वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६
१५ पुष, २०८२
तमु ल्होसारको शुभकामना सन्देश
नेपालका आदिवासी तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
गुरुङ समुदायले पुस १५ गतेका दिन पुरानो वर्षलाई विदा गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने परम्परा छ । यस पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै सामुदायिक जीवनमा नवीन ऊर्जा थप्ने कार्य गर्दछ । परिवार, आफन्तजन र समुदायजन एकत्रित भई रमाइलो गर्ने यस अवसरले परस्पर आत्मीयता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउँनमा सहयोग पुगेको विश्वास लिएको छु ।
कृषि चक्रसँग सम्बन्धित ल्होसारलाई सूर्यको गतिसँग पनि जोडिएको मानिन्छ । यस दिनपछि दिन लामो हुँदै जाने र कृषिकर्मका लागि अनुकूल वातावरण सिर्जना हुने जनविश्वासले प्रकृति र जीवनशैलीबीचको गहिरो सम्बन्ध उजागर गर्नमा यो पर्वले सहयोग पुग्दछ । यस अवसरमा पूजापाठ गर्ने, रैथाने परिकार तयार गर्ने, मौलिक नाचगान गर्ने, रोधीघरमा दोहोरी गाउने लगायतका सांस्कृतिक एवं परम्परागत गतिविधिहरु आयोजना हुनुले सामुदायिक आस्था, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सघाउँदछ ।
तमु ल्होसारले पुराना वर्षका कमजोरीलाई त्यागी नयाँ वर्षलाई उमंग, उत्साह र सकारात्मक सोचसहित स्वागत गर्ने अवसर प्रदान गर्दछ । यस पर्वले सामाजिक एकता, परस्पर विश्वास, सहयोग, आदर, सम्मान र सद्भावलाई बलियो बनाउँदै राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई सुदृढ गर्ने प्रेरणा प्राप्त हुन्छ । यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र समृद्धिको मार्गतर्फ अग्रसर हुन उत्प्रेरित गरोस्, पुनः तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ पुस १५ गते, मङ्गलबार
ने.सं. ११४६ पोहेलाथ्य, एकादशी