सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले ग्याल्पो ल्होसार,२१५३ को अवसरमा दिनुभएको शुभकामना सन्देश
ग्याल्पो ल्होसार,२१५३ को शुभकामना
ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरु सहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षका रुपमा मनाईने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास लिएको छु । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।
परम्परागत पोशाक, मौलिक नृत्य, भजन–किर्तन र सांस्कृतिक कार्यक्रमले हाम्रो विविधतायुक्त समाजलाई जीवन्त राख्ने कार्य यस पर्वले गर्दै आएको छ । ग्याल्पो ल्होसार, शेर्पा समुदायको मात्र पर्व नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा हो, जसले बहुभाषा र बहुसंस्कृतिलाई सम्मान गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्दछ ।
यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो । यसले रैथाने संस्कृतिको जगेर्ना गर्दै कृषि उपजको महत्वलाई पनि उजागर गर्दछ ।
अन्त्यमा, स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाओस् । धार्मिक श्रद्धा, सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको प्रतीक बनेर यो पर्वले देशलाई प्रगति, शान्ति र समृद्धिको मार्गमा अघि बढाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
२०८२ फागुन ०६ गते बुधबार ।
ने.सं. ११४६ चिल्लाथ्व, प्रतिपदा ।