उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले विश्व वातावरण दिवस, २०२५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस, २०२५ को शुभकामना सन्देश

विश्व वातावरण दिवस, २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रत्येक वर्ष ५ जूनमा मनाइने विश्व वातावरण दिवसले ‘पृथ्वी हाम्रो साझा धरोहर हो’ भन्ने महत्वपूर्ण सन्देश प्रवाह गर्दै आएको छ । यो सन्देश आत्मसात गर्दै वातावरण संरक्षण, प्रकृति र जैविक विविधता बीच दीर्घकालीन सन्तुलन कायम राख्न हामी सबैको भूमिका अपरिहार्य छ । आजको विश्वले जलवायु परिवर्तन, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको अत्याधिक दोहन तथा जैविक विविधतामा हुने गरेको ह्रास जस्ता चुनौतीहरूको सामना गरिरहेको छ । यी समस्याहरूको प्रभावकारी समाधानका लागि वैज्ञानिक, प्रविधिमा आधारित तथा समुदायस्तरबाट सक्रिय पहल आवश्यक छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनईपी) को नेतृत्वमा मनाइने विश्व वातावरण दिवस २०२५ को मूल नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य’ रहेको छ । प्लास्टिकजन्य फोहोरले जल, जमिन र जैविक विविधतामा गम्भीर असर पारिरहेको छ । एकल प्रयोग प्लास्टिक (प्लास्टिक झोला, बोतल, स्ट्र) ले नदी, समुद्र र जंगललाई प्रदूषित बनाउँदै जैविक विविधतामाथि गम्भीर खतरा सिर्जित गरेको छ । एक रिपोर्ट अनुसार विश्वमा हरेक वर्ष सयौं मिलियन टन प्लास्टिक उत्पादन हुने गर्दछ, ती मध्ये करीब दुई तिहाई त  एक पटक मात्र प्रयोग गरी फ्याकिन्छ ।

अल्पकालिन उपयोगका यस्ता प्लाष्टिकसहितका वस्तुहरुले नदी, महासागर र पर्यटकीय क्षेत्रहरुलाई प्रदूषित गर्नुका साथै हाम्रो खाद्य श्रृंखलामा प्रवेश गरी सूक्ष्म प्लास्टिकका रुपमा हाम्रो शरीरमा समेत पुग्ने गरेको वैज्ञानिक अनुसन्धानबाट पृथ्वी र मानव अस्तित्व नै गम्भीर संकटमा रहेको संकेत गर्दछ । यसप्रति सबैको ध्यानाकर्षण हुन जरुरी छ ।  यसका लागि हामीले गर्नै पर्ने कामहरुमा–एक पटक मात्र प्रयोग गरिने प्लास्टिकको उपयोग कम गर्ने, पुनः प्रयोग र पुनर्चक्रण प्रवद्र्धन गर्ने अभियानलाई व्यापक रूपमा विस्तार गर्न जरुरी छ । दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु आजको आवश्यकता हो ।

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि हाल हिमालको हिउँ पग्लने समस्या, नदीहरूमा बढ्दो प्रदूषण, वायु प्रदूषण, वन विनाश, चुरे विनाश जस्ता गम्भीर चुनौतीहरू देखा परेका छन् । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दो छ । वनक्षेत्रको विनाशले जैविक विविधताको अस्तित्वमा खतरा निम्त्याएको छ । नदी तथा जल स्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ । अति वृष्टि, अनावृष्टि, खडेरी, सुखाग्रस्त समस्याहरुको चपेटामा हामी पर्दै गएका छौ । अझ, तराई–मधेश क्षेत्रमा भूमिगत पानीको स्रोतहरु सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गईसकेको अवस्था छ । कतिपय ठाउँमा ईनार, कुवाँ, चापाकल आदिमा पानी आउनै छाडेको छ । यस सन्दर्भमा स्थानीय सरकार, निजी क्षेत्र तथा नागरिक समाज बीचको सहकार्य अनिवार्य छ ।

हामीले नवीकरणीय ऊर्जा स्रोत प्रवद्र्धन गर्ने, वन्यजन्तु तथा जैविक विविधताको सुरक्षा सुनिश्चित गर्ने, कृषि तथा औद्योगिक उत्पादनमा वातावरणमैत्री प्रविधि अपनाउने र व्यक्तिगत तथा सामुदायिक तहमा वातावरण संरक्षणका पहलहरूलाई प्रोत्साहित गर्ने कार्यमा जोड दिन जरुरी छ । पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभएर हामी सबैको साझा कर्तव्य हो । हामीले आफ्नो दैनिक जीवनमा साना परिवर्तनहरू गरेर पनि वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याउन सक्छौं । खासगरी, वृक्षारोपण अभियानलाई प्राथमिकता दिने, पानी तथा ऊर्जाको बचत गर्ने एवं सरसफाइ तथा वातावरणमैत्री प्रविधि अपनाउन सक्नुपर्दछ ।

वातावरण संरक्षणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण भएपनि युवाहरूको भूमिका झनै बढी छ । हाम्रा युवा शक्ति भविष्यका संरक्षक हुन् । युवाहरूले पर्यावरण संरक्षणमा नवीनतम समाधानहरू खोज्न, जागरुकता अभियान सञ्चालन गर्न तथा सकारात्मक व्यवहार परिवर्तनको नेतृत्व लिन सक्छन् भन्ने विश्वास लिएको छु । विज्ञान तथा प्रविधिका माध्यमबाट वातावरण संरक्षणका नयाँ उपाय अवलम्बन गर्ने, सामाजिक सञ्जाल तथा संचार माध्यमको प्रयोग गरी जनचेतना फैलाउने, सामुदायिक स्तरमा वातावरणीय सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने कार्यहरु गर्दै वातावरण संरक्षण गर्न सकिन्छ ।

अन्त्यमा, विश्व वातावरण दिवस २०२५ ले हामीलाई पृथ्वीको दीर्घकालीन सुरक्षाका लागि एकजुट भई कार्य गर्न प्रेरित गर्न सकोस् । हामीले व्यक्तिगत, संस्थागत तथा सरकारी स्तरबाट आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै वातावरण संरक्षणलाई व्यवहारमा उतार्न जरुरी छ । पृथ्वीलाई स्वच्छ, हरियाली तथा दिगो बनाउने प्रयासका लागि सबैलाई यो दिवसले उत्प्रेरित गर्ने विश्वासका साथ प्लास्टिक प्रदूषण न्यूनीकरण तथा जलवायु सुधारका लागि आजैबाट सकारात्मक परिवर्तनको थालनी गर्न सबैमा आग्रह गर्दै पुनः विश्व वातावरण दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०८२ जेठ २२ गते बिहीबार ।

ने.सं. ११४५ तछलाथ्व, दशमी ।

 

Download / View

ताजा जानकारी

१७ बैशाख
२०८२

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

पुरा पढ्नुहोस्
०९ पुस
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

पुरा पढ्नुहोस्
२३ असोज
२०८१

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

पुरा पढ्नुहोस्
१८ असोज
२०८१

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

पुरा पढ्नुहोस्
१६ असोज
२०८१

प्रेस विज्ञप्ति

पुरा पढ्नुहोस्