ईद–उल–फित्रको शुभकामना
इस्लाम धर्मावलम्बीहरूको महान पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो । यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ । यस अवसरमा आयोजना हुने ‘इफ्तार’ र सामूहिक नमाजले देश र समुदायमा एकता र सहअस्तित्वको भावना बलियो बनाउँदछ । दान र सहयोगको परम्पराले असहाय, गरीब तथा सहयोगको आवश्यकता भएकाहरूप्रति करुणा र सहानुभूति जगाउँदछ ।
ईदको चन्द्रमा देखेपछि ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने परम्परा शुभकामना मात्र होइन, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने सुन्दर संस्कार हो । ईद–उल–फित्र धार्मिक पर्व मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यवद्धताको प्रतीक पनि हो । नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै शुभकामना आदान–प्रदान गर्ने मौलिक परम्पराले सामाजिक सम्बन्धलाई अझ घनिष्ठ बनाउँदछ । विशेष परिकार बनाएर खाने–खुवाउने संस्कारले साझा खुशी बाँड्ने परम्परालाई जीवन्त राख्न सहयोग पुग्दछ भने दान र सहयोगको संस्कारले समाजलाई न्यायपूर्ण र करुणामय बनाउन मद्दत गर्दछ । यस पर्वले हामीलाई भाइचारा, मेलमिलाप र सामूहिकताको मूल्यलाई आत्मसात गर्न प्रेरणा प्रदान गर्दछ ।
धर्मको मूल उद्देश्य मानवता हो । कुनै पनि धर्मले विभेदलाई स्वीकार गर्दैन, बरु त्याग, पवित्रता, अहिंसा, लोकहित, विवेक र सत्कर्मलाई प्रोत्साहन गर्दछ । धर्मले मानिसलाई सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्दछ । विपत्तिमा धर्मप्रतिको आस्था नै मानिसलाई धैर्य र साहस प्रदान गर्दछ । सद्भाव, सदाचार र समन्वय नै सभ्य समाज निर्माणका आधारस्तम्भ हुन् । यस दृष्टिले ईद–उल–फित्रले हामीलाई धार्मिक आस्था मात्र होइन, सामाजिक न्याय, समता र सहअस्तित्वको मार्गमा अघि बढ्न उत्प्रेरित गर्दछ ।
ईद–उल–फित्रले हाम्रो राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धतालाई अझ सबल बनाउने अवसर प्रदान गर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय र समान अवसरलाई सुनिश्चित गर्न, राष्ट्रिय अखण्डता र पहिचानलाई बलियो बनाउन, विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन यस पर्वले हामी सबैलाई सहयोग पुग्ने विश्वास लिएको छु ।
अन्त्यमा, ‘ईद–उल–फित्र’ ले सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस् । यस पर्वले हाम्रो राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वको सुगन्ध फैलाउँदै सबै नेपालीलाई साझा यात्रामा अघि बढ्न प्रेरित गरोस् भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना छ ।
ईद मुबारक ।
धन्यवाद ।
२०८२ चैत ०७ गते शनिबार ।
ने.सं. ११४६ चौलाथ्व तृतीया ।