अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०२५ को शुभकामना सन्देश
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १), २०२५ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति उच्च सम्मान सहित सुस्वास्थ्य, दीर्घायु र गरिमामय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो दिवस ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक चेतना, दायित्व र जिम्मेवारीको स्मरण गर्ने दिन हो । उहाँहरुले जीवनको लामो यात्राका क्रममा अंगाल्नु भएका अनुभव र गर्नुभएको त्याग, सेवा तथा समर्पणले समाजलाई दिशानिर्देशन गर्छ । उहाँहरु हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुनुहुन्छ । उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो सभ्यताको परिचायक पनि हो ।
नेपालको संविधानले ज्येष्ठ नागरिकको अधिकारलाई विशेष महत्व दिँदै स्पष्ट रूपमा संरक्षण र प्रत्याभूत गरेको छ । संविधानको भाग ३ अन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकको हकलाई मौलिक हककै रूपमा व्यवस्था गरिएको छ । उक्त धारामा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने उल्लेख छ। सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ ।
नयाँ पीढीले ज्येष्ठ नागरिकलाई वृद्धका रुपमा मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतको रूपमा लिन सक्नुपर्दछ । उहाँहरूप्रति आदर, सहानुभूति र संवेदनशीलता प्रदर्शन गर्नु युवा पुस्ताको नैतिक आचरण, दायित्व र जिम्मेवारी हो । नव पीढीहरुले आ–आफ्नो घर–परिवारमा उहाँहरूको सहभागिता सुनिश्चित गर्नु, उहाँहरूको विचार र सल्लाहलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा उहाँहरूको सक्रियता बढाउन सहयोग गर्नु र डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो ।
समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ । उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र सेवा प्रणालीको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता, एकल ज्येष्ठ नागरिकहरूको लागि सामुदायिक सहारा र मानसिक स्वास्थ्य तथा आत्मसम्मानको संरक्षणमा ध्यान दिन जरुरी छ । परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रुपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्दछ ।
संयुक्त परिवारको मूल्य पुनःस्थापना गर्दै, उहाँहरूको उपस्थितिलाई ‘ब्रह्मवाक्य’ जस्तै मार्गदर्शक मान्न सक्नुपर्दछ । हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दीयो’ मानेको छ । आधुनिकताको नाममा उहाँहरूको उपेक्षा गर्नु हाम्रो मूल्यको पतन हो । संस्कृति र आधुनिकताको समन्वय गर्दै, हामीले उहाँहरूको गरिमा पुनःस्थापित गर्नुपर्दछ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले हामी सबैलाई ‘वृद्धावस्था जीवनको अन्त्य कालको समयावधि होइन, अनुभवको उत्कर्ष हो’ भन्ने मूल मर्म स्मरण गराउन सफल होस् । उहाँहरूको जीवनलाई सम्मानित, सुरक्षित र सन्तुलित बनाउने हाम्रो प्रयास नै साँचो अर्थमा यो दिवस मनाउनुको सार्थकतालाई पुष्टि गर्दछ । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, व्यवस्थित, मर्यादित र सुखद बनाउनमा सहयोग पुर्याउन सबैमा हार्दिक आह्वान गर्दै उहाँहरुको सुसफल र सुस्वस्थ्य जीवनको लागि हार्दिक मंगलमय कामना गर्दछु ।
धन्यवाद !
२०८२ असोज १५ गते बुधबार ।
ने.सं. ११४५ कौलाथ्व, नवमी ।