वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्दशी - १४
१७ चैत, २०८२
२६२५ औं महावीर जयन्तीको शुभकामना
जैन धर्मका २४औं तीर्थंकर भगवान महावीरको २६२५औं जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उहाँले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य जस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ । यी मूल्यहरुले व्यक्तिगत जीवनलाई मात्र होइन, सामूहिक चेतनालाई पनि शुद्धिकरण गर्दै शान्ति, सद्भाव र भाइचाराको वातावरण निर्माण गर्न सहयोग पु¥याउँछन् ।
उहाँले दिनुभएको अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा र दयाभाव राख्न सिकाउँछ; सत्यको पालनले ईमानदारी र नैतिकताको मार्गमा दृढ रहन उत्प्रेरित गर्दछ; अपरिग्रहले लोभ–लालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा दिन्छ; अनेकान्तवादले विभिन्न दृष्टिकोणलाई सम्मान गर्दै सहिष्णुता र सामाजिक सद्भावलाई बलियो बनाउँछ; ब्रह्मचर्यले आत्मसंयम र आध्यात्मिक उन्नतिको बाटो देखाउँछ । यी सबै सिद्धान्तहरु आजको समाजमा उत्तिकै सान्दर्भिक छन् ।
महावीर जयन्ती धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक उत्सव पनि हो । यस अवसरमा हुने पूजा–अर्चना, शोभायात्रा, भक्ति संगीत र सामूहिक प्रार्थनाले समाजमा एकता, मेलमिलाप र भाइचाराको सन्देश फैलाउँछ । यसले हामीलाई आत्मचिन्तन गर्न, कर्म शुद्धिकरण गर्न र समाज तथा राष्ट्रको हितमा योगदान दिन प्रेरित गर्दछ ।
भगवान महावीरले ‘बाँच र बाँच्न देऊ’ भन्ने अमूल्य सन्देश दिनुभएको थियो । उहाँले जीवनका विभिन्न आदर्शहरुलाई सरल उदाहरणसहित प्रस्तुत गर्दै मानवलाई सत्य, सदाचार र तपस्याको मार्गमा अघि बढ्न प्रेरित गर्नुभयो । उहाँको उपदेशले क्रोधलाई शान्तिले, असत्यलाई सत्यले र दुष्टतालाई सद्गुणले पराजित गर्न सकिन्छ भन्ने अमर शिक्षा दिन्छ ।
अन्त्यमा, यस अवसरमा हामी सबैले महावीरले देखाएको सत्मार्गलाई आत्मसात गर्दै सुखी, शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने संकल्प लिन सक्नुपर्दछ । महावीर जयन्तीले प्रत्येक नेपालीलाई नैतिकता, सहिष्णुता र मानवतावादी मूल्यहरुको मार्गदर्शन प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ चैत १७ गते, मङ्गलबार
ने.सं. ११४६, चौलाथ्व, त्रयोदशी