सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले 'क्रिसमस डे' २०२४ को अवसरमा दिनुभएको शुभकामना सन्देश
क्रिसमस डे, २०२४ को शुभकामना सन्देश
'क्रिसमस डे', २०२४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलयमय शुभकामना व्यक्त गर्दछु ।
क्रिश्चियन धर्मका प्रवर्तक इसा मसीहको जन्म भएको दिनका रुपमा हरेक वर्षको डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी/धर्मावलम्बीहरुले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रही आएको छ । शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यस अवसरमा इसाई धर्मावलम्बीहरुले आ–आफ्नो घरलाई झिलीमिली बत्ती, गुवारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ । यो पर्वले साथीभाइ, परिवार र आफन्तहरुबीच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी रमाइलो गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
यसले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्दछ । हाम्रा पर्व÷त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिहरुका लागि उत्तिकै महत्वपूर्ण छन् । क्रिसमसका अवसरमा उपहार किनमेल, सजावटका सामग्री र खाद्य वस्तुहरुको व्यापारमा वृद्धि हुँदा अर्थ चलायमान भई मुलुकलाई आर्थिक रुपमा फाइदा पुग्ने गर्दछ । होटल, रेस्टुरेन्ट र मनोरञ्जन स्थलहरुमा विशेष कार्यक्रमहरुको आयोजना हुनुले पर्यटन प्रवर्धनमा टेवा पुग्दछ ।
क्रिसमसले धर्म, आस्था र धार्मिकताको प्रतीकात्मकतालाई कायम राख्न पनि मद्दत गर्दछ । राष्ट्रिय स्तरमा बिदा दिएर मनाइने क्रिसमसले सिंगो राष्ट्रलाई धार्मिक, सांस्कृतिक र सामाजिक विविधतालाई सम्मान गर्न प्रेरित गरेको छ । यसले हामी सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरुमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्दछ । क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, वन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद आदिको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पलाई अंगिकार गरेको छ । यस अर्थमा 'क्रिसमस डे' सहित हाम्रा अन्य पर्वहरुको महत्व र उपादेयता झनै बढी रहेको पुष्टि हुन्छ ।
पछिल्लो समय 'क्रिसमस डे' अन्य धर्मावलम्बीहरुले पनि धुमधामका साथ मनाउन थालेका छन् । यो सकारात्मक त छँदैछ यसले सर्व–धर्म र सर्व–सम्प्रदायको आस्था, परम्परा र मान्यताहरुलाई सम्मान गर्दै हाम्रो मौलिक पहिचानलाई जीवन्त बनाई राख्न सहयोग पुगेको विश्वास लिएको छु ।
अन्त्यमा, मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशिल हुनका लागि 'क्रिसमस डे' ले हामी सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने हार्दिक शुभकामना पुनः व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ पुस १० गते बुधबार ।
ने.सं.११४५ थिंल्लागा, दशमी ।
Download / View