उधौली पर्व, यमरीपुन्हीं: र ज्यापु दिवस, २०८२ को शुभकामना
उधौली पर्व, यमरीपुन्हीं: (धान्यपूर्णिमा) तथा ज्यापु दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
किराँत समुदायको महान पर्व उधौली, प्रकृतिप्रति श्रद्धा, कृतज्ञता र सामूहिक एकताको प्रतीक हो । राई, लिम्बू, सुनुवार, याक्खा लगायतका समुदायले यस पर्वलाई परम्परागत नृत्य, गायन र सांस्कृतिक कार्यक्रममार्फत् धुमधामका साथ मनाउँछन् । यस अवसरमा आयोजना हुने ‘साकेला’ नृत्यले प्रकृति र जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै नेपाललाई मौलिक परम्पराले सम्पन्न राष्ट्रका रूपमा चिनाउने कार्य गर्दछ ।
त्यसैगरी, आजकै दिन नेवार समुदायको प्रमुख पर्व यमरीपुन्हीं: (धान्यपूर्णिमा) नयाँ अन्नप्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्दछ । यस अवसरमा ‘योमरी’तयार गरी देवी–देवता, पूर्वज तथा आफन्तलाई अर्पण गरिने मौलिक परम्परा रही आएको छ, जसले समर्पण, समृद्धि र सामाजिक एकताको सन्देश बोकेको छ । यसै दिनदेखि पूर्वी नेपालमा ‘भक्का’ पकाउने परम्परा सुरु हुने मान्यता पनि हाम्रो सांस्कृतिक विविधताको विशेषता हो ।
त्यस्तै, ज्यापु दिवसले नेवाः संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गर्दछ । मौलिक बाजा धिमेको तालमा प्रस्तुत गरिने झाँकीहरूले हाम्रो रैथाने परम्परालाई जीवन्त राख्दै सांस्कृतिक पहिचानलाई उजागर गर्न सहयोग पुग्दछ ।
यी पर्वहरूले नेपाललाई विविधतामा एकता, परम्परामा गौरव, र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यी पर्वहरुले उत्प्रेरित गर्न सकोस् ।
अन्त्यमा, उधौली पर्व, यमरीपुन्हीं: (धान्यपूर्णिमा) र ज्यापु दिवसले हामीलाई सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको मार्गमा सकारात्मक अग्रसरताका लागि प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ मंसिर १८ गते, बिहीबार ।
ने.सं. ११४६ थिंल्लाथ्व, चतुर्दशी ।