सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले मुहम्मद जयन्ती (मुहम्मद दिवस), २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश
मुहम्मद जयन्ती (मुहम्मद दिवस) को शुभकामना सन्देश
इस्लाम धर्मका अन्तिम ईशदूत (पैगम्बर) हजरत मुहम्मद (सल्ल.) को १५०१ औं जन्मजयन्ती (१२–रब्बी–उल–अव्वल) ‘मुहम्मद दिवस’को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो जयन्तीले हामीलाई सत्य, सहिष्णुता, सदाचार र सामाजिक समरसताको मार्गमा अग्रसर हुन स्मरण गराउँछ । करुणा, सहिष्णुता र मानवता प्रति समर्पित रहन तथा धार्मिक सद्भाव र भाइचारालाई बलियो बनाउन प्रेरित गर्दछ । यस अवसरले मानव सभ्यतालाई शान्ति, न्याय र समानताको मूल्यमान्यतामा दृढ रहन मार्गदर्शन गर्ने विश्वास लिएको छु ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यहाँ मनाइने पर्व, जयन्ती र दिवसहरूले हाम्रो सामाजिक संरचनालाई थप सुदृढ बनाउँदै राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको संरक्षणमा योगदान पु¥याउँछन् । मुहम्मद जयन्ती केवल धार्मिक अवसर मात्र नभई सामाजिक, सांस्कृतिक र नैतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । इस्लाम धर्मावलम्बीहरूले कुरान पाठ, नमाज र प्रार्थनाद्वारा आत्मशुद्धि, संयम र आध्यात्मिक अनुशासनको अभ्यास गर्दै यो जयन्ती मनाउने परम्परा रही आएको छ ।
हजरत मुहम्मदको उपदेशहरूले सत्य, करुणा, क्षमा, धैर्य र सेवाभावलाई आत्मसात गर्न हामीलाई अभिप्रेरित गर्दछ । यसले परस्पर सहयोग, भाइचारा, एकता र समझदारीलाई सुदृढ बनाउँदै गरीब, असहाय, अनाथ तथा विपन्न वर्गप्रति सहानुभूति र सहयोगको भावना अभिवृद्धि गर्न टेवा पु¥याउँछ । जीवनमा सत्य बोल्ने, इमानदारीपूर्वक आचरण गर्ने, अरुको पीडामा साथ दिने, गल्ती क्षमा गर्ने र सहिष्णु बन्ने सन्देश पनि यस अवसरले दिन्छ ।
अन्त्यमा, मुहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सन्देश फैलाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै हजरत मुहम्मदको जीवन दर्शन र उपदेशले सत्य, न्याय, सेवा र समर्पणको मार्गमा मानव समाजलाई निरन्तर प्रेरित गरिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८३ भदौ १० गते बुधबार ।
ने.सं. ११४६ गुँलाथ्व, त्रयोदशी ।