सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले अन्तर्राष्ट्रिय बाघ दिवस, २०२६ को अवसरमा दिनुभएको शुभकामना सन्देश
अन्तर्राष्ट्रिय बाघ दिवस, २०२६ को सन्देश
हरेक वर्ष जुलाई २९ मा मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसले हामीलाई वन्यजन्तु संरक्षणप्रति जागरूक बनाउने अवसर प्रदान गर्दछ । बाघ सौन्दर्यको प्रतीक मात्र होइन, हाम्रो पारिस्थितिक सन्तुलनको आधारस्तम्भ पनि हो ।
पछिल्लो समय विश्वभर बाघको अस्तित्व अवैध सिकार, छाला–दाँतको व्यापार, वनजंगलको फडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारण गम्भीर संकटमा परेको छ । यस दिवसले मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै संरक्षणमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दछ । साथै, नीति निर्माणकर्तालाई दीर्घकालीन योजना र कार्यक्रम तर्जुमा गर्न उत्प्रेरित गर्दछ ।
नेपालले पछिल्लो दशकमा बाघ संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । संरक्षित क्षेत्रको सन्तुलित व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण, जनचेतना र स्थानीय समुदायको सहभागिताले बाघको संख्या वृद्धिमा सहयोग पुगेको छ । तर, यससँगै मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तन जस्ता चुनौतीहरु पनि थपिएका छन् । यी चुनौतीलाई समयमै सम्बोधन गर्नु हाम्रो साझा जिम्मेवारी हो ।
बाघ संरक्षणले जैविक विविधता मात्र होइन, पर्यटकीय सम्भावनालाई पनि बलियो बनाउँछ । संरक्षित क्षेत्रहरुमा पर्यटन प्रवर्धन गरी आर्थिक लाभ लिन सकिन्छ, जसले स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पु¥याउँछ ।
अन्त्यमा, बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षा मात्र होइन, यो हाम्रो वातावरणीय सन्तुलन र भविष्यको सुरक्षा हो । अन्तर्राष्ट्रिय बाघ दिवस, २०२६ ले हामी सबैलाई एकजुट भएर बाघ संरक्षणको साझा जिम्मेवारी पूरा गर्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८३ साउन १३ गते, बुधबार
नेपाल संवत् ११४६ दिल्लाथ्व, पूर्णिमा