अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, २०२५ को शुभकामना
अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमताका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु ।
हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराउँदछ । समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवद्र्धन गर्न सबैको सामूहिक प्रयास अपरिहार्य छ । यो दिवसले हामीलाई थप प्रेरणा, ऊर्जा र प्रतिबद्धता प्रदान गर्ने विश्वास लिएको छु ।
हामी सबै एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधार्न, उहाँहरूको अधिकारको संरक्षण गर्न तथा हरेक क्षेत्रमा समावेशिता सुनिश्चित गर्न निरन्तर अघि बढ्न सक्नु पर्दछ । नेपालको संविधानले पनि अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । यसलाई सबैले आत्मसात र अवलम्वन गर्न जरुरी छ।
न्यायपूर्ण, समावेशी र सम्मानजनक समाज निर्माण हामी सबैको साझा जिम्मेवारी हो । हामीले सबै नागरिकको योगदानलाई मान्यता दिँदै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता र सम्भावनालाई राष्ट्रनिर्माणमा उपयोग गर्न सक्ने वातावरण सृजना गर्नु सबैको कर्तव्य र दायित्व हो ।
अन्त्यमा, यस विशेष दिवसले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन, उहाँहरूको योगदानलाई सम्मान गर्न र समाजलाई अझ संवेदनशील तथा समावेशी बनाउन प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ मंसिर १७ गते, बुधबार ।
ने.सं. ११४६ थिंल्लाथ्व, त्रयोदशी ।