उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले हिन्दू धर्मावलम्बीहरुको महान पर्व रामनवमी, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

रामनवमी पर्व,२०८१ को शुभकामना

हिन्दू धर्मावलम्बीहरुको महान पर्व रामनवमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

रामनवमी पर्वले भगवान श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउँदछ । यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गर्नुभयो भन्ने ग्रहणयोग्य सकारात्मक संदेश दिन्छ । सबैले श्रीरामको आदर्शहरुलाई आत्मसात गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रुपमा यो पर्वलाई लिन सक्नुपर्दछ ।

श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रुपमा हिन्दू समाजमा अनादि कालदेखि प्रतिष्ठित हुनुहुन्छ । उहाँले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिंगो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने संदेश दिनुभयो । श्रीराम झै हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ । उहाँको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात गर्न सक्नुपर्दछ ।

श्रीरामको सम्पूर्ण जीवनले हामीलाई यो पनि सिकाउँद छ कि आमा–बुवाको सम्मान सर्वोपरि हुनुपर्दछ । महाराज दशरथले वनवास जान दिएको आदेश बिना कुनै विरोध उहाँले स्वीकार गर्दै एउटा असल पुत्रको कर्तव्य निर्वाह गरी आमा–बुवाको इच्छाको सम्मान गर्नुपर्ने संदेश दिनुभयो । उहाँको जीवनले कर्मको महत्वलाई पनि उजागर गर्दछ । उहाँ आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सदैव सत्यका साथ दृढतापूर्वक उभिँदै आफ्नो पथमा अग्रसर हुनुभयो । यसले व्यक्तिलाई आफ्नो कर्तव्यहरु पूरै निष्ठा र सजगताका साथ निर्वाह गर्नुपर्ने संदेश दिन्छ । 

श्रीरामले जीवनका मूल्यहरुको पालना गर्दै हरेक कठिनाईको सामना गर्नुभयो । उहाँको जीवनका परिस्थितिहरुले हामीलाई उच्चतम नैतिक मापदण्डको पालना गर्दै हरेक महिला–पुरुष समाजमा श्रेष्ठ मूल्यहरुका साथ गुणवत्तापूर्ण जीवन जिउनु पर्दछ भन्ने शिक्षाबाट अभिप्रेरित छ। उहाँका आदर्शहरुलाई हामीले आफ्नो जीवनमा उतार्न सके मात्र वास्तवमा रामनवमी साँचो अर्थमा मनाएको ठहरिनेछ ।

रामनवमीका अवसरमा गरिने भजन, कीत्र्तन र उपासना आमनागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको पाइन्छ । हाम्रा पर्व–त्योहारहरु सद्भावना, जनकल्याण, नैतिकता र सद्चरित्रको अंकुरण गराउने माध्यम पनि भएकाले यसलाई सद्भक्ति, अध्यात्मिकता र नैतिकताको सेतुबन्धको रुपमा उपयोग गर्दै यस मार्फत् देश र समाजमा शान्ति, मंगल र कल्याणका भावनाहरु जागृत गर्ने प्रयासहरुलाई उत्प्रेरित गर्ने अचूक सूत्रका रुपमा आत्मसात गर्न जरुरी छ ।

मानसिक प्रवृत्ति र समाजको मानसिकता मानिसको भौतिक अवस्थामा आधारित हुने भएकाले यस अन्तर्गत पर्ने राजनीतिक, आर्थिक, धार्मिक, शैक्षिक र पारिवारिक वातावरण एवं सामाजिक परिवेशहरुलाई मानवकल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अंगिकार गर्दै अघि बढ्नु आजको आवश्यकता हो । अतः हाम्रा परम्परा, लोक विश्वास, लोक आस्था, धार्मिक मान्यताहरुलाई आपसी वैरभाव, मनोमालिन्यता, क्लेशलगायतबाट अलग राख्दै सहयोग, परोपकार र शान्तिको पक्षमा कार्यान्वयन गर्दै अग्रसर हुन सक्नुपर्दछ । यसले मानिसको आचरण, व्यवहार र क्रियाकलापहरुलाई सात्विक बनाउन सहयोग पुग्दछ ।

रामनवमी उत्सव मात्र होइन, हामीले आफ्नो जीवनलाई श्रीरामको आदर्शहरुसंग जोड्ने एउटा मंगलमय अवसर पनि हो । श्रीरामको लोकोत्तर कृतित्व कालजयी धारा हो, जसले हरेक व्यक्तिलाई सदैव समुचित मार्गदर्शन प्रदान गर्दछ । रामनवमीको यो अवसरमा श्रीराम झै असल र मर्यादित संकल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा प्राप्त होस् ।  

अन्त्यमा, रामनवमी पर्व नेपाली समाजलाई नैराश्य र अनैतिकताबाट उन्मुक्ति दिलाउने शंखनादको माध्यम पनि बनोस् । नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरुलाई बलियो बनाउँदै बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न यो पर्वले सहयोग पुगोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु । 

धन्यवाद ।

२०८१ चैत २४ आइतबार ।

ने.सं. ११४५, चौलाथ्व, नवमी ।

 

Download / View

ताजा जानकारी

१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्
१५ श्रावण
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि २०८१ असारसम्म

पुरा पढ्नुहोस्