उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

लोकसेवा आयोगद्वारा आयोगको ६७ औं वार्षिकोत्सवको अवसरमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट सम्बोधन भाषण

लोकसेवा आयोगद्वारा आयोगको ६७ औं वार्षिकोत्सवको अवसरमा मिति २०७४ असार १ गते आयोजित '६७ औं वार्षिकोत्सव समारोहमा'

सम्माननीय कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त

सम्बोधन भाषण

यो भव्य समारोहका अध्यक्ष लोकसेवा आयोगका अध्यक्षज्यू,

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू,

लोक सेवा आयोगका सदस्यज्यूहरु,

उच्च पदस्थ राष्ट्रसेवक मित्रहरु,

लोक सेवा आयोगमा कार्यरत कर्मचारी मित्रहरु,

पत्रकार साथीहरु,

उपस्थित भद्र महिला तथा सज्जन वृन्द !

लोकसेवा आयोगको ६७ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित यो भव्य समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुशी लागेको छ । सर्वप्रथम त म लोकसेवा आयोगको ६७ औं वार्षिकोत्सवको अवसरमा लोक सेवा आयोगका अध्यक्ष, आयोगका सदस्यहरु, आयोगमा कार्यरत कर्मचारीहरु, आयोय सम्बद्ध महानुभावहरु र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

आयोगको प्रतिष्ठा उच्च राख्न उत्कृष्ट कार्य सम्पादन गरी आज पुरस्कृत हुहुहुने उत्कृष्ट कर्मचारीहरुलाई हार्दिक बधाई दिन चाहान्छु । यो पुरस्कारले पुरस्कृत कर्मचारीहरुलाई उच्च मनोबलका साथ कर्तव्य पालन गर्ने उत्साह त थप्ने नै छ, साथै अन्य कर्मचारीहरुलाई पनि उत्साहित गर्ने मैले विश्वास लिएको छु । आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्ने आयोगको यो स्रहानीय कार्यको म प्रशंसा गर्दछु ।

भद्र महिला तथा सज्जन वृन्द !

हाम्रो धेरै निकाय, त्यसमा पनि संवैधानिक निकायका निष्पक्षतामाथि बेलाबेलामा गुनासा र प्रश्न उठ्ने गरेका छन् । तर, लोक सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेको सुन्नमा आएको छैन । आयोगले अवलम्वन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा 'प्रतिस्पर्धात्मक परीक्षा पद्दतिको माध्यमबाट योग्यतम व्यक्तिहरुको छनौट हुन्छ' भन्ने विश्वास सहित नेपाली नागरिकलाई पुर्याएको योगदानको म यस अवसरमा मुक्त कण्ठले प्रशंसा गर्दछु ।

लोक सेवा आयोगले संविधानले प्रदान गरेको आफ्नो काम, कर्तव्य र अधिकारको अधिनमा रही योग्यताको आधारमा निजामती सेवामा प्रवेशको ढोका खोलिदिंदा एकातिर राष्ट्रलाई आवश्यक पर्ने सक्षम राष्ट्रसेवक कर्मचारीको उत्पादन भईरहेको छ भने अर्कोतर्फ सक्षम उम्मेदवारहरुको भविष्य सुरक्षित भइरहेको छ । यसैकारणले पनि लोकसेवा आयोगमार्फत सेवामा प्रवेश गर्न चाहानेहरुको संख्या दिनप्रतिदिन बढ्दै आएको छ । निजामती सेवाका विभिन्न पदहरुमा नियुक्तिका लागि सिफारिस, बढुवा, विभागीय कार्वाही, परामर्श जस्ता कानून प्रदत्त दायित्वको निर्वाहमा आयोगले सम्पादन गरेको पारदर्शिता, निष्पक्षताले नेपाली नगारिकको विश्वास जित्न सफल भएकोमा कुनै दुईमत छैन ।

भद्र महिला तथा सज्जन वृन्द

लोक सेवा आयोगले आफ्नो क्षेत्रलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता मैले देखेको छु । विगतको तुलनामा आयोगले आफ्नो क्षेत्र विस्तार गरेको छ । मैले सुनेको छु, लोक सेवा कार्यालयको क्षेत्र कर्णालीको जुम्लामा विस्तार भएपछि जुम्ला र कर्णालीका नागरिकको निजामती सेवामा पहुँच बढेर गएको छ । जुम्लाको नागरिक काठमाडौं आएर लोकसेवाको परिक्षा दिनुभन्दा जुम्लामै परिक्षा दिंदा उसले आफ्नो क्षमताअनुसारको परिणाम निकाल्न सक्छ ।

नयाँ संविधानअनुसार प्रादेशिक लोक सेवा आयोगको माध्यामबाट यसको क्षेत्र विस्तार त हुने नै छ, तर पनि म यहाँ जोड दिएर भन्न चाहान्छु की सरकार र लोकसेवा आयोग दुवैले सोंचोस्, दुर्गम, विपन्न परिवारका नागरिकलाई लोकसेवा आयोगमार्फत सेवा प्रवेश गर्न सहज पहुँच राख्ने वातावरण बनोस् । उत्पीडित, उपेक्षित, गरिव, विपन्न वर्गका नागरिकले लोक सेवा आयोगमार्फत हुने सेवा प्रवेशमा सहज पहुँच राखे भने आयोगप्रतिको जनविश्वास अझै बढेर जाने मैले विश्वास लिएको छु ।

हाम्रो प्रशासनयन्त्रप्रति थुप्रै जनगुनासाहरु छन् । जनताका यथार्थ गुनासाहरुलाई हामीले स्वीकार गर्नैपर्छ । र, जनताबाट आउने गुनासाहरुलाई कम गर्दै लैजान प्रशासनयन्त्रले व्यवाहारबाट जवाफ दिनुपर्छ । समग्र प्रशासनयन्त्रको गुणस्तर, अनुशासन र नैतिकता वृद्दि गरी देशको सार्वजनिक प्रशासनलाई थप उत्तरदायी र जावाफदेही बनाउँदै नेपाली नागरिकको इच्छा, आकाँक्षा अनुरुप सेवा दिनसक्ने बनाउनु लोकसेवा आयोगका लागि चुनौतीको रुपमा रहेको मलाई लागेको छ ।

वर्तमान अवस्थामा सार्वजनिक प्रशासनलाई समाजका योग्य, सक्षम, प्रतिभावान व्यक्तित्वहरुको आकर्षणको केन्द्र बनाई राख्न सबैले ध्यान दिन जरुरी छ । लोक सेवा आयोगको भूमिका यसैमा केन्द्रित हुन जरुरी छ । लोकसेवा आयोग आउँदा दिनहरुमा योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्ने दिशामा गुणात्मक प्रगति गर्न सफल रहोस् । साथै भविष्यमा स्थापना हुने प्रादेशिक लोक सेवा आयोगहरुको लागि मार्गदर्शक बन्न सकोस् भन्ने मेरो कामना छ ।

अन्त्यमा, लोक सेवा आयोगको गरिमा र यसप्रति स्थापित जनविश्वासका लागि आयोगका पदाधिकारी र आयोगमा कार्यरत कर्मचारी, विज्ञहरुलाई धन्यवाद दिन चाहान्छु । आयोगको गरिमा र आयोगप्रति जनताको विश्वास अझै बढेर जाओस्, आयोगको ६७ औं वार्षिकोत्सवको अवसरमा यहाँहरु सबैमा पुनः शुभकामना । र, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा लोकसेवा आयोगप्रति हार्दिक धन्यवाद ।

धन्यवाद ।

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्