सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०२५ को अवसरमा दिनुभएको शुभकामना सन्देश
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०२५ को शुभकामना सन्देश
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १), २०२५ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति उच्च सम्मान सहित सुस्वास्थ्य, दीर्घायु र गरिमामय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो दिवस ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक चेतना, दायित्व र जिम्मेवारीको स्मरण गर्ने दिन हो । उहाँहरुले जीवनको लामो यात्राका क्रममा अंगाल्नु भएका अनुभव र गर्नुभएको त्याग, सेवा तथा समर्पणले समाजलाई दिशानिर्देशन गर्छ । उहाँहरु हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुनुहुन्छ । उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो सभ्यताको परिचायक पनि हो ।
नेपालको संविधानले ज्येष्ठ नागरिकको अधिकारलाई विशेष महत्व दिँदै स्पष्ट रूपमा संरक्षण र प्रत्याभूत गरेको छ । संविधानको भाग ३ अन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकको हकलाई मौलिक हककै रूपमा व्यवस्था गरिएको छ । उक्त धारामा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने उल्लेख छ। सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ ।
नयाँ पीढीले ज्येष्ठ नागरिकलाई वृद्धका रुपमा मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतको रूपमा लिन सक्नुपर्दछ । उहाँहरूप्रति आदर, सहानुभूति र संवेदनशीलता प्रदर्शन गर्नु युवा पुस्ताको नैतिक आचरण, दायित्व र जिम्मेवारी हो । नव पीढीहरुले आ–आफ्नो घर–परिवारमा उहाँहरूको सहभागिता सुनिश्चित गर्नु, उहाँहरूको विचार र सल्लाहलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा उहाँहरूको सक्रियता बढाउन सहयोग गर्नु र डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो ।
समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ । उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र सेवा प्रणालीको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता, एकल ज्येष्ठ नागरिकहरूको लागि सामुदायिक सहारा र मानसिक स्वास्थ्य तथा आत्मसम्मानको संरक्षणमा ध्यान दिन जरुरी छ । परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रुपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्दछ ।
संयुक्त परिवारको मूल्य पुनःस्थापना गर्दै, उहाँहरूको उपस्थितिलाई ‘ब्रह्मवाक्य’ जस्तै मार्गदर्शक मान्न सक्नुपर्दछ । हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दीयो’ मानेको छ । आधुनिकताको नाममा उहाँहरूको उपेक्षा गर्नु हाम्रो मूल्यको पतन हो । संस्कृति र आधुनिकताको समन्वय गर्दै, हामीले उहाँहरूको गरिमा पुनःस्थापित गर्नुपर्दछ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले हामी सबैलाई ‘वृद्धावस्था जीवनको अन्त्य कालको समयावधि होइन, अनुभवको उत्कर्ष हो’ भन्ने मूल मर्म स्मरण गराउन सफल होस् । उहाँहरूको जीवनलाई सम्मानित, सुरक्षित र सन्तुलित बनाउने हाम्रो प्रयास नै साँचो अर्थमा यो दिवस मनाउनुको सार्थकतालाई पुष्टि गर्दछ । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, व्यवस्थित, मर्यादित र सुखद बनाउनमा सहयोग पुर्याउन सबैमा हार्दिक आह्वान गर्दै उहाँहरुको सुसफल र सुस्वस्थ्य जीवनको लागि हार्दिक मंगलमय कामना गर्दछु ।
धन्यवाद !
२०८२ असोज १५ गते बुधबार ।
ने.सं. ११४५ कौलाथ्व, नवमी ।