प्रारम्भिक जीवन र परिवार
वि.सं. २०२७ साउन ९ गते मधेश प्रदेशको बारा जिल्ला, साबिक गाउँ विकास समिति कचोर्वा वार्ड नं. ८ बसवरिया टोल (हालः जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वार्ड नं. ९, बसवरिया) मा एक मधेशी किसान परिवारमा माता सिहवा देवी यादव र बुवा प्रसाद राय यादवका कान्छो छोराका रुपमा जन्मिनु भएको हो ।
उहाँको प्रारम्भिक जीवन अभाव, कठिनाई र संघर्षपूर्ण रहयो । उहाँ आफै पनि खेती किसानीमा सदैव सक्रिय रहनु भयो । उहाँले विगतमा पेशागत रुपमा शिक्षक र नेतृत्वदायी भूमिकामा रहेर पनि आफूलाई कृषिकर्मबाट कहिल्यै अलग राख्नु भएन । यो कार्यसंगै राजनीतिक जीवनमा उहाँलाई जीवन संगिनी चम्पा देवी यादवको संधै साथ र सहयोग रहयो । उपराष्ट्रपति भईसक्दा पनि यो विरासतलाई चम्पा देवीले सम्हाल्दै आउनुभएको छ । उहाँकी जीवन संगिनी अझै पनि बारामै कृषिकर्म र पशुपालनमा रमाई रहनु भएको छ । उहाँका एक दाजु रामधारी प्रसाद यादव (अवकाश प्राप्त शिक्षक), दुई दिदीहरु राधिका देवी यादव (देहवसान भईसकेको) र राजकली देवी यादव तथा बहिनी रुकमिला देवी यादव हुनुहुन्छ।उपराष्ट्रपति यादवका दुई छोरा र एक छोरीसहित तीन सन्तान हुनुहुन्छ । जेठो छोरा शत्रुधन यादव, छोरी सञ्जु यादव र कान्छो छोरा शशिभूषण यादव हुनुहुन्छ ।
शिक्षा
उपराष्ट्रपति यादवले मधेश प्रदेश, बारा जिल्लाको बसवरियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा र कचोर्वास्थित श्री जनता निम्न माध्यमिक विद्यालयबाट नि.मा.वि. तहको शिक्षा ग्रहण गर्नुभयो।त्यसपछि बारा सिम्रौनगढस्थित श्री कंकाली माध्यमिक विद्यालयबाट २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो।उहाँले बिहार इन्टरमिडियट शिक्षा परिषद् पटना (भारत) बाट सन् १९९० मा विज्ञान/गणित विषयमा प्रविणता प्रमाणपत्र तह (आईएस्सी) उत्तीर्ण गर्नुभयो । बिहारको मुजफ्फरपुरस्थित उच्च शिक्षाका लागि प्रख्यात डा. बाबासाहेब भिमराव अम्वेडकर विश्वविद्यालय अन्तर्गत सीतामढीस्थित एसएलके महाविद्यालयबाट सन् १९९०–९३ मा उहाँले विज्ञान विषयमा स्नातक (बी.एस्सी.) उत्तीर्ण गर्नुभयो।त्यसपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ मा शिक्षा शास्त्र (गणित) मा उहाँले स्नातक (बी. एड.) उत्तीर्ण गर्नुभयो।
पेशा
बारा कलैयास्थित श्री पन्नादेवी कन्या माध्यमिक विद्यालयमा वि.सं. २०४८–२०६४ सम्म गणित/विज्ञान विषयको शिक्षण पेशामा आवद्ध रहनु भयो।सफल शिक्षकको भूमिकामा आउनुअघि र शिक्षण पेशामा सेवारत रहेकै वेला वि.सं. २०४६–२०५२ सम्म उहाँ सरस्वती नवयुवक क्लबका अध्यक्ष भई नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुभयो ।
राजनीतिमा प्रवेश र संगठन
वि.सं. २०४७ मा उपराष्ट्रपति यादव नेपाल सद्भावना पार्टीमा आवद्ध हुनुभयो।नेपाल शिक्षक मंच बाराको संस्थापक र शिक्षक मंचको केन्द्रीय समितिको कोषाध्यक्षको जिम्मेवारी सफलताका साथ पुरा गर्नुभयो । वि.सं. २०५० मा वीरगंजमा सम्पन्न नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशनको पर्यवेक्षकको भूमिका निर्वाह गर्नुभयो । यसैगरी, विराटनगरमा सम्पन्न नेपाल सद्भावना पार्टीको चौथो महाधिवेशनमा उहाँ प्रतिनिधि बन्नुभयो।वि.सं. २०५९ मा राजबिराजमा सम्पन्न नेपाल सद्भावना पार्टीको पाँचौं महाधिवेशनमा प्रतिनिधिकै रुपमा सहभागि हुनुभयो।वि.सं. २०५९ मा उहाँ मधेशी जनअधिकार फोरम नेपालमा आवद्ध हुनुभयो । वि.सं. २०६० फागुन ७ मा मधेशी जनअधिकार फोरम नेपालको बाराको संस्थापक संयोजक (अध्यक्ष) को जिम्मेवारी बहन गर्नुभयो । उहाँले आफ्नो भूमिका र जिम्मेवारी अत्यन्तै गहनता र सफलताका साथ पुरा गर्नुभयो ।
वि.सं. २०६० मा पटना बैठकबाट उहाँ मधेशी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बन्नुभयो। वि.सं.२०६४ मा मधेशी जनअधिकार फोरम नेपाल निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा उहाँ केन्द्रीय सदस्य कै जिम्मेवारीमा हुनुहुन्थ्यो।अत्यन्तै सुझबुझ र संगठनीक भूमिका निर्वाह गरेकै कारण वि.सं. २०६५ जेष्ठ १९ गते उहाँ पार्टीको महासचिवको जिम्मेवारीमा पुग्नुभयो । वि.सं. २०७२ मा मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको पनि उहाँले महासचिवकै रुपमा भूमिका निर्वाह गर्नुभयो । वि.सं. २०७५ मा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीमा पनि उहाँले महासचिव कै जिम्मेवारी पाउनु भयो।त्यसपछि वि.सं. २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्यमा नियुक्त हुनुभयो ।
आन्दोलनमा सक्रियता
वि.सं. २०५७ मा नागरिकता सम्बन्धी संविधानको विवादास्पद धाराको विरोध कार्यक्रममा काठमाडौंमा सहभागी भई गिरफ्तार हुनु भयो।राजबिराज महाधिवेशनको क्रममा पार्टी एकता कायम राख्न सप्तरी सेवा आश्रममा उहाँ आमरण अनसन बस्नु भयो । त्यतिबेला आनन्दी देवीद्वारा अनसन तोड्न लगाई आनन्दी देवीको नेतृत्वमा नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन गरिएको थियो।२०६२/०६३ को जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रहयो । जनआन्दोलनका क्रममा उहाँ काठमाडौंमा पटकपटक पक्राउ पनि पर्नुभयो । २०६३/६४ को मधेश जनविद्रोहका क्रममा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारी पाउनु भयो।उक्त आन्दोलनका क्रममा पटकपटक गिरफ्तार हुनुभयो। वि.सं. २०७२ मा मधेश आन्दोलनमा निधेषाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट उहाँ सख्त घाइते हुनुभएको थियो।यसैगरी, नेपाल–भारत दशगजा क्षेत्रको वीरगंज मितेरीपुलमा लगातार धर्ना (लगभग ६ महिना) मा उहाँ सहभागि हुनु भयो।असमानता, विभेद, र अन्याय, अशिक्षा, सामाजिक कुरीति र गरीबीविरुद्धको हरेक मोर्चामा संघर्ष गर्दै नेपालमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताका लागि उहाँको महत्वपूर्ण योगदान रहेकोछ ।
चुनाव र सार्वजनिक जीवन
वि.सं. २०६४ को पहिलो संविधानसभामा उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो।पहिलो संविधानसभामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यको रुपमा उहाँले सफल भुमिका निर्वाह गर्नुभयो।वि.सं. २०७४ मा प्रतिनिधिसभामा बारा क्षेत्र नं. २ बाट उहाँ अत्याधिक मतले निर्वाचित हुनुभयो।
वि.सं. २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नं. २ बाट उहाँ पुनः निर्वाचित हुनुभयो।यसै वर्ष जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा उहाँ चयन हुनुभयो।वि.सं. २०७८ मा उहाँ वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनु भयो।वन तथा वातावरण मन्त्री छँदा उहाँले नेपालको वन नियमावली–२०७९ पारीत गराई वन क्षेत्रको संरक्षण, सम्वर्द्धन र विस्तारका लागि महत्वपूर्ण रणनीति र निर्णयलाई कार्यान्वयनमा ल्याउनु भयो ।
वि.सं. २०७९ फागुन २७ गते जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुभयो।वि.सं. २०७९ चैत ३ गते उहाँ उपराष्ट्रपतिमा विजयी हुनुभयो।वि.सं. २०७९ चैत ६ गते उहाँले उपराष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।
व्यक्तिगत अभिरुचि
समाज सेवा, पत्रपत्रिका पढ्ने, खेलकूद, संगीत, नयाँ–नयाँ ठाउँको अवलोकन भ्रमणमा उहाँको विशेष अभिरुचि छ।उहाँ विद्यार्थीकालमा कबडी, फुटबल, लङ्गजम्प, हाईजम्प लगायत खेलका खेलाडी पनि हुनुहुन्थ्यो।यी खेलसहित क्रिकेटमा पनि रुचि राख्नु हुन्छ ।
विदेश भ्रमण र प्रतिनिधि मण्डलमा सहभागिता
सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको महासम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यका रुपमा उहाँ सहभागी हुनुभयो।वि.सं. २०७४ मा पोल्याण्डमा आयोजित जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २४) मा तत्कालिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उहाँ सहभागि हुनुभयो।वि.सं. २०७८ मा जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) सम्मेलनमा उच्चस्तरीय प्रतिनिधिमण्डलमा पनि उहाँको सहभागिता रहयो।यो भ्रमणमा उहाँ तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको नेतृत्वमा वन तथा वातावरण मन्त्रीको हैसियतमा सहभागिता हुनुभएको थियो।यसैगरी, चिनियाँ कम्यूनिष्ट पार्टीको निमन्त्रणामा उहाँले चीनको भ्रमण गर्नुभयो।उपराष्ट्रपतिमा नियुक्त भएपछि वि.सं. २०८० मा उहाँबाट चीनको भ्रमण भयो । यसअघि पार्टी तथा सरकारको प्रतिनिधिका रुपमा अमेरिका, पोल्याण्ड, बेलायत, वेल्जियम र युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमण गर्नुभयो ।