सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले नेपाल संवत् ११४७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल संवत् ११४७ को शुभकामना सन्देश

नेपाल संवत् ११४७ को शुभारम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यो संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक हो । राष्ट्रिय विभूति शंखधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको छ । उहाँले देखाउनुभएको मानवतावादी मार्ग आज पनि हाम्रो राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय छ ।

नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन संकल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ । नेपाल संवतले हामीलाई विगतको गौरव मात्रको स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढंगले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्दछ । यसले नैतिकता, इमानदारी, सहिष्णुता र सामाजिक सद्भावजस्ता जीवनमूल्यलाई निरन्तर सुदृढ गर्दै लैजान सन्देश दिन्छ ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । नेपाल संवत्ले हिमाल, पहाड र मधेशलाई समान रूपमा जोड्दै पारस्परिक सम्मान, सांस्कृतिक सहअस्तित्व र साझा राष्ट्रिय पहिचानको भावनालाई सशक्त बनाउँदै आएको छ । नेपाली समाजलाई आफ्ना मौलिक जरा र सांस्कृतिक विरासतसँग यसले जोड्दै आत्मविश्वास, स्वाभिमान र राष्ट्रिय चेतनालाई अझ बलियो बनाउने अवसर प्रदान गरेको विश्वास लिएको   छु । 

नेपालको यो मौलिक संवत्ले सम्पूर्ण नेपालीहरूमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् । युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गरोस् । साथै, हामी सबैलाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्धनमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरित गरोस् ।

अन्त्यमा, नेपाल संवत् ११४७ को यो शुभ अवसरले प्रत्येक नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सम्भावनाको सञ्चार गरोस् । समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा यसले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भन्ने हार्दिक कामनासहित पुनः सबैमा नेपाल संवत् ११४७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८३ कात्तिक २४ गते, मङ्गलबार

नेपाल संवत् ११४७, कछलाथ्व प्रतिपदा