राष्ट्रिय प्रजातन्त्र दिवस,२०८२ को शुभकामना सन्देश
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१०४ वर्ष लामो जहानियाँ निरङ्कुश शासनविरुद्ध जनताले गरेको बलिदानीपूर्ण संघर्षकै परिणामस्वरूप २००७ सालमा प्राप्त ऐतिहासिक उपलब्धिको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । यो दिवसले सहिदहरुको अमूल्य योगदान, स्वतन्त्रताको महत्व र राष्ट्रिय एकताको सन्देशलाई पुनः उजागर गर्दछ । हाम्रा अग्रजहरुको त्याग र दृढ संकल्पकै कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिक हौं । यस अवसरमा हामी सबैले मुलुकलाई द्रुत गतिमा विकास, समृद्धि र सामाजिक सद्भावतर्फ अघि बढाउने संकल्प लिनुपर्दछ ।
प्रजातन्त्र दिवसले नागरिक अधिकारको रक्षा, समान अवसरको सुनिश्चितता, सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हाम्रो जिम्मेवारीलाई पनि स्मरण गराउँछ । लोकतन्त्र, शासन प्रणाली मात्र नभई सामाजिक मूल्य, सांस्कृतिक आदर्श र नैतिक आचारसंहिताको आधार पनि हो । यसले जाति, धर्म, भाषा, लिङ्ग वा वर्गका आधारमा कुनै भेदभाव स्वीकार गर्दैन । आर्थिक समानता र सामाजिक न्यायसहितको लोकतन्त्रले मात्र राष्ट्रलाई स्थायी शान्ति र समृद्धितर्फ डो¥याउन सक्छ ।
आजको दिनले हामीलाई संविधानमा निहित संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानूनी राज्यलाई अक्षुण्ण राख्दै गरीबी, अशिक्षा, बेरोजगारी र विभेद अन्त्य गर्ने दिशामा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहारलाई आत्मसात् गर्न आवश्यक छ ।
अन्त्यमा, प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतमा जीवन आहुति दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । लोकतान्त्रिक मूल्य र आदर्शलाई जोगाउँदै प्रजातन्त्र दिवसले संविधानको पूर्ण पालन गर्दै मुलुकमा शान्ति, विकास, स्थिरता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सफल कार्यान्वयन र जनजीवनमा गुणात्मक सुधार ल्याउने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
धन्यवाद !
२०८२ फागुन ७ गते बिहीबार ।
ने.सं. ११४६ चिल्लाथ्व, द्वितीया ।