सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले फाल्गुनन्द जयन्ती, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश
फाल्गुनन्द जयन्ती, २०८३ को शुभकामना सन्देश
किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक जागरणका महान अभियन्ता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी तथा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
महागुरु फाल्गुनन्द नेपाली समाजका त्यस्ता युगद्रष्टा व्यक्तित्व हुनुहुन्थ्यो, जसले धर्मलाई आस्थाको विषयमा मात्र सीमित नराखी समाज सुधार, नैतिक अनुशासन, मानवता र लोककल्याणसँग जोड्नुभयो । उहाँले प्रतिपादन गर्नुभएको सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तहरूले किराँत समाजलाई मात्र नभई समग्र नेपाली समाजलाई नै सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउने कार्य गरेका छन् ।
महागुरु फाल्गुनन्दद्वारा प्रवर्तित ‘सत्यधर्म मुचुल्का’ सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित छ । दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिका विरुद्ध उहाँले चलाउनुभएको चेतनामूलक अभियानले नेपाली समाजमा सुधार, आत्मसम्मान र नैतिक जीवनको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको थियो । समाजलाई सरल, सभ्य र अनुशासित बनाउन उहाँका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् ।
महागुरु फाल्गुनन्दले आफ्नो मौलिक सांस्कृतिक पहिचानको संरक्षण गर्दै अन्य समुदायप्रति सम्मान, सहअस्तित्व र सद्भावको सन्देश दिनुभएको थियो । उहाँका विचारहरुले विविधताभित्रको एकता, पारस्परिक सम्मान र राष्ट्रिय सहकार्यको भावनालाई सुदृढ बनाउन प्रेरित गर्दछ ।
आजको परिवर्तनशील विश्वमा आफ्नो भाषा, संस्कृति, सभ्यता र मौलिक परम्पराको संरक्षण गर्दै आधुनिकता र प्रगतिलाई आत्मसात् गर्नु हाम्रो साझा जिम्मेवारी हो । फाल्गुनन्द जयन्तीले विशेषतः युवा पुस्तालाई नैतिक चरित्र निर्माण, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच, सामुदायिक नेतृत्व र राष्ट्रसेवाको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् ।
महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, सेवा र सदाचारको मार्गले हामी सबैलाई मानव मर्यादा, सामाजिक न्याय तथा राष्ट्रिय कर्तव्यप्रति थप प्रतिबद्ध बन्न प्रेरित गरोस् । उहाँको जीवन र शिक्षाबाट प्रेरणा ग्रहण गर्दै हामी सबै नेपालीबीच आपसी विश्वास, सद्भाव, सहिष्णुता तथा भाइचाराको भावना अझ प्रगाढ बनोस् ।
अन्त्यमा, फाल्गुनन्द जयन्ती, २०८३ ले सम्पूर्ण नेपालीहरूमा नैतिक चेतना, सामाजिक एकता, सांस्कृतिक गौरव र राष्ट्रप्रेमको भावना अभिवृद्धि गरोस् । राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो प्रतिबद्धता अझ सुदृढ हुँदै समुन्नत, समावेशी र समृद्ध नेपालको निर्माणमा सबैलाई प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने हार्दिक कामनासहित पुनः सम्पूर्णमा फाल्गुनन्द जयन्तीको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८३ कात्तिक २५ गते, बुधबार
नेपाल संवत् ११४७, कछलाथ्व द्वितीया