सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले माघी पर्व (माघे संक्रान्ति) २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
माघी पर्व (माघे संक्रान्ति) २०८१ को शुभकामना सन्देश
माघी पर्व (माघे संक्रान्ति),२०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालमा हरेक वर्षको माघ १ गते क्षेत्र, भूगोल र समुदाय विशेष अनुसार विभिन्न प्रचलित नामबाट माघे संक्रान्ति पर्व बडो हर्षोल्लास, उमङ्ग, उत्साह र धुमधामका साथ मनाउने परम्परा रही आएको छ । थारु समुदायले यो संक्रान्तिलाई माघी पर्व (नव वर्षको शुभारम्भ), मगर समुदायले मौलिक रुपमा नयाँ वर्ष, मधेशी समुदायले तिला संक्रान्ति, किरात समुदायका राई, लिम्बु, सुनुवार, सुरेल, याक्खा, धिमाल लगायतले आफ्ना राजा यलम्बरको स्मरणमा येले सम्वत्, छन्त्याल समुदायले छार म्हेङ (म्हिलाङे सोङ्ती) का रुपमा मनाउने गर्दछन् । आजको यो पर्व जुनसुकै मौलिक नामले मनाए पनि यी सबैको सारतत्व हाम्रा परम्परागत सांस्कृतिक र धार्मिक महत्वलाई उजागर गर्दै 'विविधतामा एकताको सन्देश' संचार गर्नु नै हो ।
हिन्दू धर्मावलम्बीहरूले माघे संक्रान्तिको दिनलाई पुण्यकालको रूपमा मनाउँछन् । यस दिनलाई विशेष गरी सूर्य देवता र भगवान विष्णुको पूजा गर्न उपयुक्त मानिन्छ । सूर्य देवताको उत्तरायण यात्रा आरम्भ हुने दिन भएकाले यस दिन पवित्र नदीमा मकर स्नान गरी दान–पुण्य गर्नाले पापबाट मुक्ति मिल्ने जनविश्वास रही आएको छ । यो पर्वले विभिन्न जातजातिका परम्परा र रीतिरिवाजलाई जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
यस दिन दान–पुण्य गरेर समाजमा सहयोग र सद्भावनाको भावना जागृत गराउन सघाउँदछ । विपन्न र असहाय व्यक्तिहरूलाई मद्दत गरेर पुण्य कमाउने परम्परा छ । यस पर्वको अवसरमा विभिन्न परिकार र सामग्रीहरूको माग बढ्छ । यसले स्थानीय बजार र व्यापारलाई प्रवर्धन गर्न सहयोग पुग्दछ । नेपाली समाजमा धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको यो पर्वले परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै समाजमा एकता र सद्भावनाको भावना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
आजको दिन विशेष गरी सखर/गुड मिश्रित तिल, चिउरा, मुरही आदिको लड्डु र चाकु खाने परम्परा छ । तिलमा प्रचुर मात्रामा पोषक तत्वहरू हुन्छन् जसले स्वस्थ्य रहन सहयोग गर्दछ । चाकुले ऊर्जा प्रदान गर्दछ । यस पर्वमा गुड र घिउ खाने चलन पनि छ । गुडले शरीरमा न्यानो प्रदान गर्छ भने घिउले शरीरमा ऊर्जा संचार गर्दछ । मधेशतिर परिवारका गण्यमान्यहरुले तिल, चामल र गुड मिश्रित प्रसाद प्रदान गरी आशिर्वाद दिने र तिल–गेडागुडी मिश्रित खिचडी खाने परम्परा छ । यस पर्वमा प्रयोग हुने कृषि उपजहरुले कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षालाई बढावा दिन सहयोग पुग्दछ ।
आजकै दिन राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा पनि मनाइन्छ । नेपालको संविधानमा जैविक स्रोतहरुको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिइ राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तीनै तहको सरकारको भूमिका रहने पनि उल्लेख छ । नेपाल जैविक विविधता संरक्षण सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र समेत रहेकोले यसको महत्व र उपादेयता झनै बढी छ । कृषि जैविक विविधताको महत्व र यसको संरक्षणबारे आम साधारण र सरोकारवाला सबैपक्षहरु जानकार र सचेत भइ तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनु पर्ने टड्कारो आवश्यकता छ ।
अन्त्यमा, अनेक नामले विभिन्न चाडपर्वहरु आ–आफ्नै मौलिक पहिचान, परम्परा अनुसार मनाइए पनि ती सबैको सकारात्मक सन्देश भनेको राष्ट्रियता र परस्पर भाइचारा, मेलमिलाप, मैत्रीभाव, अपनत्वभाव एवम् बन्धुभाव फैलाउनु पनि हो । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशिल हुन यो पर्वले उत्प्रेरित गर्दै हौसला प्रदान गरोस् भनी पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ माघ १ गते मंगलबार ।
ने.सं. ११४५ पोहेलागा, प्रतिपदा ।
Download / View