वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा पारु - १६
१६ माघ, २०८२
सहिद दिवस, २०८२ को सन्देश
सहिद दिवस, २०८२ को पावन अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, नागरिक अधिकार, समानता, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा संरक्षणका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुभएका सबै ज्ञात–अज्ञात महान् सहिदहरूप्रति हार्दिक नमन, सम्मान र गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु ।
माघ १६ का दिन मुलुकभर आयोजना गरिने कार्यक्रमहरूले हामीलाई सहिदहरूको अदम्य साहस, बलिदान र त्यागलाई सम्झाउने मात्र होइन, भविष्यतर्फ अघि बढ्न मार्गदर्शन गर्ने प्रेरणा पनि दिन्छन् । उहाँहरूको योगदानले हामीलाई सामाजिक न्याय, समान अवसर, पहिचान र सहअस्तित्वमा आधारित समृद्ध नेपाल निर्माणतर्फ निरन्तर प्रेरित गरेको छ ।
सहिद दिवस हाम्रा वीर सपूतहरूको स्मरण गर्ने दिन मात्र होइन, देशमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्ने संकल्प लिने दिन पनि हो । यस अवसरमा हामी सबैले सहिदहरूले देखाउनुभएको बाटो अनुसरण गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण र समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने दृढ प्रतिज्ञा लिनुपर्छ । उहाँहरूको बलिदान अमूल्य छ, जुन ऋण तिर्न सकिँदैन, तर उहाँहरूको आदर्शलाई आत्मसात गर्दै समाजमा चेतना, जागरुकता र एकताको भावना फैलाउन सकिन्छ ।
देशको शान्ति, विकास, सुशासन र समृद्धि राष्ट्रिय एकताबाटै सम्भव हुन्छ । त्यसैले सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनताले सहिदहरूको सपना साकार पार्ने दृढ संकल्प र पवित्र कर्मका साथ अघि बढ्नु आजको आवश्यकता हो ।
अन्त्यमा, सहिद दिवसका अवसरमा नेपालका सबै नागरिकलाई सहिदहरूको आदर्शलाई जीवनमा उतार्दै राष्ट्रिय एकतालाई अझ सबल बनाउने, लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने र समृद्ध नेपाल निर्माणमा एकाकार भई योगदान गर्न आग्रह गर्दछु । सहिदहरूको मार्गदर्शनमा हाम्रो राष्ट्र उज्ज्वल भविष्यतर्फ अघि बढोस् भन्ने हार्दिक कामना पनि गर्दछु ।
धन्यवाद !
२०८२ माघ १६ गते शुक्रबार ।
ने.सं. ११४५ सिल्लाथ्व, द्वादशी ।