सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को सन्देश
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाईसहित शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो । यसले हाम्रो राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसालेको छ । पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर सामाजिक आन्दोलनहरूको सम्बोधन तथा संक्रमणकालीन व्यवस्थाहरूको गठनले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको छ ।
संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ । यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ । संविधानको प्रस्तावना र धारा ३ मा उल्लेखित मूल्यहरूले जनताको सर्वोच्चता र राष्ट्रको समष्टिगत स्वरूपलाई स्पष्ट रूपमा परिभाषित गरेका छन् ।
संविधान दिवस हाम्रा लागि उत्सव मात्र नभई संविधान निर्माणमा योगदान पु¥याउनु भएका महान सहिद, अग्रज, जनप्रतिनिधि र नागरिकप्रति श्रद्धा एवं सम्मान प्रकट गर्ने अवसर पनि हो । यस दिन हामी सबैले संविधानको मूल मर्म–समावेशिता, समानता, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र साझा भविष्यप्रति पुनः प्रतिबद्धता जनाउनुपर्दछ ।
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठूलो जनधनको क्षतिले हामी सबैलाई प्राकृतिक विपत्तिप्रति सचेत रहन, नागरिक सुरक्षालाई प्राथमिकता दिन र संविधानले सुनिश्चित गरेको सामाजिक न्याय तथा राज्यको उत्तरदायित्वलाई अझ मजबुत बनाउनुपर्ने पाठ दिएको छ । यस विपत्तिमा अनाहक मृत्युवरण गर्नुभएका नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । प्रभावित परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु ।
उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने सुरक्षाकर्मी, विदेशी विज्ञ तथा प्राविधिक टोली, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति उच्च सम्मान छ । प्रभावितहरूका लागि राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउने स्वदेशी–विदेशी संघसंस्था, नागरिक तथा मित्र राष्ट्रहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामी सबै मिलेर विपत्तिले सिर्जित घाउमा मलहम लगाउनुपर्छ । प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि राज्यका निकायहरूको निरन्तर सक्रियता रहने विश्वास व्यक्त गर्दछु ।
संवैधानिक अंग तथा निकायहरूमा समावेशी सिद्धान्तको पूर्ण पालना, मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँड र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता अपरिहार्य छ । संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न यस्ता प्रयासहरू निर्णायक हुनेछन् ।
संविधान दिवसले प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै सम्मानजनक रोजगारीको अवसर प्रदान गर्न सबैलाई थप उत्प्रेरित गरोस् । सामाजिक न्याय र समृद्धिको मार्गमा राष्ट्र अघि बढोस् । संविधानको कार्यान्वयनमार्फत लोकतन्त्र, समावेशिता र अग्रगामी परिवर्तनका मूल्यहरू जीवन्त रहून् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू र अघिल्लो वर्ष भदौ २३ गते भएको प्रदर्शनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुभएका ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, भोटेकोशी बाढीका पीडितहरूप्रति सहानुभूति, घाइते तथा अंगभंग भएकाहरूप्रति उच्च सम्मान र परिवर्तनका अग्रदूतहरूप्रति गहिरो प्रशंसा प्रकट गर्दै संविधान दिवस, २०८३ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा शान्ति, समृद्धि र एकताका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८३ असोज ३ गते, शनिबार
नेपाल संवत् ११४६ ञलाथ्व, अष्टमी