सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले तिहार (शुभ दीपावली), २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश
तिहार (शुभ दीपावली), २०८३ को शुभकामना सन्देश
आस्था, उज्यालो, आत्मीयता र सांस्कृतिक समृद्धिको महान पर्व तिहार (शुभ दीपावली), २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
तिहार, दीप प्रज्वलनको पर्व मात्र होइन, यो हाम्रो सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको जीवन्त उत्सव पनि हो । घर–आँगनमा बालिने दीपहरूले अन्धकार मात्र हटाउँदैनन्, तिनले आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो पनि छर्दछन् । यही उज्यालोले निराशामाथि आशा, विभाजनमाथि एकता र स्वार्थमाथि मानवताको विजयको मार्ग प्रशस्त गर्दछ ।
हाम्रो रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व छ । काग तिहारले सूचना र सन्देशको महत्व सम्झाउँछ, कुकुर तिहारले निष्ठा र समर्पणको सम्मान गर्न सिकाउँछ, गाई तिहारले मातृत्व, समृद्धि र जीवनदायी संस्कृतिप्रतिको श्रद्धा अभिव्यक्त गर्दछ भने गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई उजागर गर्दछ । लक्ष्मी पूजाले समृद्धिसँगै सदाचार र सदुपयोगको सन्देश दिन्छ भने देउसी–भैलोले गाउँदेखि शहरसम्म सामूहिक आनन्द, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँछ । भाइटीका (भ्रातृद्वितिया) ले दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, विश्वास र आजीवन आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ ।
तिहारका अवसरमा मधेशमा गोवद्र्धन पूजा, सामुहिक रुपमा खेलिने ‘हुक्का–लोली’ (हुक्कापाति) र ‘हुर्राहुरी’ जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीक हुन् । गोवद्र्धन पूजाले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्दछ भने हुक्का–लोली र हुर्राहुरीले गाउँघरमा आपसी सद्भाव, भाइचारा, सामुदायिक एकता र उत्सवधर्मितालाई बलियो बनाउँछ । यी परम्पराहरूले मौलिक पहिचान, लोकजीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै सामाजिक सहअस्तित्व र सामूहिक आनन्दको सन्देश प्रवाह गर्दछन्।
नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासहरूले सुशोभित राष्ट्र हो । तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’ को हाम्रो राष्ट्रिय भावनालाई थप सशक्त बनाउँछ । हिमाल, पहाड र तराई–मधेशका समुदायहरूलाई साझा उत्साह, समान सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको छ ।
आज विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ । प्रविधिको विकाससँगै मानवीय सम्बन्ध, सामाजिक मूल्य र सांस्कृतिक पहिचानलाई जोगाइराख्नु पनि हाम्रो साझा दायित्व बनेको छ । यस्ता पर्वहरूले मौलिक संस्कृति, लोकपरम्परा, पारिवारिक मूल्य र सामुदायिक जीवनशैलीलाई संरक्षण तथा प्रवद्र्धन गर्ने अवसर प्रदान गर्दछन् । त्यसैले तिहारलाई केवल उत्सवका रूपमा नभई हाम्रो राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धनसँग जोडेर हेर्न आवश्यक छ ।
यस पावन अवसरले हामी सबैलाई आपसी वैमनस्यता, घृणा, विभेद र असहिष्णुताभन्दा माथि उठेर सहिष्णुता, सामाजिक न्याय, पारस्परिक सम्मान र राष्ट्रिय उत्तरदायित्वको भावना अभिवृद्धि गर्न प्रेरित गरोस् । उज्यालोको यो पर्वले सम्पूर्ण नेपालीहरूलाई राष्ट्र निर्माणको साझा यात्रामा एकताबद्ध बनाउँदै समृद्ध, आत्मनिर्भर र सभ्य नेपालको सपना साकार पार्ने ऊर्जा प्रदान गरोस् ।
अन्त्यमा, शुभ दीपावलीको उज्यालोले प्रत्येक नेपालीको घर, परिवार र जीवनलाई सुख, शान्ति, समृद्धि र सफलताले आलोकित बनाओस् । यस पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक गौरव, लोकतान्त्रिक मूल्य, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको भावनालाई अझ सुदृढ बनाउँदै देशलाई समुन्नति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने शुभेच्छासहित पुनः तिहार (शुभ दीपावली) को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८३ कात्तिक २२ गते, आइतबार
नेपाल संवत् ११४६, कौलागा चतुर्दशी