उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

'२४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस' कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

आइडिया नेपालद्वारा २०७८/११/२७ गते आयोजित '२४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस' कार्यक्रममा
सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त
सम्बोधन भाषण
यो महत्वपूर्ण कार्यक्रमका अध्यक्ष तथा आइडिया नेपालका अध्यक्षज्यू,
कार्यक्रमका अतिथिज्यूहरु,
विभिन्न मुलुकबाट आउनुभएका प्रतिनिधि मित्रहरु,
अभिनन्दित व्यक्तित्वहरु,
आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरु,
सञ्चारकर्मी मित्रहरु,
यहाँ उपस्थित भद्र महिला तथा सज्जनवृन्द 
यहाँहरु सबैमा मेरो हार्दिक नमस्कार ।
१. २४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा दि लेप्रोसी मिशन नेपाल र आइडिया नेपालद्वारा संयुक्त रुपमा आयोजित यो विशेष कार्यक्रममा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुशी लागेको छ । सर्वप्रथमतः म २४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा आइडिया नेपालका पदाधिकारी तथा सदस्यहरु, यो कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा आयोजित सम्पूर्ण कार्यक्रमहरुको सफलताको शुभकामना व्यक्त गर्दछु । 
२. आज विश्वभर यो दिवस मनाइँदैछ । आजको दिन विश्वभरका कुष्ठरोग प्रभावित व्यक्तिहरुले जीवनमा नवीन उर्जा र आत्मविश्वासका साथ पुनरागमन गरी आफ्नो हक, हित, अधिार, सम्मान र सह–अस्तित्वका लागि आफैले आवाज उठाएको दिन हो । यस अवसरमा म नेपालमा कृष्ठरोगबाट प्रभावित भइ आत्मसम्मान र आदरका साथ आफ्नो जीवनलाई नयाँ उचाईँ दिइरहनुभएकाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।  यस दिवसले कुष्ठरोगका बारेमा समाजमा व्याप्त नकारात्मक सोंच र दृष्टिकोणलाई परिवर्तन गरी नयाँ जनचेतना फैलाउने मेरो विश्वास छ ।
आदरणीय महानुभावहरु,
३. मानिसलाई कुनै पनि रोग लाग्न सक्छ । कुनै निको हुन्छ । कुनै निको नहुन पनि सक्छ । कुष्ठ रोग निको हुने रोग हो । तर, हाम्रो समाजमा विगतमा कुष्ठ रोगका बारेमा नकारात्मक सोंच थियो । त्यो सोंचमा आज धेरै परिवर्तन आइसकेको छ । यो हाम्रो लागि खुशीको कुरा हो । कृष्ठ रोगबाट प्रभावितहरुले रोगसँग लड्दाको कष्ट र त्यसबखत समाजले राख्ने दृष्टिकोणको बारेमा गहिरो अनुभव गर्नुभएको छ । कुष्ठरोग प्रभावितहरुलाई विगतमा समाजले गर्ने व्यवहार, त्यो व्यवहारले कुष्ठरोग प्रभावितहरुको जीवनमा पारेको नकारात्मक प्रभावको बारेमा म महसुस गर्न सक्छु । 
४. मैले बाल्यकालमा हाम्रो गाउँमा कुष्ठ रोगलाई 'कोहर लागेको' गरिन्थ्यो । त्यसबेला कुष्ठ रोग लागको भनेपछि गाउँ, समाजबाट छुट्याएर टाढाका ओडारमा राखिन्थ्यो । छाप्रो बनाएर राखिन्थ्यो । कुष्ठरोग पीडितलाई 'कोहोरी' भन्थे । र, त्यो पूर्वजुनीको पाप हो भनेर मानिसहरु चर्चा गर्थे । आफन्त र समाजले उनीहरुको उपचार गर्दैन थिए । मलाई अहिले पनि याद छ –मेरो गाउँमा दुईजना कुष्ठरोग पीडितलाई ओडारमा राखियो । उनीहरुले उपचार पाएनन् । र, मृत्यु भयो । म केवल कल्पना गर्न सक्छु –एकातिर उपचारको अभाव, एकान्तको बास र अर्कोतिर समाजबाट 'पूर्वजुनीको पाप' भनेको सुन्नुपर्ने । त्यसबखत कस्तो सोंच्थे होला ती कुष्ठरोग पीडित ? 
५. मेरै गाउँका अर्का एकजना भने समाजबाट छुट्याउने अवस्था आएपछि उपचार हुन्छ भन्ने सुनेर काठमाडौं आएछन् । नियमितको औषधी सेवनपछि निको भए । र, गाउँ फर्किए । हो त्यसयताका दिनमा धेरै परिवर्तन आएको छ । कुष्ठ रोग पूर्वजुनीको पाप हो र उपचार हुन्न भन्ने अन्धविश्वास हटेको छ । कुष्ठ रोग सामान्य प्रकारको रोग हो र यसको उपचार हुन्छ भन्ने चेतनाको विकास भएको छ । फलस्वरुप कुनै बेला अन्धविश्वासले गाँजेर विकराल रुप लिइरहेको कुष्ठरोग आज निवारण भइरहेको छ । यसका लागि कुष्ठरोग निवारण संघ, आइडिया नेपालजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका छ । म यहाँहरुप्रति धन्यवाद ज्ञापन गर्दछु ।
६. कुनै पनि रोगबाट निको भएकाहरुलाई आदर र सम्मानको आवश्यकता छ । मानिस कुनै पनि रोगबाट पीडित हुँदा स्वभावैले उसको मनोबल कमजोर हुन्छ । निको भए तापनि कहीं नै कहीं कम्जोर महसुस गर्दछ । यसबेलामा समाजले ती विरामीप्रति गर्ने आदर, सहयोग र सद्भावले उसको मनोबल उच्च हुन्छ । त्यसबाट उसले रोगलाई पनि सजिलै परास्त गर्दछ भने अर्कोतर्फ उ निको भइसकेपछि पुनः पुरानै लयमा फर्कन सहयोग पु¥याउँछ । म आजको यस दिवसको अवसरमा कुष्ठरोग प्रभावित सबै व्यक्तिहरुप्रति सम्मान भाव व्यक्त गर्न र सहयोग गर्न सबै नेपाली दिदी बहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्दछु ।
भद्र महिला तथा सज्जन वृन्द
७. हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरेको छ । तर, आजका दिनसम्म पनि हाम्रा कतिपय नागरिक औषधि उपचार नपाएर अकाल मृत्युवरण गरिरहेका छन् । २१ औं शताब्दीको आजको समाजमा उपचारको अभाव, औषधि किन्न नसकेर नागरिकले मृत्युवरण गर्नु ज्यादै दुःख र लज्जाको कुरा हो । 
 
८. हामीले विभिन्न कालखण्डमा विभिन्न प्रकारका रोगहरुको सामना गर्दै आएका छौँ । हामीले धेरै प्रकारको रोग मुलुकबाट निवारण भएको सार्वजनिक घोषणा समेत गरेका छौँ । तर, ती रोगहरु पूर्ण रुपमा निवारण नभएको तथ्यहरुले बताउँछन् । कुष्ठ रोग त्यस्तै एउटा रोग बनेको छ । नेपालबाट कुष्ठ रोग निवारण भएको घोषणा गरिए पनि पछिल्ला दिनमा यस रोगबाट पीडित हुनेहरुको संख्यामा वृद्धि भइरहेको सुनिन्छ । यो रोग निवारण नहुनुको प्रमुख कारण जनचेतनाको अभाव, अशिक्षा, अन्धविश्वास र कुरिती नै हो । कुष्ठरोगको निवारण गर्न हामीले सबैभन्दा पहिलो अन्धविश्वास र कुरिती निवारण गर्नुपर्दछ । यसका लागि जनचेतना आवश्यक छ । सकारात्मक सोंचको आवश्यक छ । २४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसले कुष्ठरोग निवारणका लागि सकारात्मक सोंच प्रदान गरोस् । कुष्ठरोग प्रभावितहरुको सम्मानका लागि सकारात्मक सोंच प्रदान गरोस् । मेरो हार्दिक शुभकामना छ । 
९. अन्तमा, मलाई यो कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा आयोजक मित्रहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । 
धन्यवाद ।
 

 

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्