सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश
आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती सन्देश
आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भानुभक्त आचार्यले नेपाली साहित्यलाई नयाँ आयाम प्रदान गर्दै जनमानसमा भाषा, संस्कृति र नैतिक मूल्यहरूको गहिरो चेतना जगाउनुभएको छ । उहाँको काव्य–साधना र सामाजिक दृष्टिकोणले नेपाली साहित्यलाई मात्र होइन, राष्ट्रिय जीवनलाई पनि उज्यालो बनाएको छ । उहाँको जन्मजयन्ती अवसरले हामी सबैलाई साहित्य, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्धनमा दृढ संकल्पसहित अघि बढ्न प्रेरणा प्रदान गरोस् ।
वाल्मीकि रामायणलाई नेपाली भाषामा सरल र सहज ढंगले प्रस्तुत गरेर उहाँले नेपाली भाषालाई धार्मिक, सांस्कृतिक र नैतिक मूल्यहरूसँग जोड्ने कार्य गर्नुभयो । यस योगदानले नेपाली भाषालाई जनसाधारणसम्म पु¥याउने मार्ग प्रशस्त ग¥यो । भानुभक्तको रचनाले सत्य, धर्म, कर्तव्य र मानवतावादको मार्गमा अडिग रहन निरन्तर प्रेरणा दिन्छ ।
‘रामायण’, ‘घाँसी’ र ‘प्रश्नोत्तर मालिका’ जस्ता कृतिहरूले समाजमा श्रम, निष्ठा र उत्तरदायित्वको महत्वलाई उजागर गरेका छन् । साधारण व्यक्तिको कर्मठता र समर्पणले समाजमा अमर योगदान दिन सक्ने सन्देश उहाँका कविताले दिएको छ । उहाँका रचनाहरूले हाम्रो सांस्कृतिक गौरवलाई जीवन्त राख्दै भावी पुस्तालाई आफ्नो भाषा र साहित्यप्रति गर्व गर्न उत्प्रेरित गर्छन् ।
आजको विश्वव्यापीकरण र डिजिटल युगमा भानु जयन्तीले नेपाली साहित्य र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर प्रदान गर्दछ । शैक्षिक संस्था, साहित्यिक संघ–संगठन तथा सम्पूर्ण नेपाली समुदायले आदिकविका रचनालाई जीवन्त राख्न सक्रिय पहल गर्नु आजको आवश्यकता हो ।
अन्त्यमा, भानु जयन्तीले तनहुँको चुँदीरम्घास्थित भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण र प्रवर्धन गर्न सबैलाई एकजुट भई लाग्न अभिप्रेरित गर्न सकोस्, पुनः सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८३ असार २९ गते, सोमबार
ने.सं. ११४६ तछलागा, चतुर्दशी