राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०८२ को शुभकामना सन्देश
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति उच्च सम्मान प्रकट गर्दै सुस्वास्थ्य, दीर्घायु र गरिमामय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वि.सं. २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँदछ । जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो ।
नेपालको संविधान तथा ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।
युवापुस्ताले ज्येष्ठ नागरिकलाई वृद्ध मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्छ । उहाँहरूको विचारलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा सहभागिता सुनिश्चित गर्नु, डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो । यसैबाट पुस्ताबीचको सम्बन्ध अझ सुदृढ हुन्छ ।
समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोतका रूपमा स्वीकार गर्नुपर्छ । उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ । परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो ।
हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दीयो’ मानेको छ । आधुनिकताको नाममा उहाँहरूको उपेक्षा गर्नु पारिवारिक र सामाजिक मूल्यको पतन हो । संस्कृति र आधुनिकताको समन्वय गर्दै उहाँहरूको गरिमा पुनःस्थापित गर्नु हाम्रो साझा दायित्व बन्न सक्नुपर्दछ ।
अन्त्यमा, यस दिवसले हामी सबैलाई स्मरण गराओस्, वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव र मार्गदर्शनको उत्कर्ष हो । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखद बनाउन सबैमा हार्दिक अनुरोध गर्दै उहाँहरूको सुस्वास्थ्य र सुखमय जीवनको लागि हार्दिक मंगलमय कामना गर्दछु ।
धन्यवाद ।
२०८२ पुस ११ गते, शुक्रबार
ने.सं. ११४६ पोहेलाथ्व, षष्ठी