सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट शान्ति र सामाजिक सद्भावका लागि अपिल
शान्ति र सद्भावका लागि अपिल
सुनसरी लगायत विभिन्न जिल्लामा हालै भएका घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दछु । घटनामा ज्यान गुमाएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उपचार प्रभावकारी रुपमा होस् भन्ने अपेक्षा व्यक्त गर्दछु ।
नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति हो । सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु । कुनैपनि समस्या समाधानको मार्ग शान्तिपूर्ण संवाद हो । आफ्ना माग र विचारहरू संयमित ढंगले प्रस्तुत गर्न सबै पक्ष थप जिम्मेवारीपूर्वक प्रस्तुत हुन अनुरोध छ ।
स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले आपसी समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछु । यस्तो संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह तथा घृणास्पद अभिव्यक्तिप्रति हामी सबै सचेत रहनुपर्दछ । सञ्चारमाध्यमलाई समेत तथ्यपरक र संयमित भई समाचार सम्प्रेषण गरिदिन अनुरोध गर्दछु ।
अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण हाम्रो साझा जिम्मेवारी हो । उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता अग्रसर हुन हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल ।
२०८३ साउन १३ गते बुधबार ।