माघी पर्व (माघे संक्रान्ति), २०८२ को शुभकामना
माघी पर्व (माघे संक्रान्ति), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपालमा प्रत्येक वर्ष माघ १ गते विभिन्न भूगोल, समुदाय र संस्कृतिअनुसार यो पर्वलाई आ–आफ्नै मौलिक नामले उल्लासपूर्वक मनाउने परम्परा रहिआएको छ । थारु समुदायले यसलाई नयाँ वर्षको प्रारम्भका रूपमा ‘माघी’ भनी मनाउँछन् भने मगर समुदायले मौलिक नयाँ वर्षको रूपमा मनाउने चलन छ । मधेशी समाजमा ‘तिला संक्रान्ति’, किरात समुदायमा राजा यलम्बरको स्मरणार्थ ‘येले सम्वत्’, छन्त्याल समुदायमा ‘छार म्हेङ’ नामले मनाइन्छ । नाम फरक भए पनि यसको मूल भाव भने विविधतामा एकता र सांस्कृतिक गौरवलाई उजागर गर्नु हो ।
हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई पुण्यतिथि मानेर सूर्यदेव र भगवान विष्णुको आराधना गर्छन् । सूर्यदेवको उत्तरायण यात्रा प्रारम्भ हुने दिन भएकाले पवित्र नदीमा स्नान, दान र धार्मिक अनुष्ठान गर्ने परम्परा छ । यसरी मनाइने पर्वले विभिन्न जातजातिका परम्परा र संस्कृतिलाई जीवित राख्दै सामाजिक सद्भाव र धार्मिक आस्थालाई बलियो बनाउँदछ । यस दिन दान–पुण्य गर्ने परम्पराले समाजमा सहयोग, करुणा र सहअस्तित्वको भावना जागृत गर्दछ । विपन्न र असहायलाई सहयोग गर्ने संस्कारले सामाजिक उत्तरदायित्वलाई बलियो बनाउँदछ । साथै, यस पर्वको अवसरमा विभिन्न परिकार तथा कन्दमूलको माग बढ्ने भएकाले स्थानीय बजार, व्यापार र कृषि उपजहरुको प्रवर्धन गर्ने कार्यमा सहयोग पुग्दछ ।
माघे संक्रान्तिमा तिल, चिउरा, मुरही, गुड, घिउ र चाकुजस्ता परिकार खाने परम्परा छ । तिलमा पाइने पोषक तत्वले स्वास्थ्यलाई सुदृढ बनाउँछ भने चाकुले ऊर्जा प्रदान गर्छ । गुडले शरीरलाई न्यानो बनाउँछ र घिउले शक्ति सञ्चार गर्छ । मधेशमा तिल, चामल र गुड मिश्रित प्रसाद वितरण गरी आशीर्वाद दिने तथा तिल–गेडागुडीको खिचडी खाने परम्परा छ । यी कृषि उपजहरूले जैविक विविधता, खाद्य सुरक्षा र पोषणमा योगदान पु¥याउँछन् ।
नेपालमा यसै दिनलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइन्छ । संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई राज्यको नीतिमा समेटेको छ । तीनै तहका सरकारलाई यसको संरक्षणमा जिम्मेवारी दिइएको छ । नेपाल अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र भएकाले जैविक विविधता संरक्षणको महत्व अझ बढेको छ । यस विषयमा आम नागरिक र सरोकारवाला सबै सचेत भई संरक्षण र दिगो उपयोगमा जोड दिनु आजको आवश्यकता हो ।
अन्त्यमा, विभिन्न नामले मनाइने चाडपर्वहरूको साझा सन्देश भनेको राष्ट्रियता, भाइचारा, मेलमिलाप, मैत्रीभाव र अपनत्वलाई बलियो बनाउनु हो । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको अधिकार, स्वशासन र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिने यो पर्वले हामी सबैलाई हौसला प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ माघ १ गते बिहीबार ।
ने.सं. ११४६ पोहेलागा, द्वादशी ।