विश्व हात धुने दिवस,२०२५ को शुभकामना
विश्व हात धुने दिवस (अक्टोबर १५) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो दिवसले हामीलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन टेवा पुग्दछ । यस अवसरमा आयोजना हुने जनचेतनामूलक कार्यक्रमहरूले हात धुनुको सरल र प्रभावकारी अभ्यासलाई जीवनशैलीमा समावेश गर्न उत्प्रेरित गर्दछ । हात धुनु हैजा, डायरिया, रुघाखोकी, निमोनिया लगायतका संक्रमणजन्य रोगहरूबाट बच्ने सजिलो, सस्तो र प्रभावकारी उपाय हुन् । साबुन र पानीको प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु, औंलाहरू, नङहरू राम्ररी सफा गर्नु, हात सफा गरी खाना पकाउनु र खानुअघि, बाथरुम प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा, नाक छोएपछि हात धुनु अत्यावश्यक छ । यसले व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई पनि रोगमुक्त बनाउने दिशामा योगदान पुर्याउँदछ ।
स्वच्छता नै स्वास्थ्यको आधार हो । नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुन्छ । यसले सामाजिक लाभ, आर्थिक बचत र दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ ।
विश्व हात धुने दिवसको सार्थकता तब मात्र पुष्टि हुन्छ जब हामी सबैले हात धुनुलाई आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनाउँछौं । आजकै दिनबाट हामी सबैले स्वच्छता र स्वास्थ्यप्रति प्रतिबद्ध रहँदै नियमित हात धुने अभ्यास गरौं र स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गरौं ।
धन्यवाद !
२०८२ असोज २९ गते बुधबार ।
ने.सं. ११४५ कौलागा, नवमी ।