उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
 
 
राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को शुभकामना सन्देश
 
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणाम स्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ । यो दिवसले देशको लोकतान्त्रिक मूल्यहरु, सहिदहरुको योगदान, स्वतन्त्रता र राष्ट्रिय एकताको महत्वपूर्णतालाई स्मरण गराउँदछ । हाम्रा अग्रजहरुको संघर्ष, बलिदान र अटूट संकल्पकै कारण हामीले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताको उपहार प्राप्त गरेका हौं । यस महत्वपूर्ण अवसरमा, हामी सबैले मुलुकको द्रूत विकास, समृद्धि र सामाजिक समरसताका लागि सदैव समर्पित भावका साथ अघि बढ्ने प्रण एवम् दृढ संकल्प लिन सक्नुपर्दछ ।  
राष्ट्रिय प्रजातन्त्र दिवसले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, सुदृढ र सबल बनाउने हाम्रो दायित्व, कर्तव्य र जिम्मेवारीलाई स्मरण र बोध समेत गराउँदछ । हामीलाई सम्पूर्ण नागरिकहरुको अधिकारहरुको रक्षा, न्यायपूर्ण समाजको स्थापना र सबैका लागि समान अवसर सुनिश्चित गर्ने दिशामा एकजूटताका साथ क्रियाशील हुन पनि उत्प्रेरित गर्दछ । यो दिवसले हामी सबैलाई मिलेर एउटा बलियो, समृद्ध र शान्त नेपालको निर्माणमा दत्तचित्त भई लाग्न अभिप्रेरित गर्न सकोस् ।   
विश्वमा अनेक शासन प्रणााली मध्ये लोकतन्त्र सर्वश्रेष्ठ शासन–प्रणाली हो । यो प्रणााली एउटा सामाजिक व्यवस्था पनि हो, जसको लक्ष्य सबै नागरिकलाई यथासम्भव बढी भन्दा बढी लाभान्वित गर्नु हो । लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने काम लोकतन्त्रमा विश्वास राख्नेहरुबाट किमार्थ हुन सक्तैन । यो व्यवस्था–प्रणालीमा राजनीतिक दल र त्यसका नेतृत्वहरु सकारात्मक सोचका साथ अघि बढ्न आवश्यक छ । सम्पूर्ण राजनीतिक दल र नेतृत्व पंक्तिले आफूमा आदर्श आचारसंहिता लागू गर्न सक्नुपर्दछ।   
लोकतन्त्रको आत्मा भनेको जनताको सम्प्रभुता हो, जसको परिभाषा युगहरुसंगै परिवर्तन हुँदै आएका छन, तर, यसको आधुनिक आविर्भावका पछाडि एउटा लामो इतिहास छ । उक्त इतिहासबाट पाठ सिक्दै, कमिकमजोरीमा सुधार गर्दै, नेपालको संविधानमा व्यवस्था भएको संघीय गणतन्त्र,समानता,समावेशिता,धर्मनिरपेक्षता,कानूनी राज्य,सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता हो । नेपालमा संघीय लोकतन्त्रलाई सफल बनाउन गरीबी, भेद्भाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रो लागि निर्विकल्प हो।
लोकतन्त्र, शासनको रुपमा मात्र सीमित हुनु हुँदैन । मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउन तर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्नु पर्दछ । लोकतन्त्रमा कुनै पनि विशेषाधिकारयुक्त वर्ग हुँदैन, जाति, धर्म, वर्ण, वंश, धन, लिङग् आदिका आधारमा कुनै पनि व्यक्तिसंग कुनै प्रकारको भेदभाव पनि गरिन्न । राजनीतिक लोकतन्त्रको सफलताका लागि उसको आर्थिक लोकतन्त्रसंग गठबन्धन आवश्यक छ । आर्थिक लोकतन्त्रको अर्थ–समाजका प्रत्येक सदस्यलाई विकासमा समान रुपमा भौतिक सुविधाहरु प्राप्त हुनु हो, जन–जन बीच आर्थिक विषमता नबढोस्, एउटा व्यक्तिले अर्कोलाई शोषण गर्न नसकोस् भन्ने पनि हो ।
अन्त्यमा, मुलुकमा प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनसंघर्ष, मधेश जनविद्रोह, आदिवासी जनजाति लगायतका आन्दोलनमा आफ्नो ज्यानको आहूति दिने सम्पूर्ण महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतान्त्रिक मूल्य, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सम्पूर्ण सेनानीहरुलाई स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । प्रजातन्त्र दिवस, देशमा लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थिरता, संविधानको मूल मर्म–संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयन, जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन उत्प्रेरक बनोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ फागुन ७ गते बुधबार ।
ने.सं. ११४५ सिल्लागा, सप्तमी ।

 

Download / View

ताजा जानकारी

१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्
१५ श्रावण
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

पुरा पढ्नुहोस्