सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले राष्ट्रिय एकता दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
राष्ट्रिय एकता दिवस, २०८१ को शुभकामना सन्देश
राष्ट्रिय एकता दिवस, २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्तीका रुपमा पनि मनाइन्छ । यो दिवस नेपालको विविधतामा एकतालाई बलियो बनाउन र मुलुकको एकीकरणमा योगदान पुर्याउनेहरुलाई सम्झिने अवसर पनि हो । सिंगो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबूत बनाउन यो दिवसले एउटा मंच प्रदान गर्दछ । नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरुको बीचमा एकताको उत्सव मनाउने यो महत्वपूर्ण अवसर हो ।
राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरुले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्न सबैलाई उत्प्रेरित गर्न सक्नु पर्दछ । यो दिवसले युवाहरुलाई आफ्नो मातृभूमि र देशप्रति समर्पण एवं सेवाको भावना विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सके मात्र यसको सार्थकता पुष्टि हुन सक्दछ । नेपालको इतिहास, संस्कृति र वैभवशाली सम्पदाप्रति गौरवको भावनालाई बढावा लिने सुन्दर अवसरका रुपमा यसको उपयोग गर्नु पर्दछ ।
राष्ट्रिय एकता दिवसले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै सामाजिक सद्भाव र समाजमा समरसता तथा भाइचारा अभिवृद्धि गराउनमा महत्वपूर्ण उत्प्रेरक बन्न सकोस् । मुलुक एकजुटताका साथ अघि बढ्न सके सबै क्षेत्रले द्रुत विकासको गति लिन सक्दछ । एकताको सूत्रमा बाँधिएको मुलुक आर्थिक रुपमा थप सुदृढ र बलियो बन्न सक्दछ । आपसी वैमनस्यता, द्वन्द्व र कलुषित भावनाहरु त्याग्दै आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक उन्नयनका लागि सामूहिक रुपमा काम गर्ने सन्देश पनि यो दिवसले सञ्चार गर्दछ । यो दिवसले मुलुकको सबै भूगोल एवं क्षेत्रमा समान विकासको पृष्ठपोषण गर्दै देशको गरीबी र बेरोजगारी जस्तो समस्याविरुद्ध लड्न एकजूट भई अघि बढ्न आह्वान पनि गर्दछ ।
राष्ट्रिय एकता दिवसलाई नेपालको समृद्ध सांस्कृतिक विरासतको संरक्षण गर्न सबैलाई दृढ संकल्पका साथ अघि बढ्न प्रोत्साहित गर्न सकोस् । यो दिवसले ‘हामी सबै नेपाली एक हौ’ र एकजुट भई मुलुकको समृद्धि र विकासमा समान रुपमा योगदान दिनुपर्ने तथ्यलाई अंगिकार गर्न स्मरण गराउँदछ । यो महत्वपूर्ण दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न सदैव अभिप्रेरित गर्न सकोस् ।
अन्त्यमा, राष्ट्रिय एकता दिवस, २०८१ ले हाम्रो विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारको जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वासका साथ सम्पूर्ण नेपालीमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ पुस २७ गते शनिबार ।
ने.सं. ११४५ पोहेलाथ्व, द्वादशी ।
Download / View