र सबै स्थानीय तहले नयाँ निर्वाचित जनप्रतिनिधि पाउनेमा म विश्वस्त छु । यसका साथ साथै अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा छलफल र मतभिन्नता प्रकट भइरहेका छन् । दूरगामी महत्वका राख्ने राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ । यसमा हामीले विगतबाट पनि पाठ सिक्न जरुरी छ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । मलाई विश्वास छ यो हुनेछ ।
 
१२. अन्त्यमा मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा नेपाल प्रज्ञा प्रतिस्ठानका माननीय कुलपतिज्यू, प्रतिस्ठान परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा यहाँहरु सबैमा पुनः शुभकामना ।
धन्यवाद ।
 

 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्