सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले तमु ल्होसार र तोल ल्होसारको अवसरमा दिनुभएको शुभकामना सन्देश
तमु ल्होसार र तोल ल्होसारको शुभकामना सन्देश
नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार/ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले बनाउने महान पर्व तोल ल्होसार÷ल्होछारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
गुरुङ समुदायले तमु ल्होसारका दिन पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षको अत्यन्तै धुमधामका साथ स्वागत गर्ने परम्परा रही आएको छ । यो सांस्कृतिक पर्वले गुरुङ समुदायको इतिहास, परम्परा, संस्कृति र पहिचानलाई जीवन्त बनाई राख्न टेवा पुग्दछ । यस अवसरमा परिवार तथा आफन्तजनहरु एकत्रित भई सामूहिक रुपमा रमाइलो गर्ने भएकाले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप, मैत्रीभाव र अपनत्वभाव अभिवृद्धि गर्नमा पनि मद्दत पुग्दछ । कृषि चक्र (ल्हो) संग सम्बन्धित ल्होसार सूर्यको किरणसंग पनि सम्बन्धित रहेको मान्यता रही आएको छ । यो दिनपछि दिनहरु लामो हुँदै जाने र कृषिकर्मका लागि अनुकूल वातावरण निर्माण हुने जनविश्वास छ ।
तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु । यस अवसरमा गुरुङ समुदायमा भोजभतेर गर्ने, रैथाने र परम्परागत परिकारहरु बनाउने, विभिन्न मौलिक नाचगानको आयोजना गर्ने, रोधीघरमा युवायुवती तथा किशोरकिशोरीहरुले दोहोरी खेल्ने लगायतका महत्वपूर्ण गतिविधिहरुले समुदायको सास्कृतिक पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुग्दछ ।
तमु ल्होसारको विभिन्न विशेषताहरुमा तमु संवत्को शुभारम्भ, विभिन्न जीवजन्तुको नामले बाह्र वर्षे चक्रको विभाजन आदिले गुरुङ समुदायको मौलिक परम्परालाई जगेर्ना गर्नु पनि हो । यो पर्वले गुरुङ समुदायको रीतिरिवाज र जीवनशैलीलाई प्रतिबिम्बित गर्न पनि सघाउँदछ । पुराना वर्षका गल्तीहरु त्याग्दै नयाँ वर्षलाई खुशी, उमंग र उत्साहका साथ स्वागत गर्ने अवसर प्रदान गर्ने भएकाले यसको उपयोग हामीले सकारात्मकताका लागि गर्न सक्नु पर्दछ ।
यसैगरी, यस वर्ष पुस १६ गते (पुस शुक्ल प्रतिपदाको दिन) नेपालको हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पा लगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् । तोल ल्होसारको दिन बिहानै घरमुली पवित्र भएर घर–आँगन लिपपोत गरी शुद्ध पारिन्छ । यसले वातावरणलाई स्वच्छ मनाउन सघाउँ पुग्दछ । यो पर्व आफूभन्दा मान्यजनसंग आशीर्वाद लिने, मीठामीठा परिकारहरु फुरौला, बाबरी रोटी, कन्दमूल खाने र शुभकामना आदानपदान गरी मनाइन्छ । यसले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।
हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पर्वहरुलाई पर्यटनसंग जोडेर प्रवद्र्धन गर्ने प्रयास गदै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ। यी अवसरहरुमा गरिने विभिन्न सांस्कृतिक कार्यक्रमहरुले स्थानीय स्तरमा आर्थिक गतिविधिमा सहयोग वृद्धि गर्न सघाउ पनि पुग्दछ । ल्होसारले युवा पुस्तामा आफ्नो संस्कृतिप्रतिको चासो बढाउँदै उनीहरुमा मौलिक संस्कृतिको रुपान्तरण र जागरणमा टेवा पुग्दछ ।
नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानूनी राज्यलाई अंगीकार गरेको छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ । आपसी रीस, राग, वैमनस्यता, उच्छृंखलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुशी र उल्लास साटासाट गर्न तमु ल्होसार र तोल ल्होसार पर्वले सबैलाई उत्प्रेरित गर्न सकोस ।
अन्त्यमा, तमु ल्होसार र तोल ल्होसारले समुदाय, समाज र देशमा सामाजिक एकता, शान्ति, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धि र उन्नयनतर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ पुस १५ गते सोमबार ।
ने.सं. ११४५ सिल्लाथ्य, औंसी ।
Download / View